१ अर्ब २१ करोडको मादी पुल अन्तिम चरणमा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको सोमबार (आज) निरीक्षण गरेका छन् ।  निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ ।  तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का एक अर्ब २१ करोड रुपैयाँमा दिइएको हो ।  मन्त्री लम्सालले आजै मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन-पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

हेडफोन कानमा, हिमाल आँखैमा: नाम्चेमा सम्पन्न भयो अनोठो ‘साइलेन्ट कन्सर्ट’

काठमाडौं । टल्किएका हिमशृङ्खला । सगरमाथाको प्रवेशद्वार मानिने सुन्दर नाम्चे बजार । हिमालकै श्रृङ्खला मुनी रहेको (३,४४०) हेलिप्याड । जहाँ प्रकृतिको शान्त वातावरण । अर्कोतिर संगीतको धुन । कुनै ठूलो लाउडस्पिकरको कोलाहल थिएन । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा नाम्चेले नौलो सांगीतिक अनुभव महसुस गर्ने अवसर पायो । हाइल्याण्ड कलेक्टिभ र ३३ डिग्री स्काइ वेस्ट स्काइबारको संयुक्त आयोजनामा नाम्चेमा ‘साइलेन्ट सेसन हाइल्याण्ड एक्सिपरियन्स’ सम्पन्न भएको हो । विश्वकै प्रसिद्ध हिमाली क्षेत्रमा आयोजित यस कार्यक्रमले परम्परागत कन्सर्टको परिभाषालाई बदलिदिएको थियो ।  साइलेन्ट सेसन (शान्त सत्र) को अवधारणा अनुरूप सहभागीहरूले विशेष वायरलेस हेडफोन लगाएर संगीतको आनन्द लिएका थिए ।  हेडफोनभित्र चर्चित डीजेहरू फिन्जेक, नोर्चेन, डिक्छु र तेन्जीलेको ऊर्जावान् र जादुमयी सांगीतिक धुन गुन्जिरहेको थियो ।  हेडफोनबाहिर हिमाली पर्यावरणको प्राकृतिक शितलता लिन पाइरहेका थिए । स्वच्छ हिमाली हावा, मनोरम दृश्य र संगीतको अद्भूत संयोजनले उपस्थित सबैलाई उत्साहित बनाइरहेको थियो । संगीतको तालमा दर्शकहरू घण्टौँसम्म झुमिरहेका देखिन्थे । नौलो प्रस्तुतीमा सहभागी हुन करिब १५० जना संगीतप्रेमी पुगेका थिए । साहसिक अनुभवको खोजीमा रहेका उनीहरू नाम्चे पुगेका थिए । आन्तरिक मात्र नभई बाह्य पर्यटकहरूको समेत सहभागिता थियो । हिमाल आरोहण र पदयात्राका लागि मात्र चिनिने नाम्चेमा मनोरञ्जनको हिस्सा बन्न पाउनु आफ्ना लागि जीवनभरकै अविस्मरणीय अनुभव भएको सहभागीहरूले बताए । हिमालको फेदमुनी यस्तो प्रयोगलाई सफल पार्न नाम्चेबजारका स्थानीयबासीको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण थियो । कठिन र उचाइको क्षेत्रमा यस्तो कार्यक्रम व्यवस्थापन गर्नु चुनौतीपूर्ण थियो । स्थानीयबासीले मन खोलेर सहयोग गरेका थिए । सगरमाथाको काखमा आयोजित यस कार्यक्रमले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक पर्यटन र आधुनिक मनोरञ्जनलाई विश्वसामु प्रस्तुत गर्ने अवसर प्रदान गरेको ३३ डिग्री स्काइ वेस्ट बारका अध्यक्ष रबिन श्रेष्ठले बताए । यस्ता कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट तथा पर्यटनका लागि नयाँ गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुर्‍याउँने उनको भनाइ छ । मनोरञ्जनमा मात्र सीमित नभइ यसले नेपाली पर्यटन क्षेत्रमा एउटा नयाँ सम्भावनाको ढोका समेत खोलेको श्रेष्ठले बताए ।  उनका अनुसार अनुसार साहसिक पर्यटन, संगीत र मनोरञ्जनलाई एउटै मञ्चमा जोड्ने यो प्रयासले नेपालका हिमाली गन्तव्यहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकारात्मक योगदान पुर्‍याउनेछ । नाम्चे बजार केवल हिमाल आरोहणको प्रवेशद्वार मात्र नभएर विश्वस्तरीय मनोरञ्जन र सांगीतिक इभेन्टहरूको लागि पनि गन्तव्य बनेको छ ।   नेपालका हिमाली क्षेत्रहरूलाई विश्वस्तरीय ‘इभेन्ट गन्तव्य’ का रूपमा स्थापित गर्ने लक्ष्यका साथ विभिन्न नयाँ अवधारणाहरूमा यस्ता कार्यक्रमहरू निरन्तर आयोजना गर्दै जाने प्रतिबद्धता आयोजक जनाएका छन् ।

संविधान संशोधनका लागि नागरिकबाट ४४ हजार बढी सुझाव

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट ४४ हजार ६१३ सुझाव प्राप्त गरेको छ । कार्यदलको सचिवालयले यही जेठ ८ गते एक सूचना जारी गर्दै संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो । सोही सूचनाअनुसार नागरिकले लिखित सुझाव दिएका हुन् । कार्यदलका सदस्यसचिव लिलाधर सुवेदीले १९ हजार २३९ इमेलमार्फत र २५ हजार ३७४ सुझाव सामाजिक सञ्जाल ह्वट्सएपमार्फत प्राप्त भएका जानकारी दिए । कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्न गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो । कार्यकारी राष्ट्रपति, सङ्घीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनःसंरचना र पुनरावलोकन, निर्वाचन प्रणालीमा सुधार, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति, जनप्रतिनिधिको योग्यता तोक्नुपर्नेलगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएका सदस्यसचिव सुवेदीले जानकारी दिए । उनका अनुसार कार्यदलले प्राप्त सुझावहरू अध्ययन गरिरहेको छ ।