गाउँपालिकाले कोरोना नियन्त्रणका लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ – उपाध्यक्ष आचार्य
कोरोना महामारीका कारण नेपाल आज ठुलो सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गति फैलिरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा कुम्मायक गाउँपालिका जुटिरहेको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । कुम्मायक गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाले बिशेष पहल गरिरहेको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका उपाध्यक्ष सीता आचार्यसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको गाउँपालिकाले के कस्ता कार्य गरिरहेको छ ? कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागि विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । सी.सी.एम.सी ले पालिकालाई निर्देशन दिए पछि निषेधाज्ञालाई थप कढाई पनि गरेका छौं । हाल निषेधाज्ञालाई निरन्तरता दिइरहेका छौं । ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । पालिकाका ४ सय ८ जनालाई परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको छ जस मध्ये १६ जना चाहिँ निको भइसकेका छन् । केही संक्रमित भएका बिरामीहरू होम आइसोलेसनमा पनि बसेका छन् । होम आइसोलेसनमा बसेका कोभिडका बिरामीहरूलाई सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले फोन मार्फत उनीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेको साथै होम आइसोलेसनमा बसेका कोभिडका बिरामीलाई सामान्य औषधी स्वास्थ्यकर्मीहरुले वितरण गर्नु भएको छ । जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेर काम गरेका छौं । अस्पतालको क्षमता बढाउने र संक्रमणका दर घटाउने कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नु आजको आवश्यकता छ । पालिकाले निर्णय गरे अनुसार बिहान ५ बजे देखि ९ बजेसम्मको लागि खाद्य पसल खोल्न दिएका छौं । एक ठाउँबाट अर्के ठाउँ जानको लागि हामीले कढाई गरेका छौं । पालिकाको स्वास्थ्य केन्द्रमा ५ बेडका आइसोलेसन कक्ष स्थापना गरेका छौं भने २ ओटा विद्यालयलाई आइसोलेसन कक्षको रूपमा प्रयोग गरेका छौं । पालिकामा ५ ओटा अक्सिजन सिलिन्डर पनि छ । अमेरिका बसोबास गर्ने नेपाली नगरिकहरुले १ सय ओटा अक्सिजन सिलिन्डर दान गर्नु भएको मध्ये २ ओटा अक्सिजन सिलिन्डर चाहिँ पालिकालाई पनि प्राप्त भएको छ । विभिन्न संघसंस्थाहरुले यो सङ्कटको घडीमा स्वास्थ्य सामाग्रीको सहयोग गरेका छन् भने पालिका आफैले पनि केही स्वास्थ्य सामाग्रीको खरिद गरेको छ । पालिकाको आफ्नै एम्बुलेन्स छैन तर अन्य गाडी भाडामा प्रयोग गरी एम्बुलेन्सको रुपमा प्रयोग गर्दै आएका छौं । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ? चुनौती र समस्या त धेरै नै छन् । पालिकमा संक्रमण दिन प्रतिदिन फैलिरहेको छ भने संक्रमण देखिएता पनि जटिल अवस्था चाहिँ आएको छैन तर स्वास्थ्य मापदण्ड अपनाउनको लागि भने सबै नागरिकलाई अपिल गरेका छौं । आ–आफ्नो खेत बारीमा काम गर्नका लागि अन्य मानिसलाई नबोलाउन पनि अपिल गरेका छौं । जनचेतनाको कामहरू भने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गर्दै आउनु भएको छ । कोरोनाको महामारी पालिकामा भ्यबह हँुदै गयो भने धेरै समस्या पनि निम्तिन सक्छ र जनजीवन कठिन हुँदै जान्छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू ल्याएको छ कि ? हामीले पालिकामा राहत प्याकेजहरू ल्याएका छौं । गरिब र आर्थिक स्थिति कमजोर भएका परिवारलाई पालिकाबाट राहत वितरण गरिएको हो । कोरोना संक्रमित भएका विपन्न वर्गको लागि चामल, नुन, तेल आदि वितरण गरेका छौं भने अन्यलाई गरेका छैनौं । हामीले हालसम्म विपन्न वर्गका २ परिवारलाई राहत वितरण गरेका छौं तर यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिवाय हुनेछ । