पर्वतमा ५ सय मिटर तल खस्यो जिप, वडा सदस्यको निधन

काठमाडौं । पर्वत जिल्लाको कुश्मा नगरपालिका-१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिप सडकबाट करिब ५ सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार आर्थरडाँडाखर्कस्थित वडा कार्यालयबाट चरीपानीतर्फ जाँदै गरेको ग१ज ५८६५ नम्बरको जिप अँधेरीनेटा भन्ने स्थानमा दुर्घटना हुँदा वडासदस्य ५२ वर्षीय केशवराज पौडेलको निधन भएको हो ।  टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारको लागि पोखरा लगिएकामा चिकित्सकले  मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालक सोही वडाकै २७ वर्षीय बुद्धिसागर पौडेल र ४६ वर्षीय राजेन्द्र पौडेल घाइते भएका छन् । दुवै जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

काभ्रेमा ४७९ बस्ती जोखिममा, स्थानान्तरण नगरी निगरानीमा राखिने

काठमाडौं । मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जोखिममा रहेको बस्तीको विवरण सार्वजनिक गरिएको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गरेका थिए । गुरागाईंद्वारा प्रस्तुत तथ्यांकअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका छन् । १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए । उनले भने, ‘हालको अवस्थामा स्थानान्तरण गर्न सकिँदैन, ती बस्तीलाई निगरानीमा राखेर विपद्ले क्षति पुर्‍याए, स्थानीय सुरक्षाकर्मीद्वारा ‘क्वीक रेस्पोन्स’ गर्नसम्म सकिन्छ ।’ उनका अनुसार जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त छैन । बैठकमा स्थानीय तहलाई युवा लक्षित विपद् प्रतिकार्यको तालिम दिन तथा विपद्पछि राहत उद्धारका लागि सकेसम्म आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ । समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्यांकका आधारमा उक्त जनसंख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको हो । ‘विशेषगरी यस वर्षको बाढीपहिरोले जिल्लाका रोसी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चा खोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौं,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अधिकारीले भने । उनका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह बाढी पहिरोको उच्च जोखिममा छन् । समितिलाई स्थानीय तहद्वारा प्राप्त तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी बेथानचोक गाउँपालिकामा करिब १०० बस्ती र सबैभन्दा कम चौँरी देउराली गाउँपालिकामा पाँच बस्ती उच्च जोखिममा छन् । यस्तै, धुलिखेल नगरमा २५, बनेपा र नमोबुद्ध नगरमा ५०/५०, पाँचखाल नगरमा ८३, पनौती नगरमा १५, मण्डनदेउपुर नगरमा १५ तथा तेमाल गाउँपालिकामा ३५, रोशी गाउँपालिकामा १२, भुम्लु गाउँपालिकामा ४०, खानीखोला गाउँपालिकामा ३० र महाभारत गाउँपालिकामा १९ परिवार विपद्को जोखिममा रहेका छन् । विसं २०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्तामा सूचीकृत भएका छन् । कार्यालयका अनुसार उक्त घटनामा ७५ जना घाइते भएका थिए । बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना थिए । त्यतिबेला काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन । काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यीमध्ये २१ विद्यार्थी थिए ।

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, धुलो र जाम घट्दै

काठमाडौं । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल-नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल-नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् । सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा सुधार देखिएको छ । वि.सं. २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर हाल काम सम्पन्नतर्फ उन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् । आयोजना पूरा भएपछि बुटवल-नारायणगढ सडक खण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।