नेरुडे मिर्मिरे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । चैत २ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त सीईओ बस्यालले गत फागुन ३० गतेदेखि नै लागू हुने गरी आफ्नो कार्यभार सम्हालेका छन् । साविक नेरुडे लघुवित्त वित्तीय संस्था र साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिई नेरुडे मिर्मिरे लघुुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गरेका हुन् । दुई कम्पनी एक भई गत फागुन ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । यससँगै संस्थाको केन्द्रिय कार्यालय काभे्रपलान्चोकको बनेपा ८ मा रहेको छ ।
लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा जय देव श्रेष्ठ नियुक्त भएका छन् । फागुन ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा सुमित केडिया नियुक्त भएका छन् । कम्पनीको बुधबार सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट केडिया सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । केडिया सर्वसाधारण सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सञ्चालकमा चयन भएका हुन् । विगत लामो समयदेखि यस कम्पनी र केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् । उनी कम्पनीका सञ्चालकमा नियुक्त भएसँगै सिद्धार्थ प्रिमियरले व्यवसाय विस्तारमा थप मद्दत पुग्ने अपेक्षा लिइएको छ ।