नेपाल लाइफ जाँदै प्रविणरमण पराजुली, डीसीईओको जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा प्रविणरमण पराजुली नियुक्त हुने भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले रिलायन्स लाइफका सीईओ पराजुलीलाई नेपाल लाइफको डीसीईओमा नियुक्त गर्ने तयारी गरेको हो । उनलाई डीसीईओमा नियुक्त गर्नको लागि छलफल भइरहेको तर निर्णय भने भइसकेको छैन । आधिकारिक निर्णय भएपछि मात्रै पराजुलीले नेपाल लाइफमा डीसीईओको कार्यभार सम्हाल्ने छन् । पराजुलीले गत २०७४ पुस महिनादेखि रिलायन्स लाइफको सीईओ पदको जिम्मेवारी सम्हालेका थिए । ४ वर्षेको लागि नियुक्त भएका सीईओ पराजुलीको कार्यकाल गत पुस १२ गते मात्रै सकिएको हो । त्यसअघि उनले नविल इन्भेष्टमेन्ट बैंकिङमा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । बीमा क्षेत्रमा ४ वर्ष काम गरेका पराजुलीसँग बैंकिङ र पुँजी बजारको समेत राम्रो ज्ञान र अनुभव छ ।

सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ पौडेलले पाए निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोश्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । एक साताअघि बसेको सञ्चालक समितिको बैठकले पौडलको कार्यकाल सकिनु एक महिना अघि नै थप ४ वर्षको लागि निरन्तरता दिने निर्णय गरेको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस महिनादेखि सकिँदै छ । चार वर्ष अवधिको पहिलो कार्यकालमा इन्स्योरेन्सलाई एक उचाईमा पुर्याउन सफल भएकोले नै सञ्चालक समितिले उनको कार्यकाल थप्ने निर्णय गरेको हो । सीईओ पौडेलको कार्यकाल थप्नको लागि सञ्चालक समितिले नियामक निकाय बीमा समितिमा पेश गरेको छ । समितिको स्वीकृति पाएपछि उनले सिटिजन लाइफमा दोश्रो कार्यकाल सम्हाल्ने छन् । पौडेलले गत २०७४ साल माघदेखि सिटिजन लाइफको सीईओको कार्यभार सम्हालेका हुन् । उनको कार्यकालमा छोटो अवधिमा कम्पनीले उच्चदरको ग्रोथ हासिल गरिरहेको छ । सिटिजनमा प्रमुखको नेतृत्व कार्यकाल सम्हाल्नुअघि उनले मेटलाइफ इन्स्योरेन्समा प्रमुख वित्तीय व्यवस्थापक भएर १५ वर्षसम्म काम गरेका थिए । त्यसअघि ६ वर्ष अडिट फर्ममा काम गरेका पौडेलसँग शिक्षण पेशा र एनजीओरआइएनजीओमा समेत काम गरेको अनुभव छ । चितवन स्थायी घर भएका पौडेलले गृह जिल्लामै स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । २०५३ सालमा काठमाडौं आएका उनले मेटलाइफमा काम गर्दागर्दै अमेरिकाबाट फिलोसिप इन लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट (एफएलएमआई) डिग्री समेत लिएका छन् ।

राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले पुस १ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ता पदमा नियुक्त गरेको हो । योसँगै भट्टले दोश्रो पटक बैंकको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै छन् । अर्थशास्त्रमा विद्यावारिधी गरेका नवनियुक्त प्रवक्ता डा. भट्ट सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।