नबिल बैंकका सीईओ ढुङ्गानाको कार्यकाल दुई वर्ष थप, तीन दशकदेखि निरन्तर बैंकिङमा
काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थपिएको छ । जेठ २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानालाई असार १७ गतेदेखि लागू हुनेगरी अगामी दुई वर्षका लागि कार्यकाल थपेको हो । नबिल बैंकका सीईओका रुपमा उनको पहिलो कार्यकाल असारसम्म थियो । तर, बैंकले उनको पफर्मेन्सप्रति सकारात्मक हुँदै थप दुई वर्षका लागि कार्यकाल थप गरिएको हो । नबिल बैंकले तत्कालीन नेपाल बंगलादेश बैंकलाई गाभिएपछि ढुङ्गानालाई सीईओमा नियुक्त गरेको थियो । नबिलमा एनबी बैंकलाई गाभ्नका लागि ढुङ्गानाले महत्वपूर्ण भूमिका खेलेका थिए । अब ढुङ्गानाले थप दुई वर्ष नबिल बैंकमा काम गर्नेछन् । तेह्रथुममा जन्मिएका ढुङ्गाना चार्टर्ड एकाउन्टेन्ट (सीए) हुन् । चार्टर्ड एकाउन्टेन्टको पढाई पुरा गरेसँगै २०५२ सालमा तत्कालीन बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेका उनी तीन दशकदेखि बैंकिङ क्षेत्रमै छन् । उनीसँग नेपाल राष्ट्र बैंकमा पनि १० वर्ष काम गरेको अनुभव छ । सन् २०१८ देखि २०२० सम्म सीईओ ढुङ्गाना वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्ष समेत बनेका थिए । नेपाल राष्ट्र बैंक लगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्ष भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुलीसकेका ढुङ्गानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्र तथा बैंकिङ क्षेत्रको विज्ञता तथा अनुभव समेत हासिल गरेका ढुङ्गाना देशको अर्थतन्त्रको आवश्यकता बमोजिम विषम परिस्थितिमा समेत कुशल नेतृत्वको क्षमता राख्ने प्रमुख कार्यकारी अधिकृतको रूपमा परिचित छन् । पेशाले चार्टड एकाउन्टेन्ट रहेका ढुङ्गानाको पूर्वाधार विकास तथा निर्माण परियोजना सम्बन्धी बैंकिङ लगानीको क्षेत्रमा विशेष दख्खल रहेको मानिन्छ । नबिल बैंकमा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नु पूर्व नेपाल बङ्गलादेश बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका रूपमा १० वर्षसम्म नेतृत्व गरेको अनुभव ढुङ्गानासँग रहेको छ । नेपाल बङ्गलादेश बैंक लिमिटेड नबिल बैंक लिमिटेडमा गाभिए पश्चात् ढुङ्गानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुबै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको छ । यसबाहेक ढुङ्गानासँग नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा रही कार्य गरेको लामो अनुभव समेत रहेको छ । नबिल बैंकको शाख र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने सन्दर्भमा ढुङ्गानाको पछिल्लो कार्यकाललाई उपलब्धिमूलक मानिएको छ । भारतबाट चार्टर्ड एकाउन्टेन्सी र अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका ढुङ्गानालाई नेपालको बैंकिङ क्षेत्रमा पुर्याएको उत्कृष्ट योगदानका लागि सन् २०२२ मा राष्ट्रपतिबाट प्रबल जनसेवा श्री पदकद्वारा विभुषित गरिएको थियो । साथै ढुङ्गाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा म्यानेजर टु वाच अवार्ड र सन् २०१५ मा म्यानेजर अफ द इयर अवार्ड विधामा पुरस्कृत व्यक्तित्व हुन् । प्रमुख कार्यकारी अधिकृत ढुङ्गानासँग सन् २०१८ मा नेपालका वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको अध्यक्षका रूपमा नेपालको बैंकिङ क्षेत्रको नेतृत्व गरेको अनुभव समेत रहेको छ । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त ढुङ्गानाको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
