अन्जु श्रेष्ठ बनिन् हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमख कार्यकरी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । सञ्चालक समितिको भदौ २७ गते बसेको बैठकले कम्पनीको सीईओमा श्रेष्ठलाई नियुक्त गरेको हो । ललितपुर महानगरपालिका १० ज्वागल निवासी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी सीईओमा नियुक्त गरेको कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेले जानकारी दिए । उनी ४ वर्षका लागि सीईओमा नियुक्त भएकी हुन् । गत असार १३ गते विजयबहादुर शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट बर्खास्त गरेपछि श्रेष्ठलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी जिम्मेवारी दिइएको थियो । यसअघि श्रेष्ठ सोही कम्पनीमा डेपुटी सीईओको भूमिकामा थिइन् । लामो समयदेखि बीमा क्षेत्रमा आवद्द श्रेष्ठ साविक हिमालयन जनरल इन्स्योरेन्समा विभिन्न पद रहेर काम गरेकी हुन् । उनको पुनर्बीमामा विशेष दख्खलता रहेको छ ।
अर्थ मन्त्रालयका सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त
काठमाडौं । दीर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैंकको बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा दीर्घराज मैनाली मनोनयन भएका छन् । नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको सहसचिव पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य दीर्घराज मैनालीलाई बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराएका थिए । उक्त अवसरमा कृषि विकास बैंकका सञ्चालक सदस्यहरु संजिव कुमार कर्ण, गोविन्द प्रसाद भट्टराई संजिव पौडेल, विनोद कुमार गुरांगाई, श्रीमती रीता सुवेदी कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीताले गरिन् पदबहाली
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदबहाली गरेकी छन् । अर्यालले आइतबार पदबहाली गरेकी हुन् । भदाै २० गते बसेकाे मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रबन्ध निर्देशकमा नियुक्त गरेकाे थियाे । उनकाे नियुक्तिको पदावधि चार वर्ष रहेकाे छ । यसअघि प्रबन्ध निर्देशक अर्यालले नेपाल टेलिकमकाे निमित्त प्रबन्ध निर्देशककाे जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छन् । उनी २०४९ चैत्र २३ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् । यसैगरी, अर्याल २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै पदको गरिमा र सबैको आफूप्रतिको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजान आफ्नो पूर्ण ऊर्जा खर्चिने बताइन् ।