“गाउँपालिकामा निःशुल्क रुपमा छोरी बीमा कार्यक्रम सञ्चालन गरेका छौं”

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले नेपाललाई पनि नराम्रोसँग प्रभावित बनाएको छ । कोरोना महामारीको दोस्रो लहरमा विश्वमभरनै एक प्रकारको रणभुल्लता देखिएको छ । विश्वकै उत्कृष्ट स्वास्थ्य पूर्वाधार भएका देशहरुलाई समेत महामारी नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ । नेपालमा लुम्बिनी प्रदेश अन्तर्गत रुकुम जिल्लाको सिस्ने गाउँपालिका पनि निक्कै प्रभावित पालिकाहरु मध्ये एक हो । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि गाउँपालिकाले कसरी उपचार सेवा सञ्चालन गर्यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो गाउँपालिकाकी अध्यक्ष कुमारी गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ ऊक्त कुराकानीको सम्पादित अंश : अहिले कोरोनाका कारण विश्व नै आक्रान्त छ, कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाले के गरिरहेको छ ? अन्य ठाउँमा जस्तै हाम्रो पालिकामा पनि कोरोनाको प्रभाव बढ्दो छ । यस महामारीलाई नियन्त्रण गर्नको लागि हामीले पालिकाको तर्फबाट सम्पूर्ण प्रयासहरू जारी राखेका छौं । गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रण कार्यलाई निरन्तरता दिँदै नागरिक सचेतना गराउँदै, अहिले पनि स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेका छौं । यस महामारीलाई नियन्त्रण गर्नको लागि आर्थिक खर्चिएर पनि काम गर्नुपर्ने अवस्था भयो भने गत वर्ष नै भवन निर्माण गरी २४ बेडको आइसोलेसन कक्षको व्यवस्थापन गरेका छौं । त्यो आइसोलेसनलाई यो वर्ष पनि पुन प्रयोग गरी आवश्यक स्वास्थ्य जनशक्तिको पनि व्यवस्थापन गरेका छौं । कोरोनाको लक्षण देखिएका बिरामीहरूको एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका र स्वास्थ्य अवस्था सामान्य भएका बिरामीलाई होम आइसोलेसनमै सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । पछिल्लो समयमा गाउँपालिका भित्र कोरोनाको संक्रमण घट्दै गएको भन्ने आभाष छ तर पनि परीक्षणको दायरालाई चाहिँ निरन्तरता दिइरहेका छौं । सुरुका चरणमा सबै तिर स्वास्थ्य सामाग्री अभाव भइरहेको समयमा हाम्रो पालिकामा पनि स्वास्थ्य सामाग्रीको अभाव भयो भने हाल हामीले आवश्यक स्वास्थ्य सामाग्रीको पनि व्यवस्थापन गरेका छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । गाउँपालिकाले स्वास्थ्य सतर्कतालाई अहिले पनि उच्च प्राथमिकता दिएर कार्यान्वयन गराएको छ । कोभिड परीक्षण गर्दा चाहिँ संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागिपरेका छौं । जथाभावी नहिँड्न भिडभाड नगर्न मास्क प्रयोग गर्ने सामाजिक दुरी कायम गर्ने जस्ता सन्देशहरू विभिन्न माध्यमबाट दिइरहेका छौं । तपाईंको पालिकामा आजसम्म कतीजना कोरोना संक्रमित छन् ? कोरोनासँग लक्षण देखिएका धेरै जस्तो बिरामीहरूले जिल्ला अस्पतालमा परीक्षण गरेका छन् भने पालिकाको स्वास्थ्यचौकीमा परीक्षण गर्नेको संख्या चाहिँ न्यूनरहेको छ । जिल्ला अस्पताल र गाउँपालिका भित्र परीक्षण गर्दा हालसम्म ३ सय भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ । पालिकामा उपचार हुन नसकेर अन्य अस्पतालमा रेफर गरी उपचारको क्रममा ५ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै छन् । यस महामारीलाई न्यूनीकरण र व्यवस्थापन गर्नको लागि आर्थिकको आवश्यकता छ । गाउँपालिकाले कोभिड व्यवस्थापन कोष भनेर आगामी योजनामा राखेको छ । हामीले सुरुमा विपत् व्यवस्थापन कोष भनेर राखेका थियौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री जुटाउनको लागि हामीले कोभिड व्यवस्थापन कोषको स्थापना गरेको हो । हामीसँग प्रर्याप्त मात्रामा अक्सिजन