निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा राजन खनाल नियुक्त

काठमाडौं, १९ कात्तिक । मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा अर्थ मन्त्रालय, राजस्व सचिव राजन खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले ख्वपः विश्वविद्यालयसम्बन्धी विधेयकलाई थप छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए। सिंहदरबारमा शुक्रबार बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको उपेक्षित, उत्पीडित तथा दलित उत्थान विकास समितिको कार्यकारी निर्देशकमा डा वुद्धिबहादुर नेपालीलाई मनोनयन तथा स्वास्थ्य मन्त्रालयअन्तर्गतका विकास समितिहरुका अध्यक्ष नियुक्तिका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । रासस

एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा सोमेश्वर सेठ नियुक्त

काठमाडौं, १९ कात्तिक । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सोमेश्वर सेठ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले सेठलाई ४ वर्षे कार्यकालको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । सेठले कात्तिक १६ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् । अब उनले आगामी ४ वर्ष सम्म एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रहरीमा ३७ सय पद रिक्त, खुला प्रतिस्पर्धाबाट छान्ने काम पनि अगाडि बढेन

काठमाडौं १२, कात्तिक । काठमाडौं –नेपाल प्रहरीमा खुल्ला प्रतिस्पर्धाबाट लिइने प्रहरी जवान, प्रहरी सहायक निरीक्षक र प्रहरी निरीक्षकको २ हजार ४ सय ७४ पद रिक्त छ । प्रहरी प्रधान कार्यालयले भने ६ सय ३७ जनाका लागि मात्रै भर्ना खुल्ला गरेको छ । सार्वजनिक कार्यक्रमहरूमा प्रहरी नेतृत्वले अपराध अनुसन्धान र शान्ति सुरक्षामा जनशक्ति अभाव रहेको तर्क गर्दै आएको छ । प्रधान कार्यालयको मानवस्रोत विभागका अनुसार संगठनमा प्रहरी कार्यालय सहायकदेखि डीआईजीसम्म ३ हजार ७ सय ९७ पद रिक्त छ । तर, त्यसलाई पूर्ति गर्न नयाँ भर्ना र बढुवा प्रक्रिया अगाडि बढाइएको छैन । प्रहरी प्रवक्ता हेमन्त मल्लका अनुसार प्रहरी निरीक्षकमा ८६ र प्रहरी सहायक निरीक्षक ९असई० मा ५ सय ५१ पदका लागि भर्ना आहवान भएको छ । मानवस्रोत विभागको तथ्यांकमा प्रहरी निरीक्षकमा २ सय ४ र असईको ७ सय १० पद रिक्त छ । खुल्ला प्रतिस्पर्धाबाट छानिने प्रहरी जवानको १ हजार ८ सय ३७ पद रिक्त भए पनि भर्ना प्रक्रिया सुरु भएको छैन । कान्तिपुर दैनिकबाट ।