गोर्खाज फाइनान्सको कामु सीईओमा दिपक न्यौपाने
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले दिपक न्यौपानेलाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त गरेको छ । बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि न्यौपानेलाई कामु सीईओको जिम्मेवारी दिन निर्णय गरेको हो । वित्तीय संस्थामा हाल कार्यकारी प्रमुख पद रिक्त रहेको छ भने हालसम्म कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका मुकुन्द श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि उक्त जिम्मेवारी न्यौपानेलाई दिइएको हो । नवनियुक्त न्यौपाने विगत तीन वर्षदेखि गोर्खाज फाइनान्समा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत छन् । अर्थशास्त्रमा एमफिलसम्मको शैक्षिक योग्यता हासिल गरेका न्यौपानेलाई वित्तीय क्षेत्रको करिब एक दशकको अनुभव छ । उनले विभिन्न वित्तीय संस्थामा विभागीय प्रमुखको भूमिका निर्वाह गर्नुका साथै लेखापरीक्षण फर्महरूमा समेत काम गरेका छन् ।
नेप्सेको सीईओ बने चुडामणि चापागाईं, को हुन् उनी ?
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुन: चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो । नयाँ नियुक्तिसँगै नेप्सेले अब व्यवस्थापकीय नेतृत्व पाउने भएको छ।
प्राधिकरणमा बढुवा भएका निर्देशकले पाए जिम्मेवारी, रेग्मीले कानून र ढुंगेलले अनुसन्धान महाशाखा सम्हाल्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्देशकहरूको जिम्मेवारी हेरफेर गर्दै नवनियुक्त निर्देशकहरूको पदस्थापना गरेको छ । प्राधिकरणले बिहीबारदेखि लागू हुने गरी विभिन्न महाशाखाका लागि जिम्मेवारी तोकेको हो । नयाँ जिम्मेवारीअनुसार, निर्देशक कमल प्रसाद रेग्मीले कानून महाशाखा र निर्देशक पूजन ढुंगेल (अधिकारी) ले अनुसन्धान महाशाखाको नेतृत्व सम्हाल्ने भएका छन् । यसैगरी, हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई पनि विभिन्न महाशाखाहरूको नेतृत्व तोकिएको छ । निर्देशक शाम्बराज लामिछानेलाई नियमन महाशाखा, निर्देशक ध्रुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्देशक निर्मल अधिकारीलाई बीमालेख महाशाखा र निर्देशक कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ । प्राधिकरणले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ ।