गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ
काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीका कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको असोज १८ गते बसेको सञ्चालक समिति बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको वरिष्ठ प्रबन्धक दिपक न्यौपानेले जानकारी दिए । सहायक महाप्रबन्धक रहेका श्रेष्ठले असोज २३ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सम्हालेका हुन् । यस्तै, ४ वर्ष नपुग्दै कम्पनीबाट बाहिरिएका सन्तोष कुमार घिमिरेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ । वि.सं २०७८ माघ १९ गते कम्पनीको सीईओमा नियुक्त भएका घिमिरे ४ वर्षे कार्यकाल पुरा नहुँदै कम्पनीबाट बाहिरिएका हुन् ।
कृषि विकास बैंकको सञ्चालक बने सहसचिव डा. केसी
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले असोज २० गते बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ ग्रहण गरेको कम्पनीका सचिव हिमलाल पौडेलले जानकारी दिए । डा. केसी हाल कृषि तथा पशुपंक्षी मन्त्रालयको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् । उनी मन्त्रालयको प्रवक्ता समेत हुन् ।
क्यान महासंघका अध्यक्ष रणजित कुमार पोदार विट्साको कोषाध्यक्षमा निर्वाचित
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष रणजित कुमार पोदार वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स विट्साको कोषाध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार (असोज १८) आर्मेनियाको येरेभानमा भएको विट्साको महाधिवेशनबाट पोदार सन् २०२४–२६ कार्यकालको निम्ति कोषाध्यक्षमा निर्विरोध चयन भएका हुन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा लामो अनुभव सँगालेका पोदारले २०७९ पुसदेखि क्यान महासंघको नेतृत्व गर्दै आएका छन् । विट्सामा कोषाध्यक्ष पदमा निर्वाचित भएपछि पोदारले भने, ‘विट्साको प्रतिनिधित्व गर्दा विश्वभरिका ८० भन्दा बढी सूचना प्रविधि संस्थाहरूसँग सहकार्य गरेर प्रविधिको विकासमा योगदान दिने अवसर पाएको छु । सूचना प्रविधि क्षेत्रमा नेपाललाई विश्वव्यापी मञ्चमा स्थापित गर्ने प्रयास गर्नेछु ।’ यसलाई आफूले क्यान महासंघको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो उपस्थिति र भूमिकाको स्पष्ट प्रमाणका रूपमा हेरेको पोदारले बताए । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले पोदारको सफल नेतृत्वले क्यान महासंघलाई विश्वव्यापी स्तरमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । ‘विट्सामा उहाँको प्रतिनिधित्वले नेपालमा प्रविधिको पहुँच र डिजिटल अर्थतन्त्रलाई थप सबल बनाउने हाम्रो प्रयासमा सहयोग पुर्याउनेछ’, उनले भने । विट्साको नवगठित २० सदस्यीय समितिमा विश्वका पाँच महादेशबाट प्रतिनिधिहरू छन्, जसमा मलेसिया, ब्राजिल, नेपाल, दक्षिण अफ्रिका, बंगलादेश, जापान लगायतका देशका सूचना प्रविधि विशेषज्ञहरू रहेका छन् । विट्सामा यसअघि दुई पटकसम्म क्यान महासंघका पूर्वअध्यक्ष हेमन्त चौरासियाले कोषाध्यक्षका रूपमा सफल कार्यकाल निभाएका थिए ।