नबिल बैंकका सीईओ ढुङ्गानाले असार १७ गतेदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नबिल बैंकमा नेपाल बंगलादेश (एनबी) बैंक गाभिएपछिको बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बन्ने भएका छन् । उनले आगामी असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, सो बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा चार जना रहेनछन् । जसमा एनबी बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् । एनबी बैंकका कर्मचारीहरूको भने एक तह भने घट्ने भएको छ । नबिल बैंकमा गाभिएपछि एनबी बैंकका कर्मचारीको सेवा सुविधा सोही कायम गरी तह भने घट्ने सम्झौता भएको छ । एनबीलाई गाभ्नको लागि नबिलले आज मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यससँगै बैंकले असार मसान्तभित्रै एकीकृत कारोबार शुरु गर्ने गरी तयारी थाल्ने बैंकले श्रोतले बताएको छ ।
नेपाल इन्स्योरेन्सको सीईओमा महर्जन नियुक्त, आजैदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । जेठ १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गरेको हो । हाल इन्स्योरेन्समा कामु सीईओको कार्यभार सम्हालेका महर्जनले अब जेठ १८ गतेदेखि सीईओको कार्यभार सम्हाल्ने छन् । त्यस्तै, करार सेवामा नियुक्त भएका सीईओ महर्जनले अब आगामी ४ वर्षसम्म इन्स्योरेन्सको सीईआको जिम्मेवारी सम्हाल्ने छन् । बीमा क्षेत्रमा २४ वर्षभन्दा बढी अनुभव भएका महर्जनले बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर गरेका छन् । उनी कानूनको स्नातक हुन् । उनले मुम्बईको इन्सुरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट फेलोसिप पूरा गरेका छन् । उनले जनवरी १९९७ मा भारत सरकारको पूर्ण स्वामित्वमा रहेको जनरल इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको सहायक कम्पनी नेशनल इन्स्योरेन्स कम्पनीमा आफ्नो करियर शुरु गरेका हुन् । नेपाल इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा १४ वर्ष सीईओको रूपमा सेवा गरेका थिए । उनी सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड (एनआईसी एशिया लघुवित्त वित्तीय संस्थामा गाभिएको), नेपाल केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ’घ’ वर्गको बैंकिङ संस्थाको सञ्चालक समेत पनि थिए । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको निर्देशक थिए । उनी नेपाल बिमा संघका पूर्व उपाध्यक्ष हुन् ।
सिभिल बैंकको डीसीईओमा रायमाझी नियुक्त, २१ वर्षको बैंकिङ अनुभव
काठमाडौं । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकल आगामी जेठ १८ गतेदेखि लागू हुने गरी रायमाझीलाई डीसीईओमा नियुक्त गरेको हो । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीले अब बुधबारदेखि डीसीईओको कार्यभार सम्हाल्ने छन् । नेपाल बंगलादेश बैंकबाट बैंकिंङ शुरु गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल २१ वर्षको बैंकिङ अनुभव रहेको छ । विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरिसकेका छन् । त्यस्तै, उनले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलतापूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पुर्याउनेमा बैंकले विश्वास लिएको छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जङ्ग रायमाझीले बैंकमा पुर्याउनु भएको योगदानको कदर गर्दै उनलाई डीसीईओको कार्यभार सुम्पिएको बताएका छन् ।