आइएमई रेमिट्यान्सको सीईओमा दिवाकर पौडेल नियुक्त
काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिवाकर पौडेल नियुक्त भएका छन् । जीएमई रेमिट्यान्ससँग मर्जरपछि आइएमई रेमिट्यान्सको सीईओमा पौडेल नियुक्त भएका हुन् । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमईले जीएमई रेमिटलाई प्राप्ति गरेर आज (साउन ३० गते)देखि एकीकृत कारोबार सुरु गरेको हो । जीएमई प्राप्तिपछि आइएमई लिमिटेडको नामबाट कारोबार सुरु गरेको यस कम्पनीमा सीईओको जिम्मेवारी पौडेललाई दिइएको हो । पौडेल यसअघि साविक जीएमई रेमिट्यान्सका सीईओ थिए । ९० करोड रुपैयाँ पुँजी रहेको आइएमईले २५ करोड रुपैयाँ पुँजी भएको जीएमई गाभेपिछि चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । रेमिट्यान्स कारोबार रकमका आधारमा आइएमई नम्बर वान कम्पनी हो ।
पारवहनको महाप्रबन्धकमा पोखरेल र खाद्य कम्पनीमा आचार्य नियुक्त, काँग्रेस र एमालेबीच भागवण्डा
काठमाडौं । सरकारले दुई महत्वपूर्ण संस्थाको नेतृत्वमा दुई जनालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पारवहन तथा गोदाम कम्पनीको रिक्त महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेल (ईलाम) लाई नियुक्त गरेको छ भने खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा ३ जनाको नाम सिफारिस गरेको थियो । जेठ २३ गते आह्वान गरेको विज्ञापनमा आवेदन दिएकामध्ये अन्तर्वार्ता र प्रस्तुतीकरणबाट ३ जना छनोटमा परेका थिए । मन्त्रालयले बैतडीका कर्ण बहादुर कुँवर, काठमाडौंका गोपाल घिमिरे र इलामका प्रकाशप्रसाद पोखरेल सिफारिस गरेको थियो। ती जनामध्येबाट सरकारले पोखरेललाई महाप्रबन्धकमा नियुक्त गरेको हो । पाेखरेल नेकपा एमाले निकट मानिन्छन् । उनी यसअघि नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन)को प्रमुख कार्यकारी अधिकृत थिए । नेफ्स्कुनबाट बाहिरिएपछि उनले विभिन्न ठाउँमा आवेदन पनि दिएका थिए । उनले यसअघि सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि पनि आवेदन दिएक थिए । तर, उनी सर्टलिष्टबाटै बाहिरिएका थिए । यस्तै, खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको महाप्रबन्धकमा नियुक्त भएका आचार्य धादिङका हुन् । उनी नेपाली काँग्रेस निकट रहेको बुझिएको छ । उनी यसअघि नेपाल उद्योग वाणिज्य महासंघमा कर्मचारी थिए । मन्त्रिपरिषद् बैठकले एसियाली विकास बैंकबाट सिँचाइसम्बन्धी परियोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११० मिलियन (करिब १४ अर्ब ६३ करोड सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर (१ अर्ब ९९ करोड) अनुदान स्विकार्ने सम्बन्धमा नेपाल सरकारका तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ ।
आईएमई लाइफका सीईओ फुँयालको दोस्रो कार्यकाल स्वीकृत
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालको दोस्रो कार्यकालका लागि निर्णय गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेस भएकोमा प्राधिकरणबाट २०८१ श्रावण २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको छ ।