सहयोगि विकास बैंकको कामु सीईओमा सुन्दर खड्का, बैंकिङ क्षेत्रमा ३० वर्ष बढीको अनुभव
काठमाडौं । सहयोगि विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(कामु सीईओ)मा सुन्दर खड्का नियुक्त भएका छन् । गत जेठ २२ गते बसेको विकास बैंकको सञ्चालक समितिको बैठकले खड्कालाई संस्थाको कामु सीईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि संस्थाको सीईओ पदको कार्यभार विनय रिजालले सम्हालेका थिए । उनले जेठ २६ गतेदेखि लागू हुने गरी उक्त पदबाट राजिनामा दिएका थिए । सोही रिक्त हुन आएको सीईओ पदमा संस्थाले जेठ २६ गतेदेखि लागू हुने गरी कामु सीईओको रुपमा खड्कालाई नियुक्त गरेको हो । नवनियुक्त सीईओ खड्का नागरिक लघुवित्त वित्तीय संस्थाको पूर्व एमडी र अरनिको डेभलमपेन्ट बैंकको पूर्व डीसीईओ थिए । त्यस्तै, बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढीको अनुभव रहेका खड्का सूर्य डेभलपमेन्ट बैंकमा पूर्व सीईओको रुपमा कार्यरत थिए ।
सनराइज बैंकको कमाण्ड निरज श्रेष्ठको काँधमा, बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव
काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा निरज श्रेष्ठ नियुक्त भएका छन् । असार २ गतेदेखि कार्यभार सम्हाल्ने गरि जेष्ठ २२ गते बुधबारको सञ्चालक समिति बैठकले निर्णय गरेको बैंकका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए । वित्तिय क्षेत्रमा श्रेष्ठले प्राप्त गरेको अनुभव र बैंकलाई अघि बढाउने योजनाका आधारमा आगामी ४ वर्षका लागि सिइओ नियुक्त गरिएको अध्यक्ष दुगडले बताए । बैंकमा जेष्ठ १ गतेदेखि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो । बैंकले २२ दिनभित्रै नयाँ सिइओ नियुक्त गर्न सफल भएको हो । सन् १९८९ देखि बैंकिङ करियर शुरु गरेका श्रेष्ठले बैंकिङ क्षेत्रमा २९ वर्षको अनुभव संगालिसकेका छन् । श्रेष्ठ यस अघि माछापुच्छ्रे बैंकको सीईओ रुपमा कार्यरत थिए । माछापुच्छ्रे बैंकबाटै श्रेष्ठले प्रमुख कार्यकारी अधिकृतका रुपमा डेब्यु गरेका थिए । सिइओका रुपमा डेब्यु गरेको बैंकबाट एक वर्ष कार्यकाल बाँकी छँदै बाहिरिएका उनलाई सनराइजले दोश्रो अवसर जुटाईदिएको हो । नारायणचौर, नक्साल निवासी श्रेष्ठले तत्कालीन ग्रिण्डलेज बैंक लिमिटेड (हाल स्टाण्डर्ड चार्टर्ड बैंक लिमिटेड) मा ईस्वी सम्बत १९८९ बाट सेवा प्रारम्भ गरी करिब १३ बर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी उनले एस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा करिब ३ बर्ष जिम्मेवारी सम्हालेका छन् । तत्कालीन एनआईसी बैंक लिमिटेड (हालको एनआईसी एशिया बैंक लि.) मा करिब ९ बर्ष महाप्रबन्धक पदमा रही कार्य गरेका थिए । ग्लोबल आईएमई बैंक लिमिटेडमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा र सो पश्चात माछापुच्छ्रे बैक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारी सम्हालेका थिए । ‘उहाँको इनर्जीबाट बैंकले नयाँ उचाई पाउँछ भन्ने अपेक्षासहित जिम्मेवारी दिएका हौं, छनौट समिति र सञ्चालक समितिबाट एक मतले उहाँलाई छानिएको छ, बैंक अझै उचाईमा जाने आश गरेका छौं ।’, अध्यक्ष दुगडले भने । यसअघि सनराइज बैंकको सीईओको कार्यभार रत्नराज बज्राचार्यले सम्हालेका थिए । बज्राचार्यकाे चार वर्षे कार्यकाल सकिएपछि कामु सीईओको जिम्मेवारी आशा राणा अधिकारीले सम्हालेकी थिइन् ।
मुक्तिनाथ विकास बैंकको डेपुटी सिइओमा समिरशेखर बज्राचार्य नियुक्त
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.को नायब प्रमुख कार्यकारी अधिकृत(डेपुटी सिइओ)मा समिरशेखर बज्राचार्य नियुक्त भएका छन् ।त्रिभुवन विश्व विद्यालयबाट एमबिए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए । उनीसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।