छैन, जनशक्तिको अभाव छ भने आइसोलेसन बेडको प्रर्याप्त व्यवस्था छैन । बजेटको अभाव मुख्य हो । तेस्रो लहरको संक्रमण आउन सक्ने तर्फ सचेत हुँदै यसले बालबालिकालाई प्रभाव पार्न सक्ने भएकाले यस प्रति मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्री जुटाउने योजना बनाएका छौं । कोरोना भाइरस महामारीको तेस्रो लहरले बढी बालबालिकाहरूलाई असर गर्ने धेरै विज्ञहरूले चेतावनी दिएका छन् । त्यसैले तेस्रो लहरको महामारी आउनु भन्दा पहिला नै यसको लागि पुर्वातयारी गर्न पनि आवश्यक छ । कोरोना नै अहिलेका सबै भन्दा बढि चुनौतीको रूपमा रहेको छ । कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ? दैनिक ज्यालादारी गर्ने, हातमुख जोर्ने वर्गका लागि खाद्यान्न र राहतको व्यवस्था हामीले केही हतसम्म ल्याएका छौं । पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणको कामहरू रोकेनौं । किसानहरूलाई आफ्नो खोतीबाट खान पुगि रहेको छ भने सामान्य विकास निर्माणको काम पालिकामा चलिरहेको छ । तपाईं पालिका प्रमुखको रूपमा निर्वाचित भएको आएको ४ वर्ष पूरा भयो, जनताले अत्यधिक मत दिए, तपाईंंले पालिकालाई के दिनुभयो ? हो, हामी निर्वाचित भएको आएको ४ वर्ष पुरा भएको छ भने अन्तिम कार्यकालको दौरानमा पनि छौं । हामी निर्वाचित नहुनु भन्दा अगाडी पालिकाको अवस्था नाजुक नै थियो भन्दा पनि फरक पर्दैन । हामी निर्वाचित भइसकेपछि हामीले घोषणापत्रमा पनि धेरै कुराहरूको उल्लेख गरेका थियौं । यसमा हामीले जनताहरूसँग गरेका प्रतिबद्धता थिए, पालिकाका आवश्यकता थियो, ती आवश्यकता र विकासका कुराहरू हामीले क्रमैसँग सम्बोधन गरेको अवस्था छ । भौतिक पूर्वाधार शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात लगायतको क्षेत्रहरूमा परिवर्तन र विकास भएको छ । हामीले गाउँपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपूर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । पहिलेको तुलनामा विकास निर्माणको कामहरू पनि धेरै भएका छन् । भौतिक पूर्वाधारको तर्फ कुरा गर्दा पहिला केही ठाउँमा मात्र सडक सञ्जाल पुगेको थियो भने हाल हामी सडक पहुँच सबै ठाउँमा पुर्याएका छौं । पालिकामा टेलिफोनको टावर पनि नभएको अवस्था थियो । वडा नं. २, ३, ६ का केही टोलहरू सूचना विहीन अवस्था थिए भने हामीले हाल टेलिफोनको टावरहरू जडान गरेका छौं । विद्युतको पहुँच नभएका नागरिकको घरमा विद्युतको पहुँचमा ल्याएका छौं । कृषि क्षेत्रमा सबैलाई उत्पादन गरेर खाने वातावरण सृजना गरिएका छौं । स्वास्थ्य क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ भने यस क्षेत्रमा पनि हामीले धेरै लगानी गरेका छौं । यसका साथै सबैलाई नागरिकहरूलाई स्वास्थ्यको पहुँच पुर्याइ आवश्यक स्वास्थ्य संस्थाको निर्माण गरी स्वास्थ्य जनशक्तिको पनि व्यवस्थापन गरेका छौं । पालिकाको प्रत्येक स्वास्थ्यचौकीमा प्रजनन् केन्द्रको पनि स्थापना गरेका छौं । शिक्षा क्षेत्रमा पनि ठुलो परिवर्तन आएको छ । हामीले ५ देखि ८ सम्म स्थानीय पाठ्य क्रमको स्थापना पनि गरेका छौं । हामीले छोरी बीमा कार्यक्रम पनि सञ्चालन गरेका छौं । २०७७/७८ को निति तथा कार्यक्रमबाट छोरी बीमा कार्यक्रम लागु गरेका हौं । गाउँपालिका भित्र जन्मने छोरीहरूको लागि भविष्य सुनिश्चित गर्न तथा उच्च शिक्षा हाशिल गर्न सजिलो होस् भनेर बीमा कार्यक्रम सञ्चालन गरेका हौं । छोरी बीमा पालिकाले निःशुल्क गर्दै आएको छ । छोरीहरूको लागि २० वर्षसम्म मुद्दती खाता खोलेर त्यस खातमा गाउँपालिकाको तर्फबाट ५ हजार रुपैयाँ जम्मा गरिदिने व्यवस्था मिलाइएको छ । छोरा र छोरीबिचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो । छोरीको हत्या गर्ने, आमालाई हिंसा गर्ने तथा छोरी भएर जन्मेकोमा