महिला नेतृत्वले हाँक्दै मुलुक, राष्ट्राध्यक्ष, संसद र न्यायलयपछि निजी क्षेत्रको नेतृत्वमा पनि महिला
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघकी नवनिर्वाचित अध्यक्ष भवानी राणाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार महासंघ सचिवालय टेकुमा निवर्तमान अध्यक्ष पशुपति मुरारकाले पद हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष राणा, बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यले सपथ ग्रहण गरेका छन् । महासंघको नयाँ कार्यसमितिका लागि मंगलबार निर्वाचन भएको थियो । महासंघको ५२ वर्ष पुरानो इतिहासमा राणाले पहिलो महिला अध्यक्ष हुने सौभाग्य प्राप्त गर्नुभएको हो । महासंघको संशोधित विधानअनुसार उहाँ स्वतः अध्यक्ष हुनुभएको हो । संशोधित विधानमा बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको छ । उहाँले पदभार ग्रहण गर्दै तीन वर्षे कार्यकालका लागि २६ बुँदे कार्ययोजनासमेत घोषणा गर्नुभयो । उहाँले सबै उद्योगी व्यवसायीलाई एकतावद्ध गरेर आर्थिक समृद्धिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्ष राणाले मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग सशक्त सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ । निवर्तमान अध्यक्ष मुरारकाले अगाडि बढाएका काम कार्यान्वयन गर्ने पहिलो प्राथमिकता भएको उहाँले बताउनुभयो । नेपालबाट वार्षिक साढे चार लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । बिदेसीने युवाशक्तिलाई स्वदेशमै रोक्नका लागि सातवटै प्रदेशमा टेक्निकल स्कुल खोल्न पहल गरिने उहाँको घोषणा छ ।
लिथुआनियाको नेपालका लागि महावाणिज्य दूतमा शोभाकर न्यौपाने नियुक्त
काठमाडौं । अम्बे ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शोभाकर (हरि) न्यौपाने गणतन्त्र लिथु आनियाको नेपालका लागि महावाणिज्य दूत नियुक्त भएका छन् । परराष्ट्र मन्त्रालयले आयोजना गरेको विशेष कार्यक्रमबाट उनी सो पदका लागि नियुक्त भएका हुन् । कार्यक्रममा न्यौपानेलाई सम्बन्धित निकायका प्रमुखले सो सम्बन्धी प्रमाण पत्र प्रदान गरेका थिए ।
एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त
काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । बैठकले कंसाकारलाई संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । कंसाकारको कार्यकाल चैत २१ गतेदेखि नै शुरु भएको छ ।