सिबिआईएल क्यापिटलको अध्यक्षमा समिर दाहाल, सिईओमा नवराज गिरी नियुक्त
काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडको अध्यक्षमा समिरप्रसाद दाहाल नियुक्त भएका छन् । मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेशनल लिको तर्फबाट मनोनित भई अध्यक्ष रहेका बोधराज देवकोटाले व्यक्तिगत कारण देखाई राजीनामा दिएपछि अध्यक्ष पद खाली रहेको थियो । रिक्त अध्यक्ष पदमा साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिरप्रसाद दाहाललाई बाँकी अवधिसम्मको लागि अध्यक्षमा नियुक्त गरेको कम्पनीका सिईओ नवराज गिरीले जनाएका छन् । यसैबीच, सिबिआईएल क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा नवराज गिरी नियुक्त भएका छन् । बैशाख १ गतेदेखि कामु सिइओका रुपमा कार्यरत गिरीलाई साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि नै लागू हुने गरी सिईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशक भन्दा बढी हिमालयन बैंक लिमिटेडमा विभिन्न शाखा प्रमुखका रुपमा र विभिन्न विभागमा विभागीय प्रमुखका रुपमा साथै उच्च व्यवस्थापनमा रही लामो अनुभव बटुलेका गिरी मार्केटिङ, जनसम्पर्क, बैंकिङ अपरेशन, जोखिम व्यवस्थापन तथा कर्जा व्यवस्थापनमा विशेष दख्खल राख्छन् ।
विहीबारदेखि जनकशर्मा पौड्यालले सम्हाले सनराइज बैंकमा सिईओको कार्यभार
काठमाडौँ । सनराइज बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीइओ) जनकशर्मा पौड्यालले विहीबारदेखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । सनराइज बैंक लिमिटेडको संचालक समितिको असार २७ गते बसेको बैठक रिक्त रहेको सीईओ पदमा जनकशर्मा पौड्याललाई नियुक्त गरेको थियो । सीईओ पौड्यालले तत्कालीन नेपाल अरब बैंक लिमिटेड (हाल नबिल बैैक लिमिटेड)मा ईस्वी सम्बत १९८७ बाट सेवा प्रवेश गरी करिब ११ वर्षको कार्यानुभव लिएका छन् । त्यसैगरी, एनआईसी बैंक लिमिटेड(हालको एनआईसी एशिया) मा ५ वर्ष र लक्ष्मी बैंक लिमिटेडमा करिब २ वर्षको कार्य गरेका थिए । अध्ययनको लागि बेलायत गएको र बेलायत स्थित बार्कलेज् बैंकमा करिब ४ वर्ष ६ महिना कार्य समेत गरेका थिए । बेलायतबाट फर्के लगत्तै ग्लोबल आईएमई बैंक लिमिटेडको विभिन्न उच्चपदमा कार्यरत रही ११ बर्ष कार्य गरी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । ग्लोबल आईएमई क्यापिटल लिमिटेडको स्थापना गरी सोको संचालक÷अध्यक्ष भएको अनुभव समेत रहेको छ । उनले बैंकिङ्ग क्षेत्रमा ३२ बर्षभन्दा बढी कार्य गरिसकेका छन् ।
तिनाउ मिसन डेभलपमेन्ट बैंकको सिइओमा प्रदीपकुमार श्रेष्ठ नियुक्त
काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा सम्पनी सचिवमा प्रदीपकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई ४ वर्षका लागि नियुक्त गरेको बैंकका प्रबन्धक सुदर्शन थैवले बताए ।