नेपाल उद्योग परिसंघको महानिर्देशकमा ओझा नियुक्त
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. धनश्याम ओझा नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको १८ औँ बैठकले ओझालाई महानिर्देशक नियुक्त गरेको हो । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले नवनियुक्त महानिर्देशक ओझालाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना, आर्थिक विकासका लागि सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक ओझाले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने बताए । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ विशेष ध्यान दिने बताए । डा. ओझाले द काठमाडौं पोष्ट, नेपाल रिपब्लिक मिडियामार्फत पत्रकारिता गरी लगानी बोर्डको कार्यालय, नेपाल पूर्वाधार बैंकलगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रतिष्ठित संस्थाहरुमा काम गरिसकेका छन् । उनले जनप्रशासनमा विद्यावारिधी हासिल गरेका छन् ।
निओ मनि ट्रान्सफरको ब्रान्ड एम्बेसडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं । निओ मनि ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको छ । सुपतसँगको सहकार्यले नेपालमा र विदेशमा रहेका नेपालीहरूका लागि निओ मनि ट्रान्सफरको छिटो, भरपर्दाे, सुलभ र सुरक्षित रेमिटेन्स सेवाहरूका साथै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने र चेतना जगाउने उद्देश्य रहेको छ । निओ मनि ट्रान्सफरबाट विदेशमा रहनु भएका नेपालीहरुले डिजिटल माध्यमबाट पठाएको पैसा केहि सेकेडमै बैंक खाता (लधुवित्त र सहकारी संस्थाहरु सहित) तथा वालेटमा प्राप्त गर्न सकिन्छ । त्यसै गरि पारम्पारिक माध्यम, नगद भुक्तानीबाट पठाइएको पैसा पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ । आफ्नो नवीन प्रविधि र व्यापार मोडेलको साथ, निओ मनि ट्रान्सफरले सबैभन्दा कम शुल्क र प्रतिस्पर्धी विनिमय दरहरूमा रेमिट्यान्स सेवाहरू प्रदान गर्दछ । यस कम्पनीको लक्ष्य भने ग्राहक सन्तुष्टि र वित्तीय सशक्तिकरणमा ध्यान केन्द्रित गर्दै विश्वभर सुरक्षित, किफायती रेमिटेन्स सेवा सुविधा पुर्याउने रहेको छ । ब्रान्ड एम्बेसडरका रूपमा प्रकाश सपुतको नियुक्ति रेमिट्यान्स व्यवसायको सन्दर्भमा निओ मनि ट्रान्सफरलाई सामान्य घरपरिवारको नामको रूपमा चित्रण गर्ने रणनीतिक कदम हो । प्रकाश सपुतका प्रशंसक र अनुयायीहरु मार्फत देशमा रेमिट्यान्सको महत्व बारे ध्यान केन्द्रित गर्दै, नेपाल र विदेशमा वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने यस कम्पनीको योजना रहेको छ । उनको लोकप्रियतासँगै, उनको सामाजिक प्रभावले निओ मनि ट्रान्सफरको विशेष रेमिटेन्स सेवाहरू, नेपालको ग्रामीण र अर्ध–शहरी क्षेत्रहरु साथै विदेशमा रहेका नेपालीहरुमा पनि चेतना जगाउन मद्दत गर्नेछ । ब्राण्ड एम्बेसडर नियुक्ति कार्यक्रममा निओ मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘रेमिट्यान्स सेवालाई सबै नेपालीका लागि थप किफायती र पहुँचयोग्य बनाउने हाम्रो लक्ष्यलाई प्रवर्द्धन गर्नको निम्ति प्रकाश सपुतसँग साझेदारी गर्न पाउँदा हामी निकै रोमाञ्चित छौं । प्रकाश सपुत धेरैका लागि प्रेरणा हुन् र हामी विश्वास गर्छौं कि यो साझेदारीले हाम्रो दृश्यतालाई उल्लेखनीय रूपमा बढावा दिनेछ र हाम्रो सेवालाई अझै लोकप्रिय बनाउनेछ ।’ देशको अर्थतन्त्रमा बलियो तेवा पुर्याएको रेमिटेन्समा निओ मनि ट्रान्सफरद्धारा विश्व भर छरिएर रहेका नेपाली दाजु भाई दिदी बहिनीहरु सँग जोडिन पाउँदा सपुतले पनि हर्ष व्यक्त गरेका छन् ।