कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त
काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामचन्द्र खनाल नियुक्त भएका छन् । यसअघि बैंकको कामू सीइओको रुपमा कार्यरत उनी बैंकको सीईओमा नियुक्त भएका हुन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले बुधबारदेखि लागू हुने गरेर ४ वर्षको लागि सीईओ बनाएको बताइएको छ । उनी कामु सीईओ बनेको साढे दुई महिनामै सीईओ बनेका हुन् । बैंकले माघ २४ मा खनाललाई कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मा दिएको थियो । खनाल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनीसँग करिब डेढ दशक बैंकिङ क्षेत्रमा काम गरेकाे अनुभव छ । उनले एनआईसी एसिया क्यापिटलमा सीईओको रुपमा पनि काम गरिसकेका छन् भने सिद्धार्थ बैंकमा पनि काम गरेकाे उनीसँग अनुभव छ । साढे २ महिनाको अवधिमा कामु सीइओको रूपमा काम गर्दा कुमारी बैंकको तेश्रो त्रैमासमा राम्रो प्रगति भएको तथ्यांकले देखाउँछ । त्यसकारण पनि बैंक सञ्चालक समितिले उनीमाथि विश्वास गरेर सीइओको जिम्मेवारी सुम्पेको हो । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांक अनुसार बैंकले १ अर्ब ८० करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, चुक्ता पूँजी ६ प्रतिशत बढेको छ भने जगेडा कोष १०.४७ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप संकलन १३.४२ प्रतिशतले र कर्जा लगानी १३.०८ प्रतिशतले बढेको छ। कुमारी बैंकका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएपछि उनले कामु सीईओको जिम्मेवारी पाएका थिए । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका थिए ।
सूर्या लाइफको ब्राण्डिङ्ग हेडमा मेघेन्द्र प्रकाश गिरी नियुक्त
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको ब्राण्डिङ्ग हेडमा मेघेन्द्र प्रकाश गिरी नियुक्त भएका छन् । कम्पनीले बैशाख ९ गतेदेखि नै लागू हुने गरी गिरीलाई ब्रान्ड डिजिटल मार्केटिङ र प्रब्लिक रिलेसनको प्रमुखको रूपमा नियुक्त गरेको हो । यससँगै गिरीले बैशाख ९ गतेदेखि नै आफ्नो जिम्मेवारी सम्हालिसकेका छन् । उनले यसअघि एनआईसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्सको ब्राण्डिङ र मिडिया सम्हालेका छन् । यससँगै उनले यो क्षेत्रमा मात्रै दुई दशक पार गरिसकेका छन् । बर्दियाको गुलरियामा जन्मिएका गिरिले एमबिए र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
मेगा बैंककी डिसीईओ देशराजले आजदेखि कामूको कार्यभार सम्हाल्ने
काठमाडौं । मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् । बैंकको नायव प्रमुख कार्यकारी (डिसीईओ) श्रेष्ठले बैशाख २ गतेदेखि कामुको जिम्मेवारी सम्हाल्न लागेकी हुन् । चैत ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि उनलाई कामु सीईओको रुपमा नियुक्त गरेको हो । बैंकको सीईओ अनुपमा खुञ्जेलीले राजिनामा दिएसँगै उक्त पद रिक्त रहेको छ । कामु सीईओ श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । यसअघि पनि उनले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चार वटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान पाइसकेकी छिन् । ३१ बर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा सेवारत श्रेष्ठ बिजनेश र ग्रामीण बैंकिङमा विशेष दख्खल राख्ने बैंकर हुन् । भारतको कोलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट आफ्नो करिअर सुरु गरेकी श्रेष्ठले त्यसपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंकमा समेत काम गरेकी थिइन् । थप समाचार मेगा बैंककी कामु सीईओ श्रेष्ठ सरकारबाट विभुषित, पाइन् प्रबल जनसेवाश्री