मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त, बरिष्ठ तीन सचिव असन्तुष्ट

काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वरियतामा चौथो स्थानमा रहेतापनि अर्याललाई मुख्यसचिव बनाइएको छ । सचिवमा अर्यालभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । अर्याल नायबसुब्बाबाट विसं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । अर्यालले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्नेछन् ।

चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।

दिनेश आमात्यले पाए आइएमई लाइफको कामु सीईओको जिम्मेवारी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिनेश बहादुर आमात्य नियुक्त भएका छन् । भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) आमात्यलाई कामु सीईओको जिम्मेवारी दिएको कम्पनी सचिव प्रकाश न्यौपानेले जानकारी दिए । एमबीएसम्म अध्ययन गरेका आमात्यले सन् १९९२ मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबाट बीमा करियर सुरु गरेका हुन् । उनले नेशनल लाइफमा सन् २००७ सम्म विभिन्न विभागमा अधिकृत पदमा कार्यरत रहेर काम गरेका थिए । सुर्या लाइफ इन्स्योरेन्समा सन् २००८ देखि सन् २०१७ सम्म सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका आमात्य सन् २०१७ देखि हालसम्म आइएमई लाइफमा आवद्ध छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयालको पदावधि सकिएपछि बाहिरिएका थिए । २०७७ मा कम्पनीको सीईओको जिम्मेवारी सम्हालेका फुयाँलको गत शुक्रबार चार वर्षे कार्यकाल सकिएपछि बाहिरिएका हुन् ।