आत्मग्लानि गर्ने संस्कृति अन्त्य गराउन छोरी बीमा कार्यक्रम सुरु गरिएको हो । यसबाट समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश प्रवाह हुने ठहर छ । गाउँपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरूलाई कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले भनिरहेका छौं । रोजगारीको कुरा पनि बजेटसँग नै जोडिँदो रहेछ । कृषि पेशामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । प्रधानमन्त्री रोजगार कार्यक्रम पनि गाउँपालिकामा लागु भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरिबिका रेखामुनि रहेका र बेरोजगारी भएका युवाहरू मात्र छनोट भएका छन् । उद्यमशीलता विकासमा युवालाई लगाउनु पर्छ भनेर पनि हामीले जोड दिएका छौं । युवाहरूलाई सिपमूलक तालिमहरू पनि दिँदै आएका छौं । युवाहरू जुन पेशामा लागेका छन् त्यही पेशालाई राम्रो बनाउन आग्रह गरेका छौं । युवाहरूलाई उत्पादनसँग जोडिनु पर्छ भनेका छौं । काम गर्न चाहने युवाहरूका लागि धेरै ठाउँमा अवसर छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेसामा संलग्न छन् । हामीले युवाहरूलाई कृषिको तालिम पनि दिँदै आएका छौं । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के– कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सङ्घीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रस्ट पारिसकेका छौं । कतिपय मानिसहरुले सङ्घीयता बुझेर पनि बुच पचाएका छन् भने कतिपयले बुझेका पनि छैनन् । विकास निर्माणको काम पनि गर्दा बजेटको समस्या पनि भयो । तर, चुनौतीको सामना गर्दै अगाडि बढेका छौं । अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? सबैभन्दा पहिला त पालिकाका वासिन्दाहरुलाई के भन्न चाहन्छु भने जनताको सहभागिता बिना विकास निर्माण कामले गति पनि लिन सक्दैन र त्यो सफल पनि हुन सक्दैन । त्यसैले नागरिकको सहभागिता हुन आवश्यक छ । कोभिडको समय पनि छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहोस् भन्न चाहन्छु ।

तनहुँमा विपन्नलाई पढाउन समता विद्यालय सञ्चालनमा ल्याइने

तनहुँ । व्यास नगरपालिकाले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र कोरोनाबाट मृत्यु भएका परिवारका बालबालिकालाई लक्षित गरी ‘व्यास समता विद्यालय’ सञ्चालनमा ल्याउन लागेको छ । नगरपालिकाले माध्यमिक तहसम्मको शिक्षा लिन कठिनाइमा परेका व्यास–७ शेराटारस्थित क्यामिन कोट प्राथामिक विद्यालयमा आवासीय विद्यालय स्थापना गरी सञ्चालनमा ल्याउन लागेको हो । नगरपालिकाको ३५ औँ नगरसभाबाट आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र रहेका नाजुक परिवारका बालबालिकामा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले समता विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । नगरपालिकालाई शैक्षिक केन्द्रका रूपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेको विद्यालय तथा क्याम्पसस्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने उनले बताए । व्यास–१३ र १४ का सामुदायिक विद्यालयमा बालग्रामसँग सहकार्य गरी विद्यालय सुधार योजना कार्यान्वयन गरिनेछ । उनले भने, ‘नगरपालिकाभित्र रहेका विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा १ मा स्थानीय पाठ्यपुस्तक र माध्यमिक तहका कक्षा ११ र १२ मा वेदव्याससम्बन्धी अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउने व्यवस्था मिलाइने छ ।’ हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने नाराका साथ नगरपालिकाभित्रका विभिन्न विधामा नगर क्षेत्रभित्रका विद्यार्थीबीच प्रतिस्पर्धा गराई नगरस्तरीय उत्कृष्ट प्रतिभा छनोट गरी पुरस्कृत गरिनेछ । नगरपालिकाभित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का वर्गका छात्रछात्रालाई अध्ययन गर्नका लागि अनुसन्धान अनुदान एवं छात्रवृत्ति सहयोग पु¥याइने नगरपालिकाले जनाएको छ । रासस