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न त सकिँदैन तर यो भाइरस पालिकामा बढ्दै गाएकाले एक हप्ताका लागि भने निषेधाज्ञा थप गरेका छौं । निषेधाज्ञालाई केही हदसम्म खुकुलो बनाएका छौं । पाँचथर जिल्लामा नै ३१ गतेसम्मको लागि निषेधाज्ञा लागु भएको छ र कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । निषेधाज्ञालाई खुकुलो बनाई योजनाहरूलाई सञ्चालन गर्ने भन्ने कुरा चाहिँ आएको छ । जसबारे स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । यसलाई बिस्तारै खुकुलो बनाउने तयारी भइरहेको छ । निषेधाज्ञा जारी रहेको अवस्था छ तर पनि नागरिकहरूमा त्रास भने उत्तिकै छन् । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ जसमा नागरिक जिम्मेवार हुनै पर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ, नत्र घरैमा सुरक्षित बसौँ । निषेधाज्ञा गर्दा कोरोना केही हदसम्म फैलिन नपाउने रहेछ भन्ने कुराको महसुस चाहिँ भएको छ । संक्रमण अझै बढ्न सक्छ, यो नियन्त्रणमा गाउँपालिकाले भावी योजना कस्तो बन्दैछ ? यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागि पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरि भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । कोरोनाको संक्रमण भएका २ जना व्यक्तिलाई उपचारको लागि वाहिरी जिल्ला पठाएका थियौं भने उहाँहरू पनि निको भएर घर आइसक्नु भएको छ । पीसीआर र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडको केसहरू देखिएका छन् त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ? हाम्रो पालिकामा ५ वटा वडा छ । यो महामारी पालिकामा कसरी फैलियो भनेर हामीले प्रष्ट रूपमा बुझन सकेका छैनौं । परीक्षण गरेको हिसाबले हेर्ने हो भने ३ नं. वडामा कोरोनाको संक्रमितको सङ्ख्या बढ्दो भएकाले ३ नं वडा नै उच्च जोखिममा छ । बजारी इलाकाहरूमा कोरोनाको संक्रमण बढि फैलिने सम्भावना देखिन्छ । कति संक्रमित धान्न सक्छ गाउँपालिकाले अब ? यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । हामीले पालिकामा कोरोना नियन्त्रलाई नै मुख्य प्राथमिकता दिएर काम गरी रहेका छौं । यो महामारी नियन्त्रणमा पालिकाले एकलै पनि गर्न सक्दैन । भोलिका दिनको अवस्था बारे यकिन गर्न सकिँदैन । त्यसैले यति संक्रमित पालिकामा राख्न सकिन्छ भनेर अनुमान पनि गर्न सकिँदैन । कोरोना नियन्त्रणका लागि बजेटको प्रवन्ध कस्तो छ ? गत वर्ष पनि हामीले कोभिड नियन्त्रणको लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको मध्ये २० लाख रुपैयाँ रकम बचत भएको थियो । यो वर्षको कोरोना महामारी नियन्त्रण गर्नका लागि ६० लाख रुपैयाँ बजेट छुट्याएका छौं । पहिलाको बचत २० लाख र अहिलेको ६० लाख रुपैयाँ गरी जम्मा ८० लाख रुपैयाँ बजेट महामारी नियन्त्रण गर्नका लागि छुट्याएका छौं । कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले पालिकाको सम्पूर्ण कामकाजमा ठुलो असर पुर्याएको छ । विकास निर्माणका योजनाहरू ठप्प भएका छन् । कार्यालयहरू बन्द भएपछि कामदारहरू