सवारी दुर्घटनामा एक जनाको मृत्यु, १८ घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ धाराढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।  हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन् ।  प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौंको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको हो ।  दुर्घटनामा काभ्रेको पनौती नगरपालिका-१ घर भई हाल काठमाडौं बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजप्रसाद कुर्मी बताए । उनका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र सात जनाको अवस्था सामान्य रहेको छ । उनीहरूको काठमाडौंस्थित बीएण्डबी अस्पताल, बौद्ध अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरूमा काभ्रे घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ३० वर्षीय जुनुबाबु तामाङ, सुनसरी घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षीय समीर उरम, महोत्तरी घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय रवि मगर, नुवाकोट घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय टङ्कबहादुर तामाङ र काभ्रे पनौती घर भई हाल ललितपुर हात्तीवन बस्ने ३० वर्षीय रोहन तामाङ रहेका छन् । काभ्रे कोशीपारी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय कुमार खरेल, काभ्रे घरभई हाल काठमाडौं पेप्सीकोला बस्ने २४ वर्षीय रोशन लामा, काभ्रे पनौती घरभई हाल काठमाडौं बस्ने २८ वर्षीय सुरेश लामा, काभ्रे घर भई हाल काठमाडौं जडिबुटी बस्ने २६ वर्षीय सुरेश तामाङ, महोत्तरी बर्दिवास घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ४४ वर्षीय कृष्णबहादुर सुसलिङ, सोलुखुम्बू घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय गोपी खड्का र रामेछाप घर भई हाल काठमाडौं जडिबुटी बस्ने २१ वर्षीय गुणराज भुजेल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । महोत्तरी घर भई हाल काठमाडौं बस्ने २० वर्षीय कविर मगर, रामेछाप घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय सविन मगर, ओखलढुङ्गा घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय अर्जुन मगर, काभ्रे घर भई हाल काठमाडौं बस्ने १० वर्षीय शिशिर तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका-६ निवासी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौं चन्द्रागिरि नगरपालिका-९ निवासी ४५ वर्षीया शान्ति महर्जन घाइते भएका छन् ।

आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन

काठमाडौं । सहरी विकासमन्त्री सुनिल लम्सालले आगामी असार २५ गतेभित्रै कमला पुल सञ्चालन हुने गरी काम गर्न निर्देशन दिएका छन् । शनिबार (आज) पुलको अनुगमन गर्दै उनले निर्माण कम्पनीलाई भासिएको स्ल्याबको काम पूर्णरूपमा सम्पन्न गरी महिना दिनभित्रै पुल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।  मन्त्री लम्सालले पुल निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्थापन गर्न सरकार तयार रहेकाले कुनै समस्या नहुने स्पष्ट पारे । निरीक्षण टोलीमा सिरहा-१ का सांसद बब्लु गुप्ता, क्षेत्र नं २ का सांसद शिवशङ्कर यादव, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका योजना प्रमुख कृष्णकुमार महतो र सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतको सहभागिता रहेको थियो । यसअघि स्थानीय बासिन्दाले आव २०८३/८४ को बजेटमा सरकारले कमला पुलको पुनःनिर्माणका लागि आवश्यक बजेट विनियोजन नगरेको भन्दै गुनासो पोख्दै आएका थिए । पुल समयमै नबन्दा यस क्षेत्रका जनताले वर्षौंदेखि आवतजावतमा सास्ती भोग्दै आएका छन् । स्थानीय युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) औरही गाउँपालिकाका सभापति सन्तोष यादवले मन्त्री लम्सालको निर्देशनबारे जानकारी दिँदै भने, 'मन्त्रीले कमला पुलको निरीक्षण गरी ठेकेदारलाई काम चाँडो सक्न निर्देशन दिनुभएको छ । उहाँले आर्थिक समस्या नहुने भन्दै प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएकाले स्थानीयमा केही आशा जागेको छ । पुल निर्माण भएमा वर्षौंदेखिको सास्ती हट्ने छ ।' विसं २०६८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौताअनुसार काम गरिएकामा पटकपटक म्याद थपेर विसं २०७८ असारमा पुल निर्माण अन्तिम चरणमा पुगेको थियो । लगत्तै सोही असारमा आएको बाढीले दुई वटा पिलर भासिएर चार वटा स्ल्याबमा गम्भीर क्षति पु¥याएपछि पुल सञ्चालनमा आउन सकेन । निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले आगामी असार मसान्त अर्थात्  तोकिएको समय सीमाभित्रै काम सम्पन्न गर्ने लक्ष्यका साथ आफूहरू लागिरहेको बताए ।   

हुरीले फेवातालमा फसेका १२ पर्यटकको उद्धार

काठमाडौं । पोखरा महानगरपालिका-६ बैदामस्थित फेवा तालमा ‘बोटिङ’ गर्ने क्रममा हुरीका कारण समस्यामा परेका १२ पर्यटकको उद्धार गरिएको छ ।   शनिबार (आज) दिउँसो ४ः३० बजे फेवा तालमा अचानक हुरीका आएपछि तालमा फसेका स्वदेशी तथा विदेशी पर्यटकको सशस्त्र प्रहरी बल नेपाल नं २४ गण हेडक्वाटरको टोलीले उद्धार गरेको हो ।  उद्धार गरिएकाहरूमा तनहुँको दमौलीका २३ वर्षीय सुदीप बस्नेत, काठमाडौंका २४ वर्षीय सरोज सिम्खडा, १७ वर्षीय आयुष चौलागार्इ, २१ वर्षीय सागर क्षेत्री, १९ वर्षीया विनिता श्रेष्ठ, २६ वर्षीय रुसाल चौधरी रहेका छन् ।  साथै कास्कीको पोखरा महानगरपालिका-५ पस्र्याङका २३ वर्षीया झरना गुरुङ, १२ वर्षीय क्रिस श्रेष्ठ, १६ वर्षीया सुदीक्षा पौडेल, १६ वर्षीय अङ्कल ढकाल, १५ वर्षीय प्रितम नेपाली र जापानबाट घुम्न आएउनुभएकी ४८ वर्षीया एक महिलासहित १२ जनाको उद्धार गरिएको थियो ।  उद्धार गरिएका सबैको अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नेपाल, नं २४ गण हेडक्वाटर मालेपाटनका प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहले जानकारी दिए ।   उनका अनुसार ती व्यक्तिहरू तालको बीचमा सर्फेस बोट र प्याडल बोटमा हुरीका कारण समस्यामा परेका थिए । लगत्तै फेवातालमा स्थापना गरिएको ‘फेवा रेस्क्यू टावर’ मा खटिएका सशस्त्र प्रहरीको १० सदस्यीय टोलीले उद्धार गरेको थियो ।