राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका अधिकारी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा नेपाल बैंकका प्रकाशकुमार अधिकारी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिमा नेपाल बैंकको प्रतिनिधित्व हुने व्यवस्था भए बमोजिम उनी अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक सदस्य रहने भएका हुन् । सञ्चालक अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरि पद बहाली समेत गरेका छन् । उनले बैशाख ११ गते नै कम्पनीको सञ्चालक समितिका अध्यक्षबाट सपथ लिएका हुन् ।

डेभलपमेण्ट बैंकर्स संघको सीईओमा डंगोल नियुक्त

काठमाडौं । डेभलपमेण्ट बैंकर्स संघ नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा मन्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापनमा स्नातकोत्तर डंगोलले तत्कालिन सनराईज बैंक, तत्कालिन मेगा बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवस्थापकीय तहमा रहेर करिब १५ वर्ष कार्य गरेको अनुभव रहेको छ । अनुसन्धान तथा बिकास, जोखिम व्यवस्थापन, कर्जा जोखिम विश्लेषण, तथ्यांक विश्लेषण, साना तथा मझौंला कर्जा व्यवस्थापन, कृषि कर्जा व्यवस्थापन आदिमा विशेष दख्खल राख्ने डंगोलले डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको उद्देश्य हासिल गर्नका लागि प्रमुख भूमिका खेल्ने विश्वास एशोसिएसनले लिएको छ । आफ्नो सचिवालयलाई थप स्रोतमूलक बनाउनेक्रममा प्रमुख कार्यकारी अधिकृत पदको दरवन्दी सिर्जना गरेको एशोसिएसनले अन्य आवश्यक कर्मचारी पनि भर्ना गर्दै जाने लक्ष्य लिएको बताएकाे छ ।

ग्रीन डेभलपमेन्ट बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनले बैशाख १० गते नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक बिना ढकाल पौडेल समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । अध्यक्ष श्रेष्ठ २०८० चैत २७ गते सम्पन्न भएको ग्रीन डेभलपमेन्ट बैंकको दशौं तथा एघारौं संयुक्त साधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए । कार्यक्रममा ग्रीन डेभलपमेन्टलाई अहिलेको अवस्थासम्म पुर्याउन नेपाल राष्ट्र बैंकले पुर्याएको सहयोगको विशेष स्मरण गर्दै उनले बैंकिङ्ग क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए । श्रेष्ठले नेपाली बैंकहरुले बदलिँदो विश्व परिस्थितिअनुसार आफूलाई प्रविधिमैत्री बनाउन आवश्यक हुने बताउँदै आफ्नो कार्यकालमा ग्रीन डेभलपमेन्टलाई थप सबल र उत्कृष्ट बनाउन आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।