सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन
काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे । राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसअघि बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ थिए । तर, २ साता नपुग्दै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्काे व्यक्तिलाई अध्यक्ष बनाएको छ । बैंकको असार २२ गते बसेको ४३३औँ बैकठले दामोदर प्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।
राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नागरिक लगानी कोषको सञ्चालकमा रमाली नियुक्त
काठमाडौं । नागरिक लगानी कोषको विज्ञ सञ्चालक सदस्यमा हेमन्तराज रमाली नियुक्त भएका छन् । नेपाल सरकार (मन्त्रीस्तर) को असार ३ गतेको निर्णय अनुसार नागरिक लगानीकोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम रमालीलाई नियुक्त गरिएको हो । साथै, उनले असार १७ गते सोमबार कोषको सञ्चालक समक्ष शपथ समेत लिइसकेको सञ्चालक समितिका सचिव नवराज खड्काले बताए । सीए हेमन्तराज रमली इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालका एसोसिएट सदस्य हुन् । उनले सन् २०१३ मा इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेका छन् । हेमन्तले कर र नियामक सल्लाहकार, लेनदेन सल्लाहकार, मूल्यांकन लेखा, लेखापरीक्षण र आश्वासन लगायत वित्तीय सल्लाहकारका विभिन्न क्षेत्रमा व्यापक व्यावसायिक अनुभव बोकेका छन् । उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड कमिटीको सदस्य भइसकेका छन् ।