गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । नेपाली कांग्रेसले भने मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ । राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

एनएमबि लघुवित्तको सीईओमा पुनः पाण्डे नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् । चैत २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाले चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।

कालिका लघुवित्तको सीईओमा कुलचन्द्र पराजुली नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुलचन्द्र पराजुली नियुक्त भएका छन् । चैत २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । चितवनको भरतपुर निवासी पराजुली अर्थात नवनियुक्त सीईओले आगामी बैशाखदेखि कार्यभार सम्हाल्ने छन् ।