मारमा परेका छन् । टेन्डर तथा सानातिना तालिमका कामहरू रोकिएका छन् तथापि आफू सुरक्षित भएर हामीले जनतालाई दिने सेवा दिइरहेका छौं । यो महामारीले ठुलो असर पुर्याएको छ । प्रदेश र सङ्घीय सरकारबाट कत्तिको सहयोग पाइएको छ ? प्रदेश बाट चाहिँ सहयोग मिलेको छैन । तर, सङ्घबाट चाहिँ पालिकालाई विभिन्न स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ । स्वास्थ्य सामाग्री सहयोग भइरहेको छ तर नगद सहयोग भने मिलको छैन । कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न गर्नुहुन्छ त ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु । विकास निर्माणको काम त अर्काे वर्ष पनि गर्न सकिन्छ तर कोरोनाबाट सबै बचौं भन्न चाहन्छु ।
कास्कीकाे मादी गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण
कास्की । कृषि व्यवसायमा यान्त्रिकीकरणको माध्यमबाट न्यून लागतमा उत्पादन वृद्धिको योजनासहित कास्कीको मादी गाउँपालिकाले व्यावसायिक किसानलाई हातेट्र्याक्टर वितरण गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको कृषितर्फको स्वीकृत कार्यक्रमअन्तर्गत पहिलो चरणमा मङ्गलबार कृषकसँगको ५० प्रतिशत लागत साझेदारीमा अनुदानमा २४ वटा हातेट्र्याक्टर वितरण गरेको हो । गाउँपालिकाको १ देखि १२ वडाका कृषक, कृषक समूह तथा कृषि व्यवसायमा संलग्न सङ्घ संस्थाबाट प्रस्ताव आह्वान गरिएकामा ६१ जनाले माग गरेका थिए । पहिलो चरणमा ‘सात हर्सपावर’का २४ वटा ट्र्याक्टर कृषकलाई उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिनुभयो । प्रति ट्र्याक्टर रु ५४ हजार मूल्यमा कृषकहरूले ५० प्रतिशत साझेदारी गरेका छन् । अध्यक्ष गुरुङका अनुसार कृषकको व्यावसायिक योजनाको मूल्याङ्कनका आधारमा थप १७ कृषकलाई दोस्रो चरणमा ट्र्याक्टर वितरणको योजना छ । जमीन खनजोतका लागि गोरु पाल्न कृषकले झन्झट मान्ने र लागत बढी हुँदा पछिल्लो समय कृषकहरू हातेट्र्याक्टरतर्फ आकर्षित छन् । गाउँपालिकाले कृषिको विकासलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष गुरुङले भने, ‘कृषि व्यवसायलाई समयानुकूल परिर्वतन गर्दै यान्त्रिकीकरण र आधुनिकीकरणका माध्यमबाट अधिकतम उत्पादन बढाउँदै रोजगारी सिर्जना र स्वरोजगार अभिवृद्धिको योजना छ । समृृद्ध मादी निर्माणका लागि कृषि, पर्यटन, जलस्रोत, वन, पूर्वाधारसहित समन्यायिक समृद्धिलाई जोड दिएका छौँ ।’ कृषि क्षेत्रको आधुनिकीकरण यान्त्रिकीकरण, विशिष्टीकरण, व्यावसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिने नीति गाउँपालिकाले लिएको बताइन्छ । हाते ट्र्याक्टरसहित थ्रेसर, असिना छेक्ने जाली, प्लाष्टिक टनेललगायतका कृषि औजार उपकरणमा अनुदान दिने कार्यक्रम कृषितर्फ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए । उनले भने, ‘असिना छेक्ने जाली कृषकलाई उपलब्ध गराइसकेका छौँ भने प्लाष्टिक टनेल प्रदान गर्न बोलपत्र आह्वानलगायतका प्रक्रिया अघि बढाएका छौँ, छिट्टै मागका आधारमा कृषकलाई उपलब्ध गराउने छौँ ।’ रासस
टोल टोलमा गएर वृद्धभत्ता बाँड्न बैंकलाई आग्रह गरेका छौं – गाउँपालिका अध्यक्ष साउद