हामीले घोषणापत्रमा लेखेका कुरा पूरा गरिसकेका छौं – नगरप्रमुख पोखरेल

कोरोना महामारीको दोस्रो लहर व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्र रूपमा फैलिइरहँदा झापा जिल्लाको कनकाई नगरपालिकाले सो संक्रमण रोकथामका लागि देखाएको सक्रियता प्रशंसनीय छ । यो नगरपालिका पनि कोभिड–१९ बाट पिडित छ भने यहाँ अझैपनि संक्रमण फैलिइरहेको अवस्था छ । यसैक्रममा कोरोना भाइरस संक्रमणपछि नगरपालिकाले कसरी उपचार सेवा सञ्चालन ग¥यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले नगरपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो नगरपालिकाका नगरप्रमुख राजेन्द्र कुमार पोखरेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ ऊक्त कुराकानीको सम्पादित अंश : कोरोना रोकथाम तथा न्यूनीकरणको लागि नगरपालिकाले के गरिरहेको छ ? विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । महामारी नियन्त्रण गर्नको लागि हामीसँग जे जति स्रोतसाधन छ त्यसको भरपुर प्रयोग गरेका छौं । कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । नगरपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । बजारमा भिडभाड हुन नदिनको लागि संघ, प्रदेश र स्थानीय तह मिलेर निषेधाज्ञा जारीगरेका छौं । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको र निषेधाज्ञालाई खुकुलो बनाएका छौं । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण फैलिनसक्ने जोखिम पनि उच्च छ । नगर भित्रका बजारहरु सञ्चालन गर्दा पनि स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गर्न लागि सबैलाई आग्रह गरेका छौं । नगरपालिका भित्र एउटा पीसीआर ल्याब छ, त्यसमा चाहिँ सबैले शुल्क तिरेर परीक्षण गर्न अवस्था छ । हालसम्म एन्टिजेन तथा पीसीआरमार्फत परीक्षण गर्दा ६ सय जना भन्दा बढिमा संक्रमित पुष्टि भएको छ । पालिकामा हालसम्म ४ सय जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । महामारी नियन्त्रण गर्नको लागि धेरै ठुलो संर्घष गर्दागर्दै पनि पालिकाबाट १८ जना नागरिकहरूलाई कोरोनाका कारण गुमाएका छौं । कोभिड बिरामीहरूका लागि अक्सिजन अभाव हुन नदिन अक्सिजन सिलिन्डरहरू भरेर तयारी अवस्थामा राखेका छौ । स्वास्थ्य सुविधा व्यवस्थापनको निमित्त स्वास्थ्यकर्मी टिम गठन भएको छ । यो टिमले चौविसौ घण्टा परिचालित छ । होम आइसोलेसनमा बसेकालाई यो टिमले आवश्यक परामर्श दिनु हुन्छ । कोभिड अस्पतालको रूपमा २० बेडको आइसोलेसन सेन्टरको स्थापन गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । आइसियु बेड, भेन्टिलेटरमा राखि पनि जटिल बिरामीले उपचार गराइरहेका छौं । हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे पनि महामारीसँग जुध्न निकै कठिन भइरहेको छ। पालिकामा हाल पनि संक्रमणको संख्या घटेको छैन । हाल पनि एक सय जनामा परीक्षण गर्दा १० जनामा कोरोनाको पुष्टि हुन्छ । कोरोना नियन्त्रणमा नगरपालिकालाई के–कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । विश्वभरका उदाहरण बाट के देखिन्छ भने जसले भ्याक्सिन लगायो त्यो मानिस तुलनात्मक रूपमा सुरक्षित छ । त्यसो हुनाले जति सक्दो भ्याक्सिन खरिद गरेर ल्याउनु नेपाल सरकारको आजको आवश्यकता हो । भ्याक्सिन ल्याउनको लागि नेपाल सरकारले नसक्ने अवस्था छ भने जनताहरुले आफैं भ्याक्सिन खरिद गरी लगाउन सक्छन् । हाम्रो नगरपालिकाका ३० प्रतिशत मानिसहरुले भ्याक्सिन किनेर लगाउन सक्ने अवस्थामा छन् । यदि भ्यासिन ल्याउने हो भने नेपाल सरकारले आर्थिक बोझ हुन्छ कि भन्ने हिसाबले गाह्रो नमाने