बडीमालिकाको बजेट साढे ५५ करोड, विमानस्थलका लागि सम्भाव्यता अध्ययन गरिने
मार्तडी । बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ । नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख कविता विष्टले कूल बजेटको पुँजीगततर्फ ५२.१० प्रतिशत अर्थात् २८ करोड ९२ लाख र चालूतर्फ ४७.८९ प्रतिशत अर्थात् रु २६ करोड ५८ लाख २८ हजार प्रस्ताव गरेको छ । कोरोनाका कारण सम्पन्न हुन नसकेका योजनाका लागि क्रमगत रुपमा बजेट विनियोजन गरेको नगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि एक करोड ५८ लाख र कृषि क्षेत्रका लागि रु ७० लाख ७० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रका लागि रु २५ करोड ३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा एक करोड ९१ लाख ६६ हजार र जनताको शासन जनमैत्री प्रशासन अभियानतर्फ ९ करोड ५६ लाख बजेट विनियोजन गरेको नगरपालिकाले बजेटमा विकास पूर्वाधार र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको छ । उपप्रमुख विष्टले नगरप्रमुखले ल्याउएकाे नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ बजेट लक्षित रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन हुने पनि जानकारी दिए । विधेयक तथा कार्यविधि पारित बडीमालिका नगरपालिकाको नवौं नगरसभाले विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको छ । सोमबार सम्पन्न सभाले नगरप्रमुख पद्म बडुवालले पेश गर्नुभएको विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ । पारित भएका विधेयकमा कर तथा गैरकर सम्बन्धी विधेयक—२०७८ रहेको छ । त्यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि २०७८, स्थानीय राजस्व समितिको कार्य सञ्चालन कार्यविधि २०७८, अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य सञ्चालन सम्बन्धी कार्यविधि २०७८, बडीमालिका नगरपालिका शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७८ र शिक्षा प्रतिकार्य योजना २०७८ लाई पनि सभाले पारित गरेको नगरप्रमुख बडुवालले बताए । यसैगरी न्यायिक समितिले पेश गरेको वार्षिक प्रतिवेदन पनि सभाले पारित गरेको नगरपालिकाले जनाएको छ । विमानस्थलको सम्भाव्यता अध्ययन गरिने नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरका गौरव आयोजना रुपमा लिएको वडा नं ९ स्थित उखाडी कवल्टामा बडीमालिका विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त देखिएमा निर्माण गर्ने नीति नगरपालिकाले लिएको हो । यसैगरी नगरपालिकाका वडा नं ५ बाहेकका सबै वडामा सडक संजाल पुर्याउने, स्थानीय उत्पादनको निर्यात र प्रवद्र्धन गर्ने तथा कोभिड— १९ को रोकथाम, उपचार र नियन्त्रण गरी नगरवासीलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने नीति नगरपालिकाको छ । नगर प्रमुख बडुवालले बुढीगङ्गा नदीको संरक्षण सम्बन्धी गुरुयोजना तयार गरी यसलाई नगरवासीको जिविकोपार्जनको वैकल्पिक माध्यमको रुपमा विकास गरिने बताउँदै नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको जानकारी दिए । रासस
चीन र भारतसँग सीमाना जोडिएका पालिकाहरु कोभिड नियन्त्रण र रोकथाम कसरी गर्दैछन् ?
