कामना सेवा विकास बैंकको सञ्चालकमा शर्मा नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालकमा डा पवन कुमार शर्मा नियुक्त भएका छन् । साउन १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले साउन १५ गतेबाट नै कार्यभार सम्हाल्नेछन् ।
नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा भण्डारी नियुक्त
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयद्वारा गठित कलेज सञ्चालन समितिको २९ औं बैठकले कार्यवाहक प्राचार्यको भूमिकामा रहेका भण्डारीलाई प्राचार्यमा नियुक्त गरेको हो । कार्यवाहक प्राचार्य हुनु अगाडी भण्डारीले कलेजको सह–प्राचार्य र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन विभागको प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए । सन् २००१ देखि नै कलेजमा आबद्ध भण्डारीले पुल्चोक क्याम्पसबाट इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा मास्टर्स गरेका छन् । इन्जिनियरिङ विधालाई सर्वप्रिय बनाउन र कलेजको शैक्षिक, प्रशासनिक क्षमता अभिबृद्धि गर्न गराउन १० महिनादेखि कुशलतापूर्वक कार्यवाहक प्राचार्यको भूमिका निर्वाह गरेएका भण्डारीलाई नै प्राचार्य नियुक्त गरिएको नेक सञ्चालक समितिका अध्यक्ष जीवन खत्रीले बताए । ‘कलेजको शैक्षिक कृयाकलाप र गरिमालाई खस्किन नदिन, कलेजका समस्याहरुलाई समाधान गर्न उनीहाँ सक्षम छन् भनेर नै हामीले सबै प्रकृया पुरा गरेर प्राचार्यमा नियुक्त गरेका छौं । यो पदमा रहेर उहाँले सबै पक्षलाई समेटेर कलेजको विकास, विद्यार्थीको हित र शैक्षिक कृयाकलाप गर्नुहुनेछ भन्नेमा हामी विस्वस्त छौं ।’ नवनियुक्त प्राचार्य भण्डारीलाई नियुक्ति पत्र दिँदै अध्यक्ष खत्रीले कलेजको सर्वाङ्गिण विकासका लागि जस्तोसुकै सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताए । पदभार ग्रहण गर्दै नवनियुक्त प्राचार्य भण्डारीले कलेजको शैक्षिक स्तर सुधार्न आफू प्रतिबद्ध भएर लाग्ने बताए । उनले कलेजमा समय सापेक्ष नयाँ कार्यक्रम थप गर्ने, प्रशासनिक, भौतिक र आर्थिक समस्याहरु सुधार्ने, शिक्षक कर्मचारीको वृत्ति विकासमा आफू कलेजका सबै पक्षसँग सहकार्य र छलफल गरेर अगाडी बढ्ने बताए । ‘प्राचार्य पदको दायित्व र जिम्मेवारी बोध हुँदैगर्दा यो कलेजलाई कसरी अगाडी बढाउने अध्ययन गरेको छु । अहिलेको ज्वलन्त समस्या शिक्षाको गुणस्तर नै हो । अध्ययनरत विद्यार्थीहरुको लागि शिक्षाको गुणस्तर सुधार्नु हाम्रो दायित्व हो । अहिलेको अवस्थामा विद्यार्थीहरु नेपालमा अध्ययन नगरी बाहिर जाने फ्लो बढेको छ । यसबाट हाम्रो कलेज पनि मारमा परेको छ । यी सबै विषयहरुमा सञ्चालक समिति, विद्यार्थी, शिक्षक र कर्मचारीसँग हातेमालो गरेर म अगाडी बढ्नेछु ।’ पदभार ग्रहण गर्दै प्राचार्य भण्डारीले भने । कार्यक्रममा कलेज सञ्चालन समिति सदस्य नरेश खड्काले नेपाल इन्जिनियरिङ कलेजको शैक्षिक, आर्थिक, प्रशासनिक क्षमता विकास गर्दै कलेजलाई नयाँ उचाईमा पुर्याउन प्राचार्य पदमा भण्डारीलाई नियुक्त गरिएको बताए । ‘कलेजको सर्वोत्तम हितमा प्राचार्य भण्डारी र उहाँको टीमले गरेको हरेक निर्णयलाई सञ्चालक समितिले स्वीकार गर्ने उनको भनाई छ । शिक्षक कर्मचारीका तर्फबाट बोल्दै सह–प्राध्यापक यमकृष्ण पौडेलले प्राचार्यको नियुक्तिसँगै कलेजमा रहेको द्विविधा हटेर गएको भन्दै आउँदा दिनहरुमा कलेजलाई सौहार्दपूर्ण रुपमा अगाडी बढाएर लैजाने सवालमा साथ र सहकार्य रहने बताए ।
चेम्बरको साइबार सुरक्षा सल्लाहकार चिरञ्जीवी अधिकारी नियुक्त
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साइबार सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साइबार सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई मनोनयन गरेका हुन् । अधिकारी क्यान महासंघको महासचिव, सेन्टर फर साइबार सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशनका निवर्तमान अध्यक्ष, इन्फरमेशन सेक्युरिटी रेस्पोन्स टिम नेपालका अध्यक्ष हुन् । विगत दुई दशकदेखि साइबर सुरक्षा विषयमा प्राध्यापन समेत गर्दै आएका अधिकारी हाल सफ्ट्वरिका कलेज र टेक्सास कलेजमा अध्यापन गर्दै आएका छन् । अधिकारीले प्राविधिक रूपमा विभिन्न ग्लोबल सर्टिफिकेट प्राप्त गरेका छन साथै इन्फर्मेसन सेक्युरिटी, आईटी गभर्नेन्स, साइबर सेक्युरिटी, साइबर सेक्युरिटीमा एआई र इन्फर्मेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमका महत्वपूर्ण विषयमा काम गरेका छन् । चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले साइबार सुरक्षाको विषयमा आवश्यक सहयोग, सुझाव पाउने विश्वास लिएको उल्लेख गरेका छन् । चेम्बर अफ कमर्शका आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिका अध्यक्ष विज्ञान श्रेष्ठ रहेका छन् ।