माछापुच्छ्रे क्यापिटलको कामु सीईओमा शर्मा नियुक्त, बैंकिङ्ग क्षेत्रमा २ दशक बढी अनुभव
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा गोविन्द प्रसाद शर्मा नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत शर्मालाई कामुको जिम्मेवारी दिएको हो । बैठकले अर्को व्यवस्था नभए सम्मका लागि उनलाई कामुको जिम्मेवारी दिएको हो । यससँगै नवनियुक्त कामु सीईओ शर्माले माघ १ गतेदेखि नै लागू हुने गरी उक्त पदको कार्यभार सम्हाल्ने छन् । साथै, उक्त बैठकले कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यको राजिनामा स्वीकृत समेत गरिसकेको छ । शर्माले माछापुच्छ्रे क्यापिटलको स्थापना तथा कृति क्यापिटल एण्ड ईन्भष्टमेन्टससंगको गभिने प्रक्रियामा अग्रेणी भूमिका निर्वाह गरेका छन् । साथै, माछापुच्छ्रे बैंक लगायतका संस्थाहरुमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ ।
चन्द्रागिरी हिल्सको सञ्चालकमा उमा विष्ट निर्वाचित
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको सञ्चालकमा उमा विष्ट (जिसी) निर्वाचित भएकी छिन् । पुस २९ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले विष्टलाई सञ्चालकमा निर्वाचित गरेको हो । उनी कम्पनीको सर्वसाधारण सेयरधनीको तर्फबाट निर्वाचित भएकी हुन् ।
सेञ्चुरी क्यापिटलको सीइओमा रमेश कुमार श्रेष्ठ नियुक्त
काठमाडाैं । सेञ्चुरी क्यापिटल मार्केट्सको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्समा माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गरेका छन् । रमेश कुमार श्रेष्ठ यस अघि बैंकको प्रमुख बजार अधिकृतका रुपमा कार्यरत थिए । वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएका उनले हिमालयन बैंक, सिद्धार्थ बैंक र सेञ्चुरी बैंकमा विभिन्न पदमा रहि बैकिङ्ग क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् । उनी संचालन, व्यवस्थापन तथा व्यवसाय प्रर्वद्धनमा विशेष दख्खल राख्ने एक अनुभवी तथा कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।