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले अहिले विश्व नै आक्रान्त छ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी अपनाउँदै आएका छन् । कोभिडको महामारी अझै न्यूनीकरण हुन नसक्दा अन्य नयाँ रोग पत्ता लागेको पनि हामी सुनिरहेका छौं । दोस्रो लहरको कोरोना भाइरसले त यो अवस्था पुर्यायो छ झन् तेस्रो लहर पनि आयो भने त्यसको क्षति अनुमान गरेभन्दा भयावह हुने आकलन स्वास्थ्य विज्ञले गरेका छन् । कोरोना विरुद्धको खोप पत्ता लागिसकेपनि आवश्यकता अनुसार उत्पादन हुन नसक्दा धेरै मानिसहरूको मृत्यु भइसकेको छ । विश्वमा हालसम्म ३८ लाख ८८ हजार ८ सय ९४ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । नेपालमा पनि समुदायस्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । पछिल्लो समयमा संक्रमितहरू संख्या कम भएको आभाष छ । तर, परीक्षणको दायरालाई पनि घटाइँदै गएको छ । सङ्घीय र प्रदेश सरकारको तुलनामा स्थानीय सरकार कोरोना नियन्त्रणमा सक्रियताका साथ लागिपरेको अवस्था छ । पछिल्लो समयमा कोरोनाको संक्रमण घट्दै गएको कारण धेरै स्थानीय तहमा पनि निषेधाज्ञालाई खुकुलो बनाउने तयारी हुँदैछ । बिस्तारै विकास निर्माणको काम सञ्चालन गर्ने योजना बनिरहेको छ । महामारी नियन्त्रण गर्नको लागि सरकारले कतिपय कुराहरूमा ढिला सुस्ती गरेकै कारण महामारी व्यापक फैलिएको आरोप पनि लागिरहेको छ । स्थानीय सरकारका थुप्रै कमजोरी होलान् । तर यो महामारीको समयमा भने सक्रियता बढेकै छ । कोरोना नियन्त्रणमा स्थानीय तहको भूमिका प्रशंसनीय छ । आम नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । पछिल्लो समयमा दुर्गम स्थानीय तहमा कोरोनाको संक्रमण फैलिरहेको छ । कतिपय स्थानीय तहहरूमा त बिरामी राख्न सक्ने अस्पताल समेत छैनन् । कतै एम्बुलेन्स गुड्ने बाटो छैन । अति दुर्गमका स्थानीय तहमा तपाई हामीले व्याख्या गरेजस्तो सहज अवस्था छैन । तर, पनि उनीहरूले कोरोना नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेकै छन् । दुर्गमका ठाउँमा आवश्यक स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीका अभावले अकालमा नै धेरैले ज्यान गुमाएका छन् । भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरूको संख्या बढेको छ । पीसीआर परीक्षण नगरिएका तर संक्रमणको सम्भावना भएका व्यक्तिको छेउमा जोखिम मोलेरै जनप्रतिनिधिहरू पुगेका छन् । यसरी नै भारत र चीनसँग सिमना जोडिएका पालिकाले कोभिड रोकथाम र नियन्त्रण गर्नको लागि गरेका प्रयास यस्ता छन् भनेर यो सामग्री तयार पारिएको छ । भोटखोला गाउँपालिका यो गाउँपालिका प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा पर्छ भने यस पालीकाको सिमाना चीनसँग जोडिएको छ । यो गाउँपालिकामा अन्य पालिका जस्ता कोरोनाको प्रभाव परेको छैन । महामारी नियन्त्रण गर्नमा आवश्यक तयारी गरेको र पातलो बस्ती रहेको कारण कोरोनाको प्रभाव नपरेको गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बताउँछन् । गत वर्ष नै तयारी गरेको क्वारेन्टिन तथा स्वास्थ्य सामाग्रीको र संरचनाको प्रयोग यो वर्ष पनि पालिकाले गरेको पनि अध्यक्ष भोटे जनाए । हालसम्म पालिकाका ३ जना संक्रमित भएका छन् भने हाल उनीहरू पनि संक्रमणमुक्त भएका छन् । चीनको सिमाना किमाथाङ्का हेल्थडेस्क, क्वारेन्टिन