ग्लोबल आइएमई बैंकको सञ्चालकमा भट्टराई नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । साउन १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘बैंक सञ्चालक समितिको ४४३ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त काठमाडौंमा बस्ने श्रीमति भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय भएको व्यहोरा अनुरोध गर्दछौं’, नेप्सेले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
एनआईसी एशिया लघुवित्तका नवनियुक्त सीईओ जोशीले लिए सपथ
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चोलराज शर्मा जोशीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नव नियुक्त सीईओ चोलराज शर्मा जोशीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ बमोजिम साउन ७ गते संस्थाका अध्यक्ष प्रकाश राज शर्मा समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका हुन् । लघुवित्त क्षेत्रमा करिब २९ वर्षको लामो कार्य अनुभव भएका चोलराज शर्मा जोशीले मानविकी र सामाजिक विज्ञानमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् ।
युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त
वासिङ्टन डिसी । नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त भएका छन् । नियोगकी प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले शुक्रबार युएसएआइडीको मुख्यालय डिसीमा उनको शपथ गराएका छन् । कार्यक्रममा नेपाली दूतावासकातर्फबाट कायममुकायम राजदूत कुमार खरेलले सहभागिता जनाएका थिए । उक्त अवसरमा खरेलले युएसएआइडीसँग नेपालको विकास साझेदारीको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगको निरन्तरताका लागि अनुरोध गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत समान्था पावरले विगत वर्षमा आफूले नेपाल भ्रमण गर्दाको बखतको विविध पक्षका बारेमा स्मरण गरेका थिए ।