कोरोना भाइरस (कोभिड १९) महामारीका कारण विश्व नै आज ठुलो सङ्कटमा छ । कोरोनाको दोस्रो लहर सुरुमा भएसँगै सहर मात्र नभई ग्रामीण क्षेत्रमा पनि यसले ठुलो असर पुर्याएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट अछाम जिल्लाको चौरपाटी गाउँपालिका पनि निक्कै प्रभावित भएको छ । गत वर्ष कमै मात्रामा फैलिएको कोरोना भाइरसको संक्रमण यो वर्ष व्यापक छ । देशमा संक्रमण थप बढ्न नदिन तथा रोकथाम गर्नकै लागि अहिले पनि कतै लकडाउन त कतै निषेधाज्ञा लागू गरिएको छ । चौरपाटी गाउँपालिकामा चाहिँ फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागि गाउँपालिकाले बिशेष पहल गरी रहेको छ । गाउँपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि कसरी प्रयास गरिरहेको छ, अस्पतालमा अक्सिजन तथा स्वास्थ्य सामग्रीको अभाव हुन नदिन कसरी काम गरिरहेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउदसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : गाउँपालिकामा पनि कोरोना संक्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । गाउँपालिकामा संक्रमण नफैलियोस् भनेर हामीले थुप्रै प्रयासहरू गरिरहेका छौं । तर, हामीले चाहेर पनि कोरोना नियन्त्रण गर्न सक्छौं जस्तो मलाई लागेको छैन । गाउँपालिकामा पहिला कुनै व्यक्तिलाई कोभिड भोटियो भन्दा गाउँमा नै त्रास हुन्थ्यो । अब अहिले कोरोनाबाट कुनै पनि टोल तथा गाउँ अछुतो छैन । कोरोनाको जोखिम कम गर्न गत वर्षजस्तै क्वारेन्टिन र आइसोलेसनको निर्माण, परीक्षणको व्यवस्था, औषधि आपूर्ति लगायत कार्य गर्दै आएका छौं । हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनका कार्यक्रमहरु पनि सञ्चालन गरिरहेका छौं । अस्पतालमा आइसकेको र कोभिड परीक्षण गर्दा पोजेटिभ देखिएका बिरामीलाई अस्पतालमा नै राख्ने व्यवस्था मिलाएका छौं । पालिकामा रहेको प्राथमिक अस्पतालमा २५ बेडको आइसोलेसन छ । हामीले यस अस्पतालमा ५ जना स्वास्थ्यकर्मी राति र ५ जनाले दिउँसो डिउटी गर्ने समय निर्धारण गरेका छौं । प्राथमिक अस्पतालमा कोरोनाको चाप बढ्दै गयो भने वैकल्पिक व्यवस्थापन गर्नको लागि वडाका स्वास्थ्यकर्मीहरुलाई खटाउने व्यवस्था मिलाएका छौं । कोभिडसँग सम्बन्धित लक्षण देखिएता पनि धेरै नागरिकहरूले परीक्षण गर्न मानेका छैनन् । कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनी एम्बुलेन्स पनि व्यवस्था गरेका छौं । कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी परीक्षण पनि गर्दै आएका छौं । बजारहरूलाई निर्धारित समयमा मात्र खोल्न दिएर कडाई गरेका छौं । धेरै नागरिकहरूले कोरोना जिती सकेका छन् । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । यस महामारीलाई न्यूनीकरण गर्न सबै लागि परेका छौं । पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ? पीसीआर परीक्षण पालिकामा हुँदैन । परीक्षणको लागि कमल बजार र अन्य जिल्लामा पठाउँदै आएका छौं । स्वाब संकल पालिकामा हुन्छ । पीसीआर परीक्षण गर्दा तत्काल रिपोर्ट नआउने हुँदो तुरुन्तै संक्रमण भएको नभएको भनेर थाहा पाउन सकिरहेका छैनौँ । पीसीआरको रिपोर्ट आउनै २ देखि ३ दिन लाग्छ । ज्वरो आएका शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षण भइरहेको छ । एन्टिजेन परीक्षणलाई पालिकामा थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि पनि जोड दिइरहेका छौं । पालिकामा प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ, यसमा कोभिडका बिरामीहरूलाई राख्ने व्यवस्था मिलाएका छौं । कोरोनासँग अन्तर्सम्बन्धित लक्षण देखिएका नागरिकहरूको घर घरमा गई एन्टिजेन परीक्षण गर्दै पनि आएका छौं । एन्टिजेन परीक्षण गरेको तर कुनै पनि लक्षण नदेखिएको बिरामी छ भने उसलाई घरैमा सुरक्षित बस्नको लागि आग्रह गरेका छौं । पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ? एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी पालिकामा निषेधाज्ञा जारी गरेका छौं । यो महामारीको समयमा सामाजिक सुरक्षा भत्ता बुढापाकाले नपाएको कारणले बैंकले भत्ता बाँड्ने तयारी गर्दैछ । प्रत्येक वडाको टोलटोलमा गएर भिड नगरिकन भत्ता बाँड्नको लागि बैंकलाई आग्रह गरेका छौं । तर, बैंकले नमानिरहेको अवस्था छ । बैंकमा भत्ता लिन आउने बुढापाकाको घुइँचो छ । बैंकमा धेरै भिड भएको कारण संक्रमण फैलनसक्ने जोखिम उच्च छ । बुढापाका भएका बा–आमालाई कोरोना लाग्यो भने यसको जिम्मा कस्ले लिन्छ भनेर मैले बैंकको हाकिमलाई सुझाव पनि दिएको थिएँ । घरघरमा भत्ता पुर्याउनको लागि बैंकलाई सहयोग गर्नुपर्ने हो भने आवश्यक सहयोग पालिकाले गर्छ भनेका थियौं । तर, बैंकको सिस्टमले मिल्दैन भनेको छ । बैंकलाई सुरुमा हप्ताको २ दिन खोल्न दिएका थियौं तर हप्ताको २ दिन खोल्दा पनि भिड बढ्यो । पालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको संख्या करिब ८ हजार छ । निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ त ? यसबारे यकिनसँग भन्न सकिँदैन । जिल्ला प्रशासन कार्यालयको नीति नियम हामीले मान्नु पर्ने हुन्छ । कोरोनाको संक्रमण यहि अनुपातमा बढ्दै गयो भने निषेधाज्ञा बढाउनुपर्ने पनि हुन सक्छ । यसबारे जिल्ला भरका स्थानीय तहका जनप्रतिनिधिहरू सबै बसेर छलफल गर्नुपर्छ । निषेधाज्ञा खुकुलो भयो भने संक्रमण फैलन सक्ने त्रास छ । निषेधाज्ञा जारी रहेको अवस्था छ । नागरिकहरू डराइरहेका छन् । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । यसमा नागरिक जिम्मेवार हुनैपर्छ । स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । अत्यावश्यक काम भएमा मात्र बाहिर निस्कौँ । नत्र घरैमा सुरक्षित बसौँ । कति संक्रमित धान्न सक्छ गाउँपालिकाले अब ? यो भन्दा भयावह स्थिति आयो भने गाउँपालिकाले बनाएको सीमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन । कोभिडका २५ जना बिरामीलाई मात्र पालिकाको अस्पतालमा धान्न सक्छ । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? हामीले पालिकामा रहेको स्वास्थ्य शाखाको क्षेत्रमा बजेट विनियोजन गरी २५ ओटा अक्सिजन सिलिन्डर खरिद गरेका छौं । जिल्ला जनस्वास्थ्य अस्पतालमा पनि थुप्रै निकायहरूले सहयोग गरेको छन् । त्यहाँबाट पनि हामीले स्वास्थ्य सामाग्री ल्याउने व्यवस्था गरेका छौं । विभिन्न संघसंस्थाहरुलाई पनि यो सङ्कटको घडीमा सहयोग गर्नुपर्यो भनेर अपिल पनि गरेको छौं । अहिलेसम्म विभिन्न संघसंस्थाले स्वास्थ्य सामाग्री सहयोग पनि गरेका छन् । हाल पालिकामा स्वास्थ्य सामाग्री र अक्सिजनको अभाव छैन । पालिकामा भएका अस्पतालहरूमा अक्सिजन अभाव हुन नदिन र अन्य स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि सहजीकरण पनि गर्दै आएका छौं । कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? समस्या त धेरै नै छन् । चेतनाको कमि छ । मानिसहरूलाई जे नगरौं भन्यो त्यही गर्छन् । यो महामारीबाट कसरी बच्न सकिन्छ भनेर मानिसमा अझै चेतनाको विकास भएको छैन । कति पय ठाउँमा सडक पुगेको छैन बिरामीको घर सडको पहुँच भन्दा धेरै टाढा छ । स्वास्थ्यकर्मीको टिम घर घरमा पुग्न सम्भव छैन । केही चुनौती छन् भने केही सहज पनि छ । पालिकामा आएका चुनौती र समस्याको समाधान गर्नको लागि जनप्रतिनिधि, कर्मचारी आदि सबै खटी रहनु भएको छ । चुनौतीको