पिपुल्स पावरको सञ्चालक समिति परिवर्तन, अध्यक्षमा टंकराज अर्याल
काठमाडौं । पिपुल्स पावर लिमिटेडको सञ्चालक समिति परिवर्तन भएको छ । कम्पनीको वैशाख १७ गते काठमाडौंमा सम्पन्न छैटौँ र सातौँ वार्षिक साधारण सभाले पुरानो सञ्चालक समितिलाई बिदाइ गर्दै नयाँ समिति चयन गरेको हो । कम्पनीका अनुसार यसअघि भरतबहादुर खत्रीको नेतृत्वको सञ्चालक समितिलाई बिदाइ गर्दे संस्थापक सेयरधनी टंकराज अर्यालको नेतृत्वमा नयाँ सञ्चालक समिति गठन गरिएको हो । नयाँ सञ्चालक समिति सदस्यहरूमा रामकाजी श्रेष्ठ, श्रीकृष्ण अर्याल, आरती अधिकारी, उपेन पराजुली, उद्धव भट्ट र निर्वाण शर्मा चयन भएका छन् । यीमध्ये श्रेष्ठ र पराजुली सर्वसाधारण सेयरधनीहरूबाट सञ्चालकमा चयन भएका हुन् भने श्रीकृष्ण अर्याल आरती अधिकारी र उद्धव पराजुली संस्थापक सेयरधनीबाट चयन भएका हुन् । निर्माण शर्मा भने स्वतन्त्र सञ्चालकका रूपमा समितिमा आएका हुन् । सोही साधारण सभाले कम्पनीको हाल कायम ६३ लाख २६ हजार कित्ता सेयरको १ बराबर ०.५ का दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ ।
नेपाल वेयरहाउजिङ्गको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सदिक्षा श्रेष्ठ नियुक्त भएकी छन् । चैत्र २२ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठ लाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसै सम्वन्धमा कम्पनीका अध्यक्ष आनन्द वगडियाले कम्पनीले प्रदान गर्ने सेवा र सुविधाको अवधारणा अधिक जनमानस सामु पुर्याउन श्रेष्ठको भुमिका महत्वपुर्ण रहने बताएका छन् । यसैगरी श्रेष्ठले सञ्चालक पदमा आफुले युवाको नेतृत्व गर्ने भएकोले गौरवान्वित महसुस गरेको बताएकी छिन् । साथै विश्वभरी कृषी क्षेत्रमा रूपान्तरण ल्याउन महत्वपुर्ण रहेको वैज्ञानिक अन्न भण्डारण र वेयरहाउस रिसिप्ट जस्ता सेवा हरू नेपाली कृषकमाझ पुर्याउन र नेपाली कृषी क्षेत्रको आधुनिकिकरणमा आफुले अनवरत प्रयास गर्ने विचार व्यक्त गरेकी छिन् ।
प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
काठमाडौं । प्रभु बैंकमा रिक्त रहेको सञ्चालक समितिमा दुई सञ्चालक नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको दुई सञ्चालक पदमा नयाँ नियुक्ति गरेको हो । बैंकले संस्थापक सेयरधनीको समूहबाट रिक्त रहेको सञ्चालक पदमा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ४ बिशालनगर बस्ने किशोर जंग कार्की (प्रतिनिधि क्लाउड मण्डप प्रा.लि.) लाई नियुक्त गरेको छ । सर्वसाधारण समूहबाट रिक्त रहेको सञ्चालक पदमा ललितपुर महानगरपालिका-१५ खुमलटार बस्ने भावना बलायरलाई नियुक्त गरेको छ। बैंकले एक सूचना जारी गर्दै सो निर्णय गरेको जानकारी दिएको हो ।