काठमाडौं । प्रतिनिधिसभामा कार्य सञ्चालन सम्बन्धी नियमावली पारित भएपछि विपक्षी दलहरूले आगामी संसदीय रणनीति तय गर्न बैठक बोलाएका छन् ।
प्रमुख प्रतिपक्षी दलसहित विपक्षी दलहरूको बैठक आज मध्याह्न १२ बजे कांग्रेस संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ । बैठकमा संसदमा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलका क्रममा विपक्षी दलहरूले अपनाउने साझा रणनीतिबारे छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार बैठकमा बजेटका विभिन्न पक्षहरूको समीक्षा गर्दै सरकारका नीति तथा कार्यक्रम र बजेटका कमजोरीहरू संसदमा कसरी उठाउने भन्ने विषयमा धारणा निर्माण गरिनेछ । साथै, बजेटमाथिको छलफलमा विपक्षी दलहरूबीच समन्वय कायम गर्ने र संसदमा प्रभावकारी ढंगले प्रस्तुत हुने विषयमा पनि निर्णय गरिने जनाइएको छ ।
प्रतिनिधिसभाले हालै नियमावली पारित गरेपछि संसदको नियमित विधायी तथा बजेट सम्बन्धी प्रक्रिया अघि बढेको छ । यही सन्दर्भमा विपक्षी दलहरूले बजेट बहसलाई केन्द्रमा राख्दै आफ्नो रणनीति तय गर्न संयुक्त बैठक आयोजना गर्न लागेका हुन् ।