चितवनमा बन्दैछ सवा १ अर्ब लागतको भव्य सिटी हल, अन्तर्राष्ट्रिय स्तरको सुविधा

काठमाडौं । चितवनको भरतपुरमा सुविधा सम्पन्न भव्य सिटी हल निर्माण भइरहेको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा सिटी हललाई निर्माण गरिरहेको हो । निर्माणाधीन अवस्थामा रहेको सिटी हलको २२ प्रतिशत काम सम्पन्न भइसकेको महानगरको भनाई छ । महानगरका अनुसार महानगरपालिकाले महत्वकांक्षी योजनाका रूपमा सिटी हल निर्माणको काम अगाडि बढाइरहेको छ । महानगरको गौरवको आयोजना भित्र पर्ने सिटी हल अन्तर्राष्ट्रियस्तरको नमुना मोडेल तथा सेवा सुसिवधाहरु हुने आयोजना प्रमुख प्रकाश अर्यालले बताए । उनका अनुसार हालसम्म २२ प्रतिशत काम सकिएको छ भने बाँकी ७८ प्रतिशत काम भवन निर्माणको समय अवधि भित्र नै सकिने छ । महानगरपालिकाले भरतपुर–१० मा रहेको जिल्ला समन्वय समितिको ४ विघा जमीनमा आधुनिक सिटी हलको निर्माण भइरहेको छ । जमिन मुनीको काम सकिएर अहिले पिलर तथा ढलानको काम भइरहेको आयोजना प्रमुख अर्यालले बताए । उक्त भवनको लागत अनुमान भ्याट हित एक अर्ब २० करोड ३ लाख ७३ हजार ७ सय ६९ रहेको छ भने सम्झौता रकम भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रहेको छ । हालसम्म १४ करोड रुपैयाँ भुत्तानी भइसकेको अर्यालको भनाई छ । महानगरको सहरी विकास मन्त्रालयसँग भवन निर्माण गर्न महानगरले २०७७ मंसिर २८ गते सम्झौता गरेको थियो । उक्त हल २६ महिना अर्थात् २०७९ फागुन १७ गते भित्र निर्माण सम्पन्न भइसक्नु पर्नेछ । महानगरले संघीय सरकारको सहयोगमा उक्त हल निर्माणको काम सुरुवात गरेको हो । निर्माणाधीन सिटी हल निर्धारित समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित द्रुत गतिमा काम भइरहेको अर्यालको भनाई छ । उक्त हलको उचाइ २५ मिटरको हुनेछ । ‘पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ, अन्तर्राष्ट्रिय स्तरको बन्ने भनिएको आधुनिक सिटी हल दुई हजार जना मानिस अट्न सक्ने क्षमताको हुनछ,’ उनले भने । हल निर्माणको कार्य तीव्र गतिमा भइरहेकोले तोकिएको समय अगावै गुणस्तरीय सिटी हल निर्माण हुने अर्यालको भनाइ छ । सिटी हलका लागि आवश्यक निर्माण सामाग्रीदेखि स्थानीय स्तरमा उत्पन्न हुने कुनै पनि समस्या समाधानका लागि महानगर प्रतिवद्ध रहेको पनि अर्यालले जनाए । अहिले दैनिक ९० जना कामदार सिटी हल निर्माणको काममा खटिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल निर्माण गरेको महानगरपालिकाले जनाएको छ ।

तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग

काठामाडौं । स्थानीय तहको निर्वाचन समयमा गर्न गाउँपालिकाले संघले माग गरेको छ । संघले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्यरुपमा गरिसक्नु पर्ने माग राखेको हो । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तिमा १ सय २० दिनको समय चाहिने बताईरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको संबिधान बमोजिम पुर्नसंरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिँदैछ । संघीय प्रणालीमा तहगत सरकारमा जनप्रतिनिधिवेगरको कार्यकारी निकाय कल्पना नै गर्न नसकिने र स्थानीय तहको कार्यकारी निकाय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकोले संबैधानिक संकट आउने सक्ने संघले जनाएको छ ।

विराटनगरमा प्रधानमन्त्री पार्क बन्ने, ७ करोड रुपैयाँ विनियोजन

फाइल फाेटाे काठमाडौं । विराटनगर महानगरपालिकाले वडा नं. २ र ७ मा प्रधानमन्त्री पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले पर्यटन प्रवर्धनका लागि उक्त पार्कको निर्माण गर्न लागेको हो । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी हाल टेन्डरेको प्रक्रियामा पार्कको काम अगाडि बढेको महानगरपालिकाका सामाजिक विकास अधिकारी पुन बहादुर दाहलले बताए । सो पार्कमा विराटनगरभित्र प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिने छ । अधिकारी दाहलका अनुसार आकर्षक बोटबिरुवा र पूर्वाधारसमेत तयार गरी पार्क निर्माणको योजना छ । उक्त पार्क निर्माणको कामकाे आन्तरिक विश्लेषण महानगरपालिकाले आफैले गरिरहेकाे छ । पार्क निर्माणको लागि डीपीआर भएको छैन, यसको डिजाइन बनिसकेको छ, डीपीआर र यसको सपुर्ण प्रक्रिया सकेपछि टेन्डर गर्ने तयारीमा छौं,’ उनले भने । उक्त पार्क निर्माणको लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । सो पार्क टेन्डर भई निर्माण सुरु भएको २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ । उक्त समय अवधि भित्र नसकिए थप समय गरेर भए पनि पार्क निर्माणको योजना महानगरले बनाएको छ । पार्क आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी पार्क निर्माण हुने महानगरपालिकाले जनाएको छ । ‘उक्त पार्कको काम चालु आर्थिक वर्षबाट नै सुरु हुन्छ, पार्क निर्माण गर्ने टेन्डर सम्भवत यही १५ गते भित्र निस्कने छ,’ उनले भने । टेन्डर भएको ६१ दिनमा पार्कको शिलान्यास हुने दाहलले बताएका छन् ।