युनाईटेड मोदीको अध्यक्षमा नविन सिलवाल

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा नविन सिलवाल चयन भएका छन् । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सिलवाललाई अध्यक्षमा चयन गरेको हो । कम्पनीको गत २७ गते सम्पन्न १० औँ बार्षिक साधारणसभाबाट सिलवाल सञ्चालक समितिमा निर्वाचित भएका थिए । सिलवालसँग जलविद्युत क्षेत्रमा ८ वर्षको अनुभव रहेको छ । सिलवालले वित्त विषयमा स्नातकोत्तर गरेका छन् । युवा उर्जा उद्यमी सिलवालले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला हाइड्रोपावर आयोजनाको सुरुवाती चरणदेखि निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडानसम्मको अनुभव रहेको छ । आजै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रन्बन्ध निर्देशकमा रोमन दंगाल नियुक्त गरेको छ ।

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन् । यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनहरुलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा लमिछाने नियुक्त

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने नियुक्त भएकी छन् । जेठ २५ गते शुक्रबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्षको पदमा लामिछानेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव कमलप्रसाद शर्माका अनुसार सभाले चार जना सञ्चालक नियुक्त गरेको छ । संस्थापक सेयरधनीबाट नियुक्त हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फबाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशमबहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा नियुक्त भएका हुन् । साथै सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।