विन नेपाल लघुवित्तको कम्पनी सचिवमा खनाल नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । फागुन २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत खनाललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । खनाललाई फागुन २७ गतेबाट नै लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको हो । तत्कालीन स्वावलम्वन विकास केन्द्रमा २०६३ सालमा ट्रेनि एसिस्टेन्टबाट करिअर सुरु गरेका खनालसँग सिभिल लघुवित्त (हाल हिमालयन लघुवित्त), स्वदेशी लघुवित्त गरी लघुवित्त क्षेत्रमा करिब २ दशक काम गरेको अनुभव छ ।

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त

काठमाडौं । नेपाल टेलिकमले महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हस्ताक्षर गरे । सो अवसरमा टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरुका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताएको टेलिकमले विज्ञप्तीमा उल्लेख गरेको छ । मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्रान्ड एम्बेसडरहरुको संलग्नताबाट कम्पनीका ग्राहकवर्गले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाहरुको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ । यसैगरी सञ्चारकर्मी पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यस अघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको जानकारी दिईयो ।

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी नियुक्त भएका छन् । फागुन २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।