कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनयन भएका छन् । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई पार्टीको केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ, बैंकिङ क्षेत्रमा १४ वर्षको अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् । डिजिटल बैंकिङ लाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने २,५०,००० रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् । साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउने बैंकले जनाएको छ ।

सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी

काठमाडौं । सिन्धु विकास बैंकको कम्पनी सचिवमा पुष्कर जिसी नियुक्त भएका छन् । मंसिर ३ गते बसेको बैंक सञ्चालक समितिको बेठकले जिसीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकका कायम मुकायम नायव प्रबन्धक पनि हुन् । ‘यस विकास बैंकको सञ्चालक समितिको मंसिर ३ गते सम्पन्न ४४१औं बैठकको निर्णय बमोजिम बैंकका कामु नायब प्रबन्धक पुष्कर जिसीलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरिएको छ,’ नेप्सेको सुचनमा उल्लेख छ ।