सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त, बैंकिङ क्षेत्रमा साढे तीन दशक लामो अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चालकमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंकको असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको छ । बैठकले सोमबारदेखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको सञ्चालकमा नियुक्त गरेको हो । नव नियुक्त सञ्चालक ज्ञवालीसँग बैंकिङ क्षेत्रमा करिव साढे तीन दशक लामो अनुभव रहेको छ । शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सकेका छन् । वाणिज्य बैंकमा सहायक प्रबन्धक बाट बैंकिङ पेशा सुरु गरेका ज्ञवालीसँग नेपालका ठूला २ वटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ । ज्ञवाली यस अघि पनि यस बैंकको सञ्चालकमा रहिसकेको अनुभव समेत रहेको छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट करिव १८ लाख ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

सिन्धु विकास बैंकको अध्यक्षमा २ साता पनि टिकिनन् निभा, दामोदर सुवेदी चयन

काठमाडौं । गत असार १३ गते सिन्धु विकास बैंकको अध्यक्षमा निभा डंगोल श्रेष्ठ चयन भइन् । बैंक सञ्चालक समितिको असार १३ गते बसेको ४३२औँ बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गर्याे । राजेन्द्र कुमार श्रेष्ठ बैंकको अध्यक्ष तथा संचालक पदमा वहाल नरहेपछि निभा डंगोल श्रेष्ठलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसअघि बैंकको अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ थिए । तर, २ साता नपुग्दै सञ्चालक समितिले निभा डंगोल श्रेष्ठलाई हटाएर अर्काे व्यक्तिलाई अध्यक्ष बनाएको छ । बैंकको असार २२ गते बसेको ४३३औँ बैकठले दामोदर प्रसाद सुवेदीलाई बैंकको अध्यक्ष बनाउने निर्णय गरेको छ । सुवेदी कर्मचारी संचय कोषको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेका हुन् ।

राजदूत भट्टराई मोनाकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र फ्रान्सका लागि नेपालका आवासीय राजदूत सुधीर भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत भट्टराईलाई मोनाकोका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।