काठमाडौं । गृह मन्त्रालयमा शुक्रबार साँझ केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । अपराह्न ५ बजेदेखि जारी बैठकको अध्यक्षता गृहमन्त्री सुधन गुरुङले गरिरहेका छन् ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागसहित चारवटै सुरक्षा निकायका उच्च अधिकारी सहभागी भएका छन् ।
मंगलबार पुनः गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि गुरुङले पहिलो पटक सुरक्षा समितिको बैठक बोलाएका हुन् ।
यसअघि वैशाख ९ गते गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र शाहले आफैं सम्हाल्दै आएका थिए । सो अवधिमा सुरक्षा निकायका प्रमुखहरूले गृह मन्त्रालयसँग सम्बन्धित विषयमा विभागीय मन्त्रीसमक्ष प्रत्यक्ष रूपमा जानकारी गराउने अवसर पाएका थिएनन् ।
गुरुङ पुनः गृहमन्त्री नियुक्त भएपछि बसेको यो पहिलो केन्द्रीय सुरक्षा समितिको बैठक हो । यसअघि पनि उनी गृहमन्त्री नियुक्त भएको पहिलो दिनमै बैठक राखेर भीआईपीहरुलाई पक्राउ गरेका थिए ।