कर्पोरेट डेभलपमेन्ट बैंकको सीईओमा लालबहादुर थिङ
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले १८ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । बैंक सञ्चालक समितिको असोज ३० गते सबेको बैठकले लालबहादुर थिङलाई सीईओमा नियुक्त गरेको हो । थिङ आगामी चार वर्षका लागि बैंकको सीईओमा नियुक्त भएका हुन् । यसअघि त्रिलोकध्वज जोशीले विसं २०८० साउन २५ गते राजीनामा दिएपछि कायमुकायम सीईओको जिम्मेवारी बिपिनराज पोख्रेललाई दिइएको थियो । तर, बैंकले करिब १८ महिनापछि सीईओ पाएको हो ।
गोर्खाज फाइनान्सको कामु सीईओमा मुकुन्द श्रेष्ठ
काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीका कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकुन्द श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको असोज १८ गते बसेको सञ्चालक समिति बैठकले अर्काे व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिएको वरिष्ठ प्रबन्धक दिपक न्यौपानेले जानकारी दिए । सहायक महाप्रबन्धक रहेका श्रेष्ठले असोज २३ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी सम्हालेका हुन् । यस्तै, ४ वर्ष नपुग्दै कम्पनीबाट बाहिरिएका सन्तोष कुमार घिमिरेले दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ । वि.सं २०७८ माघ १९ गते कम्पनीको सीईओमा नियुक्त भएका घिमिरे ४ वर्षे कार्यकाल पुरा नहुँदै कम्पनीबाट बाहिरिएका हुन् ।
कृषि विकास बैंकको सञ्चालक बने सहसचिव डा. केसी
काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा सहसचिव डा. हरी बहादुर केसी नियुक्त भएका छन् । असोज ११ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरको बैठकले केसीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले असोज २० गते बैंकको सञ्चालक समितिको सदस्यको रुपमा सपथ ग्रहण गरेको कम्पनीका सचिव हिमलाल पौडेलले जानकारी दिए । डा. केसी हाल कृषि तथा पशुपंक्षी मन्त्रालयको खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाको प्रमुखको जिम्मेवारीमा छन् । उनी मन्त्रालयको प्रवक्ता समेत हुन् ।