कार्यसम्पादन मूल्याङ्कनमा शुक्लाफाँटा नगरपालिका कञ्चनपुर जिल्लाकै उत्कृष्ट

कञ्चनपुर । कार्यसम्पादन मूल्याङ्कनमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । कार्यसम्पादन मूल्याङ्कनमा बढी अङ्क प्राप्त गरी नगरपालिकाले ५५ लाख अनुदान प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले नगरपालिकाले जिल्लामै सबै स्थानीय तहभन्दा बढी अनुदान रकम प्राप्त गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसनसिंह थापाले बताए । ‘कार्यसम्पादन मूल्याङ्कनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ’, उनले भने, ‘आउँदो आवका लागि समेत नतिजामुखी परिणाम ल्याउँछौं । कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अनुदान पाउन सफल भएका छाैँ ।’ नगरपालिकाले समानीकरण अनुदानअन्तर्गत न्यूनतम, सूत्रमा आधारित, कार्यसम्पादनमा आधारित गरी जम्मा ६९ लाख ४२ रकम प्राप्त गरेको छ । कार्यसम्पादन मूल्याङ्कनको नतिजाअनुसार सबैभन्दा बढी शुक्लाफाँटा नगरपालिकाले ५५ लाख, लालझाडी गाउँपालिकाले ५४ लाख, दोधरा चाँदनी र भीमदत्त नगरपालिकाले समान ४९/४९ लाख, बेदकोट र पुर्नवास नगरपालिकाले ४८/४८ लाख, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले समान ३५ लाखका दरले अनुदान रकम पाएका छन् । प्रमुख प्रशासकीय अधिकृत थापाका अनुसार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (२) को व्यवस्थाबमोजिम स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय अनुदान सिफारिस गर्दा कार्यसम्पादनको स्तरलाई आधार लिइने गरिन्छ । कार्यसम्पादन स्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नु पर्ने न्यूनतम् प्रकृयागत कार्यसम्पादन गरे नगरेको, कानून तर्जुमा गरे नगरेको, उद्देश्यबमोजिम खर्च गरे नगरेकोलगायतका विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ । रासस

गैँडाकोट नगरपालिकाले मकै खेती प्रवद्र्धन गर्न किसानलाई ३६ लाख अनुदान दिने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले मकै खेतीको प्रवद्र्धनका लागि सहकारीमार्फत कृषकलाई अनुदान दिने भएको छ । गैँडाकोटमा मकै खेती प्रवद्र्धनका लागि नगरपालिकाले करिब ३६ लाख उपलब्ध गराउने भएको हो । पछिल्लो समय यहाँको नगर क्षेत्र मकै पकेट क्षेत्रका रुपमा प्रख्यात छ । मकै प्रवद्र्धनका लागि गैँडाकोट नगरपालिका र विनायक कृषि सहकारी संस्थाबीच सम्झौता भएर अनुदान वितरण गर्न लागिएको हो । नगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत सङ्घीय मकै प्रवद्र्धन कार्यक्रम अनुसार मकै खेती गर्नका लागि सहकारीसँग सम्झौता गरेर किसानलाई अनुदान उपलब्ध गराएको नगरप्रमुख छत्रराज पौडेलले बताए । कृषि सहकारीसँग भएको सम्झौताअनुसार नगर क्षेत्रको कम्तीमा ४६० हेक्टर क्षेत्रफलमा मकै खेती लगाएको हुनुपर्ने उनले बताए । मकै खेती लगाएवापत नगरपालिकाका तर्फबाट ३५ लाख ८८ हजार विनायक कृषि सहकारीलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको नगरप्रमुख पौडेलले बताए । तीस बिघा क्षेत्रफललाई एउटा क्लस्टर बनाएर मकै खेती गर्नुपर्ने सम्झौतामा जनाइएको छ । सम्झौता गरिएको सहकारीले क्लस्टरअनुसार मकै खेती व्यवस्थापन गर्नुपर्ने छ । अनुदान लिन चाहने कृषकको जग्गाको पुर्जाको प्रतिलिपि अनिवार्य गरिएको छ । विसं २०७८ जेठ मसान्तभित्र कार्य सक्नेगरी सम्झौता भएको छ । रासस

ललितपुर महानगरले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने

ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार कोभिड-१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड-१९ संक्रमित भइ उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए । त्यस्तै आइसियू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड-१९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरीने उनले जानकारी दिए । महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्र लगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ । महानगरभित्रका प्रत्येक वडामा पिसिआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको पनि प्रमुख महर्जनले बताए । उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको पनि बताए । वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयुसहितको ५० सैय्यको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० सैय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवसहित सञ्चालन गरिएको उनले जानकारी दिए ।