मधेस प्रदेशको मुख्यमन्त्रीमा सिंह नियुक्त

धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सतिशकुमार सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका बहुमत सदस्यको समर्थन दाबी परेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । उनलाई सङ्घीय सत्ता गठबन्धनमा रहेका दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायत बहुमत प्रदेशसभा सदस्यले समर्थन गरेका छन् । सिहंले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने तयारी छ । सिंह सप्तरी निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । यसअघि उनी २०७४ को स्थानीय तह निर्वाचनमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष निर्वाचित भएका थिए । त्यसपछि २०७९ मा भएको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका अध्यक्षमा पराजित भएपछि सोही वर्षको आम निर्वाचनमा जनमतबाट उम्मेदवार भई प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

माछापुच्छ्रे बैंकको सञ्चालकमा पोखरेल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन् । जेठ १७ बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई बिहीबारदेखिनै लागू हुने गरि सञ्चालकमा नियुक्त गरिएको कम्पनीका सचिव सुभाष जम्मकटेलले बताए । कम्पनीका अनुुसार बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा उनलाई नियुक्त गरिएको हो ।

सेबोनको प्रवक्तामा डा.नवराज अधिकारी नियुक्त

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई दिईएको छ । बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरी डा. अधिकारीलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । उनी वि.सं २०७९ पुस ४ गतेदेखि प्रवक्ताको भूमिकामा थिए । सेबोनका उपनिर्देशक तेज प्रसाद देवकोटाले सूचना अधिकारीको भूमिका निर्वाह गरिरहेका छन् ।