उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त
काठमाडाैं । उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो । उनको कार्यकाल चार वर्षको रहनेछ । उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो । सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिंडारी थिए । न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एशोसिएशनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसकेका छन् । उनी यसैगरी, नागरिक ट्रष्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध छन् । उनी शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहेका छन् । अर्थविज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायी न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गरेका छन् । हाल उनी माछापुच्छ्रे बैंकका सञ्चालक समेत छन् । उनीसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरीमा महाप्रबन्धकका रुपमा दुई दशक लामो समय काम गरेको अनुभवसमेत छ । उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । सरकारले दुई वर्षपछि आफूलाई महाप्रबन्धकमा नियुक्त गरेको न्यौपानेले जानकारी दिए ।
ग्लोबल आईएमई लघुवित्तको कामु सीईओमा हरिकृष्ण जोशी नियुक्त
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । पुस १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो । नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत समेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो । यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसका साथै, बैठकले पुस १६ गतेदेखि नै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।
नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई सर्वसम्मत चयन
काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहित कुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरु मध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । यसअघि कम्पनीकाे अध्यक्ष पदकाे जिम्मेवारी रमेश कुमार निरौलाले सम्हालेका थिए । कम्पनीका संस्थापक सेयरधनी निरौलाले एसभीआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए । उनलाई एसभीआरले फिर्ता बोलाएपछि कम्पनीकाे अध्यक्ष पद रिक्त रहेकाे थियाे ।