सिबिआइएल क्यापिटलको कामु सिइओमा नवराज गिरी नियुक्त
काठमाडौँ । सिबिआइएल क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत नवराज गिरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा नियुक्त भएका छन् । संस्थाका प्रमुख कार्यकारी अधिकृत समिर दाहाल मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिमिटडको सहायक प्रमुख कार्यकारी अधिकृतमा पदस्थापना भएका कारण प्रमुख कार्यकारी अधिकृत पद रिक्त हुँदै थियो । समितिको बैशाख १७ गते बसेको बैठकले बैशाख २० गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृत(सिइओ) मा गिरीलाई नियुक्त गरेको हो । सिटिजन्स बैंकको सहायक कम्पनीका रुपमा रहेको सिबिआइएल क्यापिटलमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा प्रतिष्ठित उद्योगी व्यापारीहरुको लगानी रहेको छ ।
सेञ्चुरी बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा राजेशकुमार श्रेष्ठ पुनः चयन भएका छन् । बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो । श्रेष्ठ ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् । बैंकको साधारण सभाले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूँजीको २५ बराबरको बोनस शेयर र ४.५०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको बैंकले जनाएको छ ।
सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त
काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक प्रमुख कार्यकारी अधिकृतमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका दाहाल बैशाख २० गतेबाट लागु हुने गरी बैंककाे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । १६ वर्षअघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित छन् । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा बैंकसंग आबद्ध भएका दाहाल यसअघि बैंकको भगिनी संस्था सिविआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । उनले वित्त तथा योजना तर्जुमा विभाग, आईटी, संचालन विभाग, कर्जा प्रशासन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन् ।