फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको अध्यक्ष बने गोल्ड मेडलिष्ट राजा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले अध्यक्षमा अर्याललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विजय शर्माले जानकारी दिए । लघुवित्तको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै अर्याल संचालक सदस्य बनेका हुन् । यसअघि बैंकको प्रतिनिधित्व गर्दै सुरेन्द्र राज रेग्मी संचालक थिए । रेग्मी बैंकको सीईओ बनेपछि बाँकी अवधिका लागि अर्याललाई सञ्चालक बनाएर पठाएको हो । हाल ग्लोबल आईएमई बैंकको सहायक महाप्रबन्धक (एजीएम) को रूपमा काम गरिरहका छन् । अर्यालसँग प्रमुख वित्तीय अधिकृत, प्रमुख रिकभरी अधिकारी, प्रमुख अनुपालन अधिकारी, प्रदेश प्रमुख, प्रमुख अनुपालन अधिकारी जस्ता महत्वपूर्ण रणनीतिक पदहरूमा २० वर्षको बैंकिङ अनुभव छ । अर्याल विगत १७ वर्षदेखि ग्लोबल आइएमई बैंकमा कार्यरत छन् । उनले पोखरा विश्वविद्यालयबाट एमबीए गरेका हुन् । उनी स्वर्ण पदक (गोल्ड मेडलिष्ट) पनि हुन् ।
मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त, बरिष्ठ तीन सचिव असन्तुष्ट
काठमाडौं । नेपाल सरकारले मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह सचिव रहेका अर्याललाई भदौ १६ गतेदेखि लागू हुने गरी मुख्यसचिवमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण शुक्रबारबाट अवकाश हुने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । वरियतामा चौथो स्थानमा रहेतापनि अर्याललाई मुख्यसचिव बनाइएको छ । सचिवमा अर्यालभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए । अर्याल नायबसुब्बाबाट विसं २०४६ सालमा निजामती सेवामा प्रवेश गरेका थिए । अर्यालले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्नेछन् ।
चलचित्र विकास बोर्डको अध्यक्ष बने दिनेस डिसी
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा इलामका दिनेस डिसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी डीसी सत्तारुढ दल नेकपा (एमाले) निकट जनपक्षीय चलचित्रकर्मी सङ्घको अध्यक्ष एवं चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् ।