व्यवस्थापन गरी सशस्त्र प्रहरी बल र स्वास्थ्यकर्मीहरु रहको पनि भोटेले जानकारी दिए । केही स्वास्थ्य सामाग्री पालिकालाई चीनले सहयोग पनि गरेको छ । चीन सम्पर्क गरी बोडरसम्म उनीहरूले स्वास्थ्य सामाग्री ल्याइदिएको र पालिकाले स्वास्थ्यको सामग्री बुझेको पनि अध्यक्ष भोटेले बताए । उनका अनुसार १७ महिनादेखि किमाथाङ्काबाट चीन जाने क्रम रोकिएको छ । किमाथाङ्कामा विकास निर्माणको काम गर्न पनि समस्या उनले बताए । किमाथाङ्कामा ७० प्रतिशत विकास निर्माणका काम गर्न नसकेको तथा किमाथाङ्का र चीनको सीमा तत्काल खोल्ने कुरा नभएको पनि उनले जानकारी दिए । कौडेना गाउँपालिका प्रदेश २ अन्तर्गत सर्लाही जिल्लामा यो गाउँपालिका पर्छ । यस गाउँपालिकामा पनि कोरोनाको प्रभाव परेको छैन । पालिकामा हालसम्म केही पनि संक्रमित नभएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद राय यादवले बताए । नागरिकको घर घरमा गई सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने तयारी रहेको पनि अध्यक्ष यादवको भनाई छ । पालिकाले नागरिकको स्वास्थ्यको परीक्षण गर्ने तयारी गर्दैछ । यस पालिका र अन्य ५ पालिका मिलेर सामुिहक रूपमा ४० बेडको आइसोलेसन तयार गरेका छन् । समुहिक रुपमा बनाएको आइसोलेसनमा पनि हालसम्म कुनै बिरामीलाई राख्नु पर्ने अवस्था नआएको पनि अध्यक्ष यादवले जानकारी दिए । महामारी नियन्त्रण गर्नका भारतको सिमानाकामा विष्णु गाउँपालिका र कौडेना गाउँपालिका मिलेर हेल्थडेक्सको स्थापना गरेको पनि उनले जानकारी दिए । सिमानाकाबाट मानिसहरू आउने क्रम रोकिएको र नाकामा सुरक्षा व्यवस्था पनि सबै पालिकमा मिलेर कठाई गरेको यादवले जनाए । पालिकाले आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि खरिद गरेको छ । भीमदत्त नगरपालिका यो नगरपालिका सुदुरपश्चिमाञ्चल प्रदेश अन्तरगतको कञ्चनपुर जिल्लामा पर्छ । विश्व भर महामारीको रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले भीमदत्त नगरपालिका पनि ठुलो असर पुर्याएको छ । नगरमा कोरोनाको प्रभाव परेसँगै आइसोलेसन, क्वारेन्टिन र भारतको नाकामा हेल्थडेस्कको स्थापना गरेको नगरपालिकाकी उप–प्रमुख सुशिला चन्द सिंह बताउछिन् । दोस्रो लहरको कोरोनाको प्रभाव पालिकामा परेसँगै १९ ओटै वडामा स्वास्थ्य सेवाको सुचारु गरेको पनि उपप्रमुख सिंहले बताइन् । नगरपालिकाले महाकाली अञ्चल अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्रीको वितरण गरेको छ । नगरले नर्सिङ क्याम्पसमा एक सय बेडको आइसोलेसन कक्षको स्थापना गरेको छ । आवश्यक परे नगरभित्र रहेका भवनलाई पनि आइसोलेसनको रूपमा प्रयोग गर्ने सिंहले जनाइन् । यस नगरपालिका भारतसँग सिमाना जोडिएको कारण बोर्डर व्यवस्थापन गर्न पनि लागिपरेको छ । नगरले भारतबाट फर्किनेहरूको सिमानामा प्रहरी र स्वास्थ्यकर्मीले स्वास्थ्य अवस्था बारे बुझ्दै आएका छन् । नगरपालिकाले नै एन्टिजेन किट खरिद गरी कोरोना परीक्षण गरेको पनि सिंहले जनाइन् । नेपाल प्रवेश गर्ने र भारतबाट फर्किनेहरूको संख्या धेरै भएपछि एन्टिजेन परीक्षण गर्न नसक्ने पनि उपप्रमुख सिंहको भनाई छ । सिमानाकामा भारतबाट फर्किनेहरूलाई उनीहरूको स्वास्थ्य चेक गरेको र स्वास्थ्यमा समस्या र परीक्षण गर्दा कोरोना पोजेटिभ देखिए महाकाली अञ्चल अस्पतालमा उपचार गर्दै आएको पनि सिंहले जनाइन् । