आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोखरेल, सीईओमा खिलेन्द्र पौडेल

काठमाडौं । आइएमई ग्रुपको सिनियर भाइस प्रेसिडेन्टमा सुमन पोखरेल नियुक्त भएका छन् । यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका पोखरेललाई बोर्डको बैठकले सिनियर भाइस प्रेसिडेन्टमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका पोखरेलसँग बैंकिङ क्षेत्रमा १३ वर्ष काम गरेको अनुभव छ । उनी नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष र नेपाल व्यवस्थापन संघका दोस्रो उपाध्यक्ष पनि हुन् । यस्तै, बोर्ड बैठकले आइएमईको सीइओमा खिलेन्द्र पौडेललाई नियुक्त गरेको छ । पौडेल यसअघि कम्पनीका महाप्रबन्धक थिए । पौडेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । रेमिट्यान्स उद्योगमा आफ्नो २० वर्षको व्यावसायिक अनुभवमा उनले २ वर्ष मलेसियामा आईएमईको ओभरसिज अपरेसनको नेतृत्व गरेका थिए ।  

प्रभु लाइफबाट बाहिरिए पौडेल, प्रसाई सीईओ बन्दै

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । आफ्नो ४ वर्षे कार्यकाल पुग्न १ वर्षभन्दा बढी समय बाँकी छदै पौडेलले पदबाट राजीनामा दिएका हुन् । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाएका पौडेललाई प्रभु लाइफले २०७६ साल साउन १ गतेदेखि ४ वर्षको लागि सीईओमा नियुक्ति दिएको थियो । पौडेलले दिएको राजनीतिमा संचालक समितिले फागुन १८ गते स्वीकृत गरिसकेको छ । उनको राजीनामा चैतदेखि लागू हुनेछ । कम्पनी संचालक समितिले चार्टर्ड एकाउन्टेन्ट सन्तोष प्रसाईलाई कन्सल्ट्याण्टको रुपमा भित्र्याएको छ । प्रसाईलाई सीईओ बनाउने गरी कन्सल्ट्याण्ट बनाएर भित्र्याएको महसुस गरेर पौडेलले राजीनामा दिएका हुन् । प्रसाईलाई चैत ७ गतेदेखि लागू हुने गरी कन्सल्ट्याण्टका रुपमा कम्पनीमा नियुक्ति दिइएको छ । प्रसाई नेपाल लाइफ इन्स्यारेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बीचमै राजीनामा दिएर बसेका सीए हुन् । उनले नेपाल लाइफ छोडेको ६ महिना आगामी बैशाख २२ गते पूरा हुँदैछ । कुनै कम्पनीको प्रमुख कार्यकारी अधिकृतले जिम्मेवारीबाट अलग भएको ६ महिना पछि मात्रै अर्काे कम्पनीको सोही पदमा जान पाउने नीतिगत व्यवस्था बीमा समितिले गरेको छ । समितिको सो व्यवस्थाको कारण प्रसाईलाई तत्काल सीईओ बनाएर प्रभु लाइफमा भित्र्याउन नसक्ने अवस्था सिर्जना भएपछि कन्सल्ट्याण्टको रुपमा भित्र्याइएको र कुलिङ पिरियड सकिएपछि सीईओ बनाइने स्रोतले जानकारी दियो ।

निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः रवी सिंह निर्वाचित भएका छन् । आइतबार राती सम्पन्न भएको मतगणनामा अध्यक्षका दुई प्रत्यासीलाई पराजित गर्दै अध्यक्षमा सिंह निर्वाचित भएका हुन् । कुल खसेको ११८५ मतमध्ये सिंहले ७६५ मत ल्याएका थिए भने उनका प्रत्यासी निकोलस पाण्डेले ३३७ र हुमनाथ कोइरालाले ३२ मत ल्याएका थिए । आइतबार सम्पन्न निर्वाचन अनुसार बरिष्ठ उपाध्यक्षमा आङ्दोर्जी लामा, एसोसिएट उपाध्यक्षमा रमजि पन्थ निर्वाचित भएका हुन् । यस्तैगरी, प्रदेश १ को उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, मधेस प्रदेशमा शम्भु ठाकुर, बागमती प्रदेशमा बालकृष्ण थापा, लुम्बिनी प्रदेशमा टोप बहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्न ब खड्का, सुदुरपस्चिम प्रदेशमा प्रकाश सेठि निर्वाचित भएका छन् । महासचिबमा पुनः रोशन दाहाल, उपमहासचिव नितीगत तर्फ शिबहरी घिमिरे, आन्तरिक तर्फ नरहरी थपलिया, कोषाध्यक्षमा हिरण कुमार श्रेष्ठ र सह कोषाध्यक्षमा सन्तोषा शाह निर्वाचित भएका हुन् । महासंघको ५९ सदस्यीय कार्यसमितिमध्ये अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एसोसिएटसहित आठ उपाध्यक्ष, महासचिव १ उपमहासचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित ४६ पदमा निर्वाचन भएको महासंघले जनाएको छ । अधिवेशनले तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।