हुन्छ । धेरै संघसंस्था र मानिसहरुले हामी एउटा खोप लागउछौं र अरुलाई २ ओटा सम्म खोप सहयोग गर्छौं पनि भनेका छन् । वास्तवमा, अहिले सबैतिर भ्याक्सिन नै ठुलो आवश्यकताको रूपमा देखिएको छ । कमजोर आर्थिक अवस्था भएकाहरूको लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनुभएको छ ? पालिकामा हाल निषेधाज्ञा खुकुलो भएको छ । निषेधाज्ञाको समयमा पनि हामीले सानासाना भौतिक निर्माणको कामहरु रोकेनौं । भौतिक वा सामाजिक दुरी कायम गरेर पनि विकास निर्माणको कामहरू सञ्चालन ग¥यौं । विकास निर्माण र आर्थिक गतिविधि निरन्तर सञ्चालन भए । दिनभरि मजदुरी गरेर साँझ चुलो धुवाउनेहरू निषेधाज्ञामा बिचल्ली परेका छन् भने उनीहरूलाई वडाको सहकार्यमा राहत वितरण गरेका छौं । गत वर्ष हामीले राहतका कार्यक्रमहरू सञ्चालन गरेका थियौं भने राहत वितरण गर्नले विकृति पनि भयो भने राहत भन्नाले सरकारको दिएको सुविधा भन्ने बुझाई भयो । यो वर्ष हामीले जहाँ अफ्टयारो पर्छ त्यहाँ मात्र राहतका कार्यक्रमहरू पुर्यायौं । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो छ । तपाईं नगर प्रमुखको रूपमा निर्वाचित भएको आएको ४ वर्ष पूरा भयो, जनताले अत्यधिक मत दिए, तपाईंंले पालिकालाई के दिनुभयो ? हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका काम सकिसकेका छौं । निर्वाचित भएर आइसके पछि यहाँको पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्य, युवा दक्षता अभिवृद्धिलगायत रोजगार सिर्जनाका काममा केन्द्रित भएका छौं । पालिकामा दीर्घकालीन योजना बनायौं यसै योजनाअन्तर्गत हरेक वडामा नयाँ बाटो खन्ने, सडक स्तरोन्नति गर्ने काम भए । हरेका क्षेत्रहरूमा सुधार र परिवर्तन आएको छ । हामीले नगरपालिका भित्रका अधिकांश नागरिकहरूलाई पालिकाको तर्फबाट सेवा प्रवाहमा न्यूनतम आधारभूत कुराहरू परिपुर्ति गर्नको लागि हाम्रो प्रयत्न जारी छ । आजसम्म तपाईंले संघर्ष नै गर्नुपरेको र जुध्नुपरेका काम जुन अहिले पनि पूरा भएन, त्यो के होला ? यो अवधिभर समस्या र चुनौतीहरू धेरै आए । खानेपानीको काममा धेरै बजेट लाग्ने भएको हुनाले यस तर्फ राम्रो काम गर्न सकेको छैन । ठुलाठुला विकास निर्माणको कामहरू छन्, सडक निर्माणको काममा हामीले जति गर्नुपर्ने थियो त्यति गर्न सकेका छौं । अर्को कुरा पर्यटन क्षेत्रमा पनि राम्रो काम गर्न सकेका छैनौं । नितिग कुराले पनि हामीले केही कुराहरू गर्न सकेका छैनौं । हामीले पालिकाको पुजिले भ्याउने जति काम चाहिँ गरेका छौं । नगरपालिकाले युवाहरूलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने पहिलो पालिका नै हाम्रो होला । सुरुमा हामीले ५२ लाख रुपैयाँ बजेट विनियोजन गरी ५२ जना कृषकहरुलाई कृषिको तालिम दिएका छौं । हामीले एउटा बैंकसँग साझेदारी गरेर ४ सय युवाहरूलाई रोजगारी दिनका लागि सम्झौता गरेका छौं । युवाहरूलाई कृषि उत्पादनसँग जोड्नु पर्छ भनेर हामीले भनिरहेका छांै । कृषि पेसामा आवद्ध हुने युवाहरूलाई अनुदान दिने व्यवस्था पनि मिलाएका छौं । अन्त्यमा, आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? सबैभन्दा पहिला त पालिकाका वासिन्दाहरुलाई धन्यवाद भन्न चाहन्छु । यहाँहरूकै साथ तथा सहयोगले नगरपालिकालाई एउटा बेग्लै पहिचान दिएर देशभरी चिनाउन सफल भएका छौं । विकास निर्माणको काम जनप्रतिनिधि एक्लैले मात्र गरेर भएकाे हाेइन बरू यहाँका राजनैतिक दल, नागरिक आदि सबैको सहयोगले यो सफलता पाउन सकेका हौं । कोभिडको समय पनि छ, भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफूमात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ । त्यसकारण कर्तव्यबोध हुन जरुरी पनि छ । तपाईंको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहाेस् भन्न चाहन्छु ।