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखियो भने महानगरले सञ्चालन गरेको आइसोलेसनमा अथवा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था मिलाएको पनि सिंहले जनाइन् । होल्डिङ सेन्टर र आइसोलेसनमा बसेकालाई नगरले र अन्य विभिन्न संघसंस्थासँग समन्वय गरी खाजा तथा खाना निःशुल्क खुवाउँदै आएको पनि सिंहले बताइन् । सिंहका अनुसार नगरको सिमाना हुँदै नेपाल प्रवेश गर्नको संख्या ४५ हजार नाघिसकेको छ भने दिनमा २ सयभन्दा बढि नेपाल प्रवेश गरेका छन् । यो संख्या नगरको मात्र नभई सामग्री देशभित्र बसोबास गर्नेको नागरिकाको संख्या हो । पछिल्लो समयमा नगरका कुनै पनि अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छैन । विभिन्न संघसंथाबाट पनि नगरपालिकालाई स्वास्थ्य सामाग्रीको सहयोग मिलेको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएका व्यक्तिको पहिचान गरी एन्टिजेन परीक्षण र पीसीआर गर्ने व्यवस्था मिलाएको पनि उपप्रमुख सिंहले जानकारी दिइन् । एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । नगरपालिकाले मास क्वारेन्टिन भन्दा होम क्वारेन्टिनलाई जोड दिएका थियो । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्य शाखाले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको पनि सिंहले जनाइन् । नगरपालिकाले कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएकाको प्रत्येक वडाका स्वास्थ्यचौकीमा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको छ । विकास निर्माणको बजेटबाट नै कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्नका लागि नगरले खर्च गरेको छ । स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको पनि सिंहले जनाइन् । पोखरिया नगरपालिका प्रदेश २ अन्तरतको पर्सा जिल्लामा पर्ने पोखरिया नगरपालिकामा तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले ठूलो असर पुर्याएको छ । नगरले कोरोना रोकथाम र नियन्त्रणको लागि जनचेतनाका कार्यक्रमहरू गर्दै आएको उप–प्रमुख सलमा खातुन बताउँछिन् । एन्टिजेन र पीसीआर परीक्षण नगरले निःशुल्क गर्दै आएको छ । आइसोलेसन कक्षको स्थापना पनि गरेको छ । नगरपालिकाभित्रका सरकारी तथा सामुदायिक अस्पतालमा अक्सिजनको व्यवस्थापन गरेको पनि उपप्रमुख खातुनले जानकारी दिइन् । वडा तथा समुदाय र नागरिकहरूलाई पनि मास्क, सोनिटाइजर आदि वितरण गरिएको छ । नगरमा उपचार हुन नसकेर केही कोभिडका बिरामीलाई अन्य अस्पतालमा उपचारको लागि रेफर गरेको पनि खातुनले बताइन् । नगरपालिकाले बिरामीलाई निःशुल्क एम्बुलेन्सको प्रयोग गर्न दिएको पनि छ । संक्रमित भएका परिवारलाई विभिन्न संघसंस्थाले राहत पनि उपलब्ध गराएको छ । अक्सिजन सहितको ८ ओटा आइसोलेसन बेड नगरमा छ भने क्वारेन्टिनको पनि नगरपाकाले व्यवस्थापन गरेको छ । खातुनका अनुसार नगरपालिकाले ५० जनासम्म कोरोनाका बिरामीहरूलाई उपचार गर्न सक्छ । एन्टिजेन र पिसीआर गर्ने किट नगरपालिका आफैले खरिद गरेको छ । स्वास्थ्य सामाग्रीको खरिद गरी वडा कार्यालय, अस्पतालमा वितरण गरिएको पनि खातुनले जानकारी दिइन् । प्रदेश र केन्द्रले पनि स्वास्थ्य सामाग्रीहरू नगरपालिकालाई दिएको छ । नगरपालिकामा निषेधाज्ञालाई कायम नै राखेको छ । पछिल्लो समय संक्रमितहरु घट्दै गएको र अक्सिजन, बेडको