समाधान गरी अगाडी बढ्नुपर्ने अवस्था छ । जोखिम न्यूनीकरण गर्नको लागी पालिकामा बजेट अभाव छ कि छैन ? यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव छ । कोरोना रोकथाम र नियन्त्रणको लागि जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागि बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागि खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । विकास निर्माणको काम र योजनाहरूलाई रोकेरै भए पनि कोरोना महामारी नियन्त्रण गर्नमा खर्च गरेका छौं । संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ, यो नियन्त्रणमा भावी योजना कस्तो बन्दैछ ? विकास निर्माणको भावी योजना तयार गरे जस्तो यो महामारीको भावी योजना बनाएर सक्ने अवस्था छैन । यसको ठुलो व्यवस्थापन भनेको नै स्वास्थ्य मापदण्ड अपनाउनु हो । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग कसरी समन्वय गरिरहनु भएको छ ? स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग हाम्रो समन्वय भइरहेको छ । पालिकमा २ ओटा प्रहरी चौकीे छ । यी २ ओटा प्रहरी चौकीले गाउँपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गर्न ठुलो सहयोग गर्नु भएको छ । यो महामारी न्यूनीकरण गर्नको लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । कन्ट्याक्ट ट्रेसिङको दायरालाई कसरी फराकिलो बनाउने यी यावत् कुराहरूमा हामीले छलफल गरेका छौँ । अर्को कुरा आफ्नो ज्यान जोखिममा मोलेर अहोरात्र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिरहनुभएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । उहाँहरूले कोरोना रोकथाम तथा नियन्त्रणका लागि जनतालाई निषेधाज्ञा पूर्ण रूपमा पालना गराउनका लागि ठुलो भूमिका निर्वाह गर्नुभएको छ । उहाँहरूको योगदानको प्रशंसा गरेर सकिँदैन । बिरामीको सुरक्षा नै स्वाथ्यकर्मीले गर्ने हो । स्वास्थ्यकर्मी भनेको भगवानको दोस्रो रुप पनि हो । त्यसैले स्वास्थ्यकर्मीले जानेको, सकेको र आफुले भ्याएसम्मको काम गर्नुपर्छ भनेर स्वास्थ्यको टिमलाई भनेका छौं । स्वास्थ्यकर्मीलाई परिचालन गर्ने कुरामा मात्र नभई उनीहरूले गरेको कामलाई सम्मान गर्दै जोखिम भत्ता पनि दिने कुरा भएको छ । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, त्यो समयमा तपाईंले जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला त ? चुनाव हाम्रो विषयको कुरै होइन । चुनाव गराउने सङ्घीय सरकारले हो । सङ्घीय सरकारका मातहतमा रहेका थुप्रै चुनाव गराउने निकायहरू नै परिचालन हुने हो । त्यही आधारमा हामी जसरी कोरोना नियन्त्रणमा लागेका त्यसरी नै सङ्घीय सरकारले यसको व्यवस्थापन गर्छ । कोभिड–१९ ले नेपालमा पनि महामारीको बढ्दो रूप लिएको हुँदा चुनावलाई भन्दा हाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने आजको आवश्यकता हो । सबै मानिसलाई बचाईसकेपछि मात्र चुनाव गर्नुपर्ने आवश्यकता हुन्छ । हामी स्थानीय तहका जनप्रतिनिधि र स्थानीय सरकारको काम चाहिँ जति खेर पनि जनतासँग हुन्छ । कोरोना भाइरसको महामारीले जनजीवन अस्तव्यस्त बनाएको अवस्था छ । अहिलेको अवस्थामा राज्यको प्राथमिकतामा नागरिकको जीवन रक्षा पर्नुपर्ने हो । जनतालाई कोरोनाबाट हामी सुरक्षित राख्न चाहन्छौं । यो समयमा सबै जना मिलेर यो विश्व महामारीको रूपमा फैलिएको कोभिडलाई रोक्नु पर्छ । यो महामारीलाई नियन्त्रण गर्नमा सबै जना लागि पर्यौं भने यो अवश्य नियन्त्रण हुन्छ ।