पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड २५ लाख, आकार घट्यो
काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सात अर्ब १५ करोड २५ लाख रुपैयाँ बजेट ल्याएको छ । महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले आज (शुक्रबार) पोखरा सभागृहमा बसेको १९औं नगरसभामा बजेट कार्यक्रम प्रस्तुत गरेकी हुन् । चालु वर्षमा आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बजेट ल्याएको महानगरले आगामी वर्षका लागि बजेटको आकार घटाएको हो । आगामी वर्षको बजेट चालुको भन्दा एक अर्ब १९ करोड ८७ लाख रुपैयाँले न्यून हो । बजेटका स्रोतहरूमा सङ्घीय सरकार सशर्त अनुदानबाट दुई अर्ब ६१ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान पाँच करोड ५० लाख रुपैयाँ, समपूरक अनुदान एक करोड ८२ लाख रुपैयाँ र सङ्घीय सरकार समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ ६० लाख, विशेष अनुदान र ४० लाख रुपैयाँ र समानीकरण अनुदान आठ करोड १५ लाख ३६ हजार रुपैयाँ अनुमान गरिएको उपप्रमुख गुरुङले जानकारी दिइन् । राजस्व बाँडफाँटबापत सङ्घीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार रुपैयाँ, गण्डकी प्रदेश सरकारबाट चार करोड नौ लाख ८६ हजार रुपैयाँ, राजस्व बाँडफाँट स्थानीय सरकारतर्फ एक अर्ब ३१ लाख १४ हजार रुपैयाँ र आन्तरिक स्रोततर्फ दुई अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ गरी कुल आन्तरिक आय तीन अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ अनुमान गरिएको छ । महागनरको वित्तीय स्थायित्व कायम गर्दै राजस्व दायरा विस्तार, पर्यटकीय राजधानी पोखराको आर्थिक गतिविधि विस्तार गरी रोजगारी अभिवृद्धि र वातावरणमैत्री र दिगो सहरी विकास प्रवर्द्धन गर्नु बजेटका उद्देश्य रहेको उपप्रमुख गुरुङले बताइन् । “चालु खर्चलाई वाञ्छित सीमाभित्र राख्ने, राजस्व सुधार योजना कार्यान्वयन, निजी क्षेत्रको लगानी आकर्षित, पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा आकर्षण गर्ने र आधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण बजेटका प्राथमिकता क्षेत्रहरू हुन्”, उपप्रमुख गुरुङले भनिन् । महानगरले आगामी वर्षमा फिर्केखोला कोरिडोर पोखरा बसपार्क लगायतका महानगर क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमित जग्गा संरक्षण र व्यवस्थापनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार तथा सहरी विकासतर्फ ६१ सडक आयोजना पूरा गर्नका लागि ५५ करोड ५० लाख ६३ हजार रुपैयाँ विनियोजन गरेको छ । पोखरा सभागृह पुनर्निर्माणका लागि पाँच करोड रुपैयाँ छुट्याइएको छ । शिशुवा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि एक करोड २० लाख रुपैयाँ र गण्डकी बहुप्राविधिक शिक्षालयका लागि दुई करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरको फोहरमैला ढुवानी तथा व्यवस्थापनका लागि १५ करोड रुपैयाँ र प्रभावित क्षेत्रका लागि थप पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् । निर्माणाधीन तालचोक बेगनास सडकको बाँकी काम सम्पन्न गर्नका लागि १५ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी, विपद् जोखिम न्यूनीकरण र पुनःस्थापनाका लागि तीन करोड २४ लाख रुपैयाँ, सामुदायिक विद्यालयमा विद्यालय नर्स कार्यक्रमका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषिलाई आधुनिक व्यावसायिक र प्रतिस्पर्धी बनाउन तीन करोड ६८ लाख रुपैयाँ र उद्यम विकास, रोजगार सृजना तथा नवप्रवर्तनका लागि एक करोड २५ लाख रुपैयाँ छुट्याइएको छ । बजेट कार्यक्रममा पर्यटन प्रवर्द्धनका लागि ६० लाख रुपैयाँ, तथा खेल पर्यटनका लागि र ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ । महानगरले चालु वर्षमा विनियोजित बजेटमध्येमा जेठ मसान्तसम्म जम्मा ४० प्रतिशत खर्च भएको जनाएको छ । चालुतर्फ तीन अर्ब ५१ करोड ३२ लाख ८९ हजार रुपैयाँ र पुँजीगततर्फ चार अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँ अनुमान गरिएकामा चालुतर्फ दुई अर्ब १६ करोड ९७ लाख ५५ हजार रुपैयाँ र पुँजीगततर्फ एक अर्ब १७ करोड आठ लाख ६० हजार रुपैयाँमात्र खर्च भएको उपप्रमुख गुरुङले बताइन् ।
ललितपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार आयोजित नवौं नगर सभामा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । महानगरको अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकसँग महानगरपालिका भन्ने कार्यक्रमबाट हालसम्म १६ हजार २२० ज्येष्ठ नागरिक र ६७१ जना अपाङ्गता भएका व्यक्ति गरी कूल १६ हजार ८९१ लाभान्वित भएका छन् । त्यस्तै, हालसम्म महानगरले सञ्चालन गरेको एकद्वार सेवा केन्द्रबाट ३३ हजार जनाले सेवा लिएका छन् । महानगरले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा लगायतलाई प्राथमिकतामा राखेको छ ।
जेठ मसान्तसम्म ललितपुर महानगरको जम्मा ४० प्रतिशत मात्रै विकास बजेट खर्च
काठमाडौं । ललितपुर महानगरपालिकाको विकासलक्षित पुँजीगत खर्चको रफ्तार निकै सुस्त देखिएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा महानगरले आफ्नो कुल पूँजीगत बजेटको जम्मा ४० प्रतिशत मात्र खर्च गर्न सकेको छ । महानगरपालिकाले आफ्नो ९ औं नगरसभामा आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा चालु वर्षको यो वित्तीय प्रगति विवरण बाहिर ल्याएको हो । सार्वजनिक विवरण अनुसार जेठ मसान्तसम्ममा महानगरको चालू र पुँजीगत गरी कुल खर्च ५० प्रतिशत मात्र रहेको छ भने आन्तरिक आयतर्फको राजस्व संकलन ६५ प्रतिशत पुगेको छ ।