समस्या नभएको खातुनले बताइन् । नगरपालिकामा हाल सवास्थ्य सामाग्रीको अभाव भएको छैन । तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको जुटाउने योजना रहेको पनि खातुन बताइन् । नगरपालिकामा भारतबाट फर्किने संख्या कमै रहेको छ । नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छ । यो रकमबाट नै स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । पालिकामा भएको विकास बजेटबाट पनि महामारी नियन्त्रण गर्नको लागि खर्च गरेको उपप्रमुख खातुनले जानकारी दिइन् ।
कैलालीकाे जानकी गाउँपालिकाद्वारा किसानलाई ७५ प्रतिशत अनुदानमा बोका वितरण
कैलाली । कैलालीको जानकी गाउँपालिकाले व्यावसायिक बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेको छ । पालिकालाई मासुमा आत्मनिर्भर बनाउन बाख्रापालनमा थप सहयोग होस् भनी उन्नत जातका बोका वितरण गरिएको हो । पालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा बोयर क्रस बोका र ७५ प्रतिशत अनुदानमा लोकल जातको बोका वितरण गरेको हो । पालिकाले बाख्रापालन गरिरहेका किसानलाई बोका वितरण गरेपछि बाख्रापालक किसान खुशी भएका छन् । जानकी–४ का किसान सुरेशकुमार कठरियाले व्यावसायिक बाख्रापालन गरेको दुई वर्ष भयो । बाख्रापालन व्यवसायलाई थप बढाउन उन्नत जातको बोका पाएपछि सहज हुने उनको भनाइ छ । ‘गाउँमै केही गरौँ भनी बाख्रापालन व्यवसाय शुरु गरेको हुँ, उन्नत बोका भएपछि अब उन्नत जातका बाख्रा जन्मनेछन्’, कठरियाले भने, ‘यसले व्यवसायलाई थप बढाउन सहयोग पुग्छ । पालिकाले किसानलाई सघाउने कार्यक्रमले हामी खुशी छौँ ।’ पालिकाले कठरियाजस्तै नौ जना किसानलाई बोका वितरण गरेको हो । जानकी–१ का ओमप्रकाश चौधरी पनि गाउँपालिकाबाट उन्नत जातको बोका पाएपछि खुशी भएका छन् । उनी अनुदानमा पाएको बोकाले आफूले गरिरहेको बाख्रापालन कार्यमा टेवा पुग्ने बताउँछन् । ‘हामीले उन्नत जातको बोका किन्न खोजेको बेला पाउन समेत कठिन हुन्छ, उन्नत जातको बोका भएमा स्थानीय जातको लोकल बाख्राले पनि उन्नत पाठापाठी जन्माउन सक्छन्’, चौधरीले भने, ‘यसले बाख्रा उन्नत खालको हुनुका साथै व्यवसाय फस्टाउन सहयोग पुग्छ । बाख्रा धेरै भएमा मासुको अभाव पूर्ति गर्न सहयोग पुग्छ ।’ पालिका अध्यक्ष प्रदीपकुमार चौधरीले बोका वितरण खाली वितरणका लागि सीमित नभएर उत्पादनमा वृद्धि हुने गरी प्रतिफल दिन किसानलाई आग्रह गरे । ‘तपाईंहरुलाई स्वरोजगार बनाउन पनि यस कार्यक्रमले भूमिका खेल्ने अपेक्षा छ । पालिकास्तरमा बाख्रा उत्पादनको अवस्थालाई वृद्धि गर्न बोका वितरण गरेका हौँ’, अध्यक्ष चौधरीले भने , ‘किसानलाई लाभ हुने खालका थप कार्यक्रम आगामी वर्ष ल्याउने तयारीमा छौँ । यहाँहरु राम्रो गर्नुहोला । सरकार सधैँ सहयोगी भूमिकामा हुनेछ ।’ बोयरका उन्नत जातका पाठापाठी उत्पादन गर्ने र अन्य जातभन्दा बोयर जातको बोका, खसीहरु बढी तौलका हुने, यस क्षेत्रको हावापानीमा उपयुक्त मानिएकाले बोयर जातका बोका वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नरबहादुर कार्कीले बताए । ‘अन्य बाख्राभन्दा यसमा रोग पनि कम लाग्ने, सामान्य स्याहार सुसारमा पनि हुर्कन सक्ने भएकाले किसानले पनि यही जातको बोका माग गरे’, उनले भने, ‘पशु सेवा शाखाले किसानको मागलाई मध्यनजर गर्दै बोयरका बोकाहरु वितरण गरेको हो ।’ रासस