राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो । विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।
गरिमा क्यापिटलको सञ्चालक समिति हेरफेर
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले सञ्चालक समिति हेरफेर गरेकाे छ । मंगलबार कम्पनीले प्रेस विज्ञप्तिमार्फत सञ्चालक समिति हेरफेर भएको जानकारी दिएको हो । कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट स्वतन्त्र सञ्चालकका रूपमा नैना नेपाल ढकाल नियुक्त भएकी छन् । साथै, गरिमा विकास बैंकलाई प्रतिनिधित्व गर्ने गरी सञ्जुप्रसाद जैसवाल सञ्चालकका रूपमा नियुक्त भएको क्यापिटलले जानकारी दिएकाे छ । कम्पनीका अनुसार कम्पनी सचिवमा अशोक सुवेदी, स्वतन्त्र सञ्चालकमा महेशप्रसाद काफ्ले, अध्यक्षमा दीपक पाण्डे, सञ्चालकमा सञ्जुप्रसाद जैसवाल, निवर्तमान सञ्चालकमा माधवप्रसाद उपाध्याय, स्वतन्त्र सञ्चालकमा नैना नेपाल ढकाल, सञ्चालकमा अनिल रेग्मी र प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् ।
राठीकोलको ब्रान्ड एम्बासडरमा राजेश हमाल नियुक्त
काठमाडौं । ‘महानायक’को रूपमा परिचित अभिनेता राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार काठमाडौंको पाँचतारे मेरियट होटेलमा आयोजित एक पत्रकार भेटघाट समारोहबिच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन्। हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए। उनले हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे। अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेशनल प्राइड’को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए । उनले कैयन विदेशी ब्रान्डहरूलाई जित्दै आफ्नो वर्चस्व कायम गर्न सफल रहेको बताउँदै यसको गुणस्तरको विश्वास लिएपछि मात्र एम्बासडर बन्न राजी भएको बताए । उनले भने, “निकै वर्ष पहिले ‘राठीकोल’को चाखलाग्दो विज्ञापन आउँदा नै मैले यो ब्रान्डबारे थाहा पाएको थिएँ, पछिसम्म मेरो मानसपटलमा यो रहिरहेको रहेछ।” राठीकोलका सीइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने बताए।