कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक क्षेत्रीलाई सर्वसम्मत् रुपमा अध्यक्ष पदमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई चयन गरिएको बताइएको छ । महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् । उनी २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं. २०५५ देखि २०७४ सम्म जिल्ला विकास समिति लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध रहेका छन् ।
अर्थमन्त्री शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेवारी
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अनिश्चित समयको लागि शर्मालाई शिक्षामन्त्रालयको जिम्मेवारी दिएका हुन् । हालको शिक्षामन्त्री देवेन्द्र पौडेल बेलायतमा शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन गएका कारण उनको ठाउँमा अर्थमन्त्री शर्मालाई जिम्मेवारी दिइएको हो । पौडेल गत जेठ ७ गते नै बेलायत गएका हुन् । उनी एजुकेसन वर्ल्ड फोरम २२ मा सहभागी हुन बेलायत पुगेका हुन् ।
एनआईसी एशिया बैंकको डीसीईओमा सन्ताेष राठी नियुक्त
काठमाडौं । एनआईसी एशिया बैंकको नायब प्रमुख कार्यकारी अधिकृत(डीसीईओ) मा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैंकको जेठ ८ मा बसेको सञ्चालक समितिको बैठकले राठीलाई बैंकको डीसीइओमा नियुक्त गरेको हो । उनले साउन १ गतेदेखि कार्यभार सम्हाल्नेछन् । २०६४ मंसिर १९ देखि तत्कालीन बैंक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका राठी बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै डीसीइओमामा नियुक्त भएका हुन् । बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका राठीलाई बैंकको रुपान्तरणमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै बैंकले डीसीइओमा नियुक्त गरेको बताएको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव संगालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।