एनएमबि लघुवित्तको सीईओमा पुनः पाण्डे नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः आनन्द पाण्डे नियुक्त भएका छन् । चैत २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी ४ वर्षको लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई संस्थाले चैत २२ गतेबाट लागू हुनेगरी नियुक्त गरेको हो ।

कालिका लघुवित्तको सीईओमा कुलचन्द्र पराजुली नियुक्त

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुलचन्द्र पराजुली नियुक्त भएका छन् । चैत २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रिक्त रहेको उक्त पदमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । चितवनको भरतपुर निवासी पराजुली अर्थात नवनियुक्त सीईओले आगामी बैशाखदेखि कार्यभार सम्हाल्ने छन् ।

प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा प्रसिद्ध कलाकार मनोज गजुरेललाई नियुक्त गरेको छ । कलाकारिता क्षेत्रमा लामो समय बिताइ छुट्टै पहिचान बनाइसकेका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसडरको रुपमा सम्झौता गरेको छ । मंगलबार एक कार्यक्रम आयोजना गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई तथा कलाकार गजुरेलले हस्ताक्षर गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त गर्न पाउँदा निकै गौरवान्वित भएको बताए । कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलज्यूको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे । कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर मनोज गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड प्रबर्धन तथा संरक्षण, सभा गोष्ठीहरुलाई सम्बोधन सम्बन्धी कार्यहरु गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । उक्त सम्झौता हाललाई एक वर्ष कायम रहने इन्स्योरेन्सले जनाएको छ ।