थापाथलीस्थित ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काइने
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग तत्काल नभत्काउने भएको छ । सम्पदा क्षेत्र खालि गराउने अभियानमा रहेको महानगर प्रहरी आइतबार बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगर प्रहरीले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अन्य अवैध भौतिक संरचना भत्काएको भएपनि प्रभाग नभत्काइने महानगरपालिका वडा न. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकारले बताए । प्रहरीहरुलाई बस्न समेत समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म भत्काउन नदिइने उनले बताए । उनले भने, ‘थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग अहिलेलाई नभत्काउन भनेको छु । प्रहरी कमाण्डरले हुन्छ भनेको छ । अहिले प्रहरीलाई बस्न समेत समस्या भएको कारणले पनि तत्काल नभत्काउन भनेको छु ।’ महानगरे सम्पदा जग्गा अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन लागेको थियो । यता ट्राफिकले भने २०३० सालदेखि स्थापना गरी बिट बसेको बताउँदै आएको छ ।
बैतडीको सुर्नया गाउँपालिकामा तीन सातादेखि तालाबन्दी
बैतडी । सूचनाको माग गर्दै जेनजी समूहले बैतडीको सुर्नया गाउँपालिकामा तीन हप्तादेखि गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । विभिन्न ११ बुँदे माग राख्दै गत असोज २४ गतेदेखि गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको जेनजी समूहका नेतृत्वकर्ता विशाल भट्टले बताए । उनले भने, ‘गाउँपालिकाको हितको लागि र पालिकामा सुशासन कायम गर्नका लागि माग अघि सारेका हौंँ । सूचनाको मागलाई तुरुन्तै कार्यान्वयन गर्नुपर्छ । नभए हामी तालाबन्दी खोल्ने पक्षमा छैनौंँ ।’ जेनजी समूहले २०७४ सालदेखि अहिलेसम्म सङ्घ, प्रदेश र स्थानीय तहबाट विनियोजन भई गाउँपालिकाभित्र कार्यान्वयन भएका योजना, आयोजना, विषयगत कार्यक्रम र खर्चको विवरण सार्वजनिक गर्न माग गरेका छन् । आर्थिक वर्ष २०८१–८२ को चालु र पुँजीगततर्फको गाउँपालिकाको सबै खर्च विवरण, जनप्रतिनिधि र कर्मचारीले लिएको घर भाडा, गाडी भाडा, भ्रमण भत्ता, इन्धन खर्च र मर्मत खर्चको छुट्टाछुट्टै विवरण र कार्यपालिकाको निर्णयको प्रतिलिपि उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । सुदूरपश्चिम प्रदेश, स्थानीय सेवा गठन तथा सञ्चालन ऐनअनुरूप र सङ्घीय मन्त्रिपरिषद्को निर्णयअनुरूप दरबन्दी विहीन करार कर्मचारीलाई हटाउनुपर्ने र माथिल्लो सरकारी निकायबाट वा सरकारबाट लागू गर्नु भनि आएका पत्र परिपत्रको कार्यान्वयन यथाशीघ्र गर्नुपर्ने पनि उनीहरुले माग राखेका छन् । महालेखा परीक्षकको प्रतिवेदन अनुसार र गाउँपालिकाबाट असुल गर्नुपर्ने भनी तोकिएको रकम तुरुन्त असुल गरी सार्वजनिक गर्नुपर्ने, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, यातायात, विपद् र खानेपानी जस्ता अति आवश्यक क्षेत्रका योजना तत्काल कार्यान्वयन गर्नुपर्ने, वडामा विनियोजन भएको मसलन्द खर्च १३ लाख ५० हजारलाई कटौती गरी नियमन गइनुपर्ने र युवाको क्षेत्रमा बजेट विनियोजन गरी तत्काल गाउँपालिकामा स्थानीय युवा परिषद् गठन गर्नुपर्ने उनीहरुको माग छ । तालाबन्दी गरेको तीन हप्तासम्म पटक–पटक वार्ता र संवाद भए पनि निष्कर्षमा पुग्न नसकिएको गाउँपालिकाका अध्यक्ष अम्मर कुँवरले बताए । तालाबन्दी खोल्ने विषयमा छलफल जारी राखेको र केही बुँदामा सहमति हुन बाँकी रहेकाले छलफल निरन्तर भइरहेको उनको भनाइ छ । उनले भने, ‘हामी निरन्तर छलफलमै छौंँ । केही बुँदाहरूमा सहमति हुन बाँकी रहेको छ । खास गरेर करारका कर्मचारी हटाउनुपर्ने विषयमा सहमति हुन सकेको छैन्’, उनले भने । करारका सबै कर्मचारी हटाउनुपर्ने मागमा पालिकाको तर्फबाट असहमति रहेको अध्यक्ष कुँवरले बताए । उनले भने, ‘करारका कर्मचारी हटाउँदा शिक्षा, स्वास्थ्य र प्रशासन क्षेत्र नै ठप्प हुन्छ । १७० जना करारका कर्मचारी एकैपटक बाहिरिन्छन् । विद्यालय, स्वास्थ्य संस्थासमेत बन्द हुने अवस्थामा पुग्छन् । त्यसैले यो विषयमा पुर्नविचार गर्न जेनजीलाई आग्रह गरेका छौंँ ।’ अध्यक्ष कुँवरले जेनजी समूहलाई पहिले तालाबन्दी खोल्नुपर्ने सर्त राखेको बताए । उनले भने, ‘गाउँपालिकामा तालाबन्दी गरेर हामीले कहाँबाट सूचना दिने, सर्वप्रथम तालाबन्दी खोलिनुपर्छ अनि सूचना दिने काम प्रक्रियागत रुपमा अगाडि बढ्छ ।’ रासस
गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ
काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा भएको विद्युत ट्रान्सफर्मर चोरी प्रकरणमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका सहोदर दाइ विष्णु पोखरेल पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणमा करारका कर्मचारी समेत रहेका विष्णु हाल जिल्ला प्रहरी कार्यालय, गुल्मीको हिरासतमा रहेका छन् । धुर्कोट गाउँपालिकाबाट केही समयको अन्तरालमा तीनवटा ट्रान्सफर्मर हराएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूका अनुसार खोजीका क्रममा ती ट्रान्सफर्मर स्थानीय कबाडी व्यवसायीहरूबाट बरामद भएका थिए । प्रहरीले अनुसन्धानका क्रममा तीन जना भारतीय कबाडी व्यवसायीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूले ट्रान्सफर्मर विष्णु पोखरेलले बेचेको बताएका थिए । सोही आधारमा पोखरेललाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकहरू बिकेस, पवन र अनिल कुमार रहेको जिल्ला प्रहरीको मुद्दा शाखाले जानकारी दिएको छ । विष्णु भुसाल र मधु नेपालीलाई पनि प्रहरीले पक्रिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सारुले जानकारी दिए ।