सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले शर्मालाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कानुनमा विशेगा अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनीसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ । निर्वाचन सम्बन्धी कानुन, नियमावली र निर्देशनमा संलग्न उनी उच्चस्तरीय कानूनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्ष समेत भइन् । उनले काठमाडौं विश्वविद्यालय लगायत विदेशी विश्व विद्यालयको पाठ्यक्रम विकास र अध्यापनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । उद्योग तथा वाणिज्य मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी शर्मासँग विभिन्न आईएनजीओमा समेत संलग्न छिन् ।

त्रिवि पत्रकारिता विभागको प्रमुखमा पोखरेल नियुक्त 

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रमुखमा प्रा. प्रवलराज पोखरेल नियुक्त भएका छन् । यसअघिका प्रमुख प्रा. चिरञ्जीवी खनालले दिएको राजीनामा स्वीकृत गरी विश्वविद्यालयको उपकुलपति प्रा. डा. केशरजङ्ग बरालले पोखरेललाई यही वैशाख २३ गतेदेखि लागू हुने गरी तीन महिनाका लागि विभागीय प्रमुखमा नियुक्त गरेको विश्वविद्यालयले जनाएको छ । सोह्र वर्षअघि पनि सोही विभागको प्रमुख भएका प्रा पोखरेल लामो समयदेखि पत्रकारिता अध्यापनमा छन् । विभागीय प्रमुखमा नियुक्त भएपछि प्रतिक्रिया दिँदै प्राध्यापक पोखरेलले राज्यको चौथो अङ्ग मानिने पत्रकारिता क्षेत्रको प्रवद्र्धन, प्राज्ञिक उन्नयन र अध्ययन अनुसन्धानका साथै प्राविधिक तथा मानवीय स्रोत, साधनमा राज्यको लगानी वृद्धि हुनुपर्नेमा जोड दिए ।

पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा टंकराज अर्याल

काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको वैशाख १७ गते काठमाडौंमा सम्पन्न छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । कम्पनीका अनुसार यसअघि भरतबहादुर खत्रीको नेतृत्वको सञ्चालक समितिलाई बिदाइ गर्दे संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।