हिरोको ब्राण्ड एम्बेस्डर बने सुशान्त, सुरक्षा र दयाहाङ
काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले नेपाली कला क्षेत्रका तीन व्यक्तित्वहरूलाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । नक्साल स्थित स्टेट अफ दी आर्ट शोरुममा एक समारोहकाबीच ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो । गायक सुशान्त केसी हिरो एक्सपल्स, अभिनेत्री सुरक्षा पन्त हिरो जुम र अभिनेता दयाहाङ राईलाई हिरो स्प्लेन्डरका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा अधिकारी
विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डा राजेन्द्र अधिकारी नियुक्त भएका छन् । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले झापा विर्तामोड निवासी डा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए । उनका अनुसार बैठकले मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने, कोशी प्रदेशसभा सदस्य भक्तिप्रसाद सिटौलालाई क्यानडा जान कूटनीतिक राहदानीका लागि प्रधानमन्त्री कार्यालयमा सिफारिस पठाउने निर्णय गरेको छ । साथै वित्तीय हस्तान्तरणको सम्बन्धमा सोलुखुम्बुको दूधकुण्ड नगरपालिका सोलु, खाँदबारी नगरपालिका सङ्खुवासभा र ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा आप्रवासन केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख दुई हजार रुपैयाँका दरले रकम पठाउने निर्णय पनि आजको बैठकमा भएको उनले जानकारी दिए ।
चिरायु भण्डारीको अध्यक्षतामा नेपाल लघु बीमक संघ गठन
काठमाडौं । हालै सञ्चालनमा आएका लघु बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले नेपाल लघु बीमक संघ गठन गरेका छन् । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी अध्यक्षतामा लघु बीमक संघ गठन गरेका हुन् । भण्डारीका अनुसार जेठ ३ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत रुपमा लघु बीमकको संगठन दर्ता भएको हो । भण्डारीको अध्यक्षतामा स्टार माइक्रो इन्स्योरेन्सका सीईओ विश्वराम तिमिला उपाध्यक्ष, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओ नरेशकुमार रोका सचिव र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ रामकुमार यादव कोषाध्यक्ष रहेका छन् । कार्यसमिति सदस्यमा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ उज्जल ढुंगाना, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका सीईओ मृगेन्द्रनाथ रिमाल र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सीईओ प्रतापमान श्रेष्ठ रहेका छन् । देशको लघु बीमा क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी संघ संस्थाहरूसँग समन्वय गरी लघु बीमा सेवालाइ स्तरीय तथा भरपर्दो बनाउँदै लैजाने अध्यक्ष भण्डारीले बताए । उनका अनुसार न्यून आय भएका वर्ग तथा दूरदराजका नागरिकहरूमा बीमाको पहुँच विस्तारको लागि नेपाल बीमा प्राधिकरण लगायत सम्बन्धित संघ सस्थाहरूसँग सहकार्य र समन्वय गरी समावेसी बीमाको अवधारणालाइ मूर्तरूप दिन काम गरिरहेका छन् । पहुँच बाहिर रहेका वर्ग समुदायलाइ बीमाको दायरामा समेटी आर्थिक भविष्यलाइ सुनिश्चित गर्ने, लघु बीमा सेवाको विकास तथा विस्तार गर्ने र पर्यावरण संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्ने उद्देश्य संघको रहेको अध्यक्ष भण्डारीको भनँइ छ ।