३ महिनापछि फरवार्ड लघुवित्तले पायो सीईओ, रामदयाल राजबंशीले सम्हाल्ने

काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामदयाल राजबंशी नियुक्त भएका छन् । लघुवित्तको साउन ७ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले लघुवित्तको सीईओमा राजबंशीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सीईओ राजबंशीलाई साउन १५ गतेदेखि लागु हुनेगरी आगामी ४ वर्षका लागि लघुवित्तको सीईओमा नियुक्त गरिएको हो । लघुवित्तले झण्डै ४ महिनापछि सीईओ पाएको हो । उनले साउन १५ गते नै कार्यभार सम्हाल्ने भएका छन् । यसअघि आशनारायण चौधरीले बैशाखमा सीईओ पदबाट राजीनामा दिएका थिए । चौधरीले राजीनामा दिएपछि कामु सीईओको रुपमा कृष्णप्रसाद भट्टराईलाई जिम्मेवारी दिएको हो । लघुवित्तको केन्द्रीय कार्यालय सुनसरीको दुहबीमा रहेको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा न्यौपाने नियुक्त

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा ध्रव प्रसाद न्यौपाने नियुक्त भएका छन् । साउन १ गते बसेको कम्पनी सञ्चालक समितिले नायव महाप्रबन्धक न्यौपानेलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै न्यौपानेले नायव महाप्रबन्धक र कम्पनी सचिव दुबैको जिम्मेवारी सम्हाल्ने छन् । साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिएपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार भएको हो ।

प्राइम लाइफ इन्स्योरेन्समा कामु प्रमुख कार्यकारी अधिकृत निर्मल दाहाल

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्मल दाहाललाई तोकेको छ । उनी तीन महिनाअघि बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईको दोस्रो कार्यकाल असार मसान्तमा सकिएको छ । साउन १ देखि लागू हुने गरी दाहालले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । दाहाल यसअघि यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षममा कार्यरत थिए । जहाँ उनी ‘सक्षम एक्सेस टु फाइनान्स’ नामक प्रोग्रामको टीम लिडर थिए । सक्षममा जोडिनुपूर्व उनी लक्ष्मी बैंकमा कार्यरत थिए । शंकरदेव क्यापसबाट एमबीए गरेका दाहालले हिमालयन बैंकबाट बैकिङ करिअर शुरु गरेका थिए । प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबीच मर्जरको प्रक्रिया चलिरहेको छ । मर्जपछि कसलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भन्ने विषयमा सहमति भइनसेको बताइएको छ । मर्जपछि दाहालसँगै यूनियन लाइफका मनोज कुमार लाल कर्ण, गुराँस लाइफका विपिन कुमार लालको सीईओमा दावी रहने छ । तर तीन वटै कम्पनीका प्रमुख कार्यकारी अधिकृत भन्दा बाहिर गएर प्राइम लाइफका निवर्तमान सीईओ भट्टराईकै पुनः नियुक्ती हुने सक्ने अनुमान पनि धेरैले गरेका छन् ।