काठमाडौं महानगरभित्र २१ सय स्मार्ट बत्ती जडान हुँदै, देशभरका सडक झलमल्ल पार्ने कुलमानको योजना
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सडकका विभिन्न रुटमा २१ सय वटा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने भएको छ । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी बत्ती जडान गर्न लागेको हो । रातको समयमा सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ उक्त लाइट जडान गर्न लागेको महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए । स्मार्ट स्ट्रीट लाइट जडानको लागि आवश्यक काम हाल विद्युत प्राधिकरणबाट भइरहेको छ । ‘महानगरसँग सम्झौता भई उक्त काम प्राधिकरण मार्फत गर्ने भनिएको हो, प्राधिकरणले टेन्डर गरेर सम्झौताको प्रक्रिया अगाडि बढाएको छ,’ थापाले भने । विद्युत प्राधिकरणका अनुसार भ्याट सहित १२ करोड रुपैयाँको लागतमा काठमाडौं महानगका विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् । यसमा ६० प्रतिशत महानगरले र ४० प्रतिशत प्राधिकरणको खर्च गर्दैछन् । महानगसँग सम्झौता भएर काम सुरु भएको ४ महिनाभित्र बत्ती जडान गरी सक्ने योजना रहेको प्राधिकरणले जानकारी दियो । एयरपोर्टबाट बानेश्वर हुँदै कलंकीसम्म, माइतीघरबाट महारागंज हुँदै चक्रपथसम्म र बल्खुमा गरी करिब ६० किलोमिटर सडकमा स्ट्रीट लाइट जडान गर्न लागिएको प्राधिकरणका इन्जिनियर विराट शर्माले जानकारी दिए । ‘प्राधिकरणको तर्फबाट प्रक्रियागत काम गरिसकेका छौं, महानगरबाट आउन बजेट आएको छैन, बजेट आएपछि महानगरसँग सम्झौता गरी लाइट जडानको काम सुरु हुन्छ,’ उनले भने । इन्जिनियर शर्माका अनुसार स्मार्ट बत्ती अरू सडक बत्तीभन्दा फरक हुनेछन् । प्राधिकरण र महानगरबीच यो हप्ता सम्झौता भयो भने काम सुरु गरेको ४ महिनामा बत्ती जडान भइसक्छ । महानगरका अधिकांश सडकमा बत्ती नहुँदा सवारी चालक र यात्रुले समस्या भोग्नु परेको छ भने रातका समयमा सडक दुर्घटना पनि बृद्धि भइरहेको छ । यस्तै, महानगरपालिकाले ९ करोड ९० लाख रुपैयाँ लागतमा काठमाडौंका ८० ठाउँमा हाइमेक्स बत्ती जडान गर्न योजना पनि अगाडि सारेको छ । लाइट जडान गरेको १७ वर्षसम्म ढुक्क स्मार्ट बत्ती जडान भएको १७ वर्षसम्म टिक्ने प्राधिकरणका इन्जिनियर सागर ज्ञवाली बताए । सडकमा एउटा वटा बत्ती १२० वाटको हुनेछ । ज्ञवालीका अनुसार लाइटको डाटा प्राधिकरणले सर्भर लिइरहेको हुन्छ, बिग्रिएको २४ घण्टाभित्र लाइट बनाइ सक्नु पर्छ, सुरक्षा र बत्ती हिसाबले यो लाइट आकर्षक रहेको छ । विद्युत प्राधिकरणसँग वत्तीको अवस्था बारे जानकारी दिने कन्ट्रोल रुम पनि रहेको ज्ञवालीले बताए । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरू आउँदा आफैं बल्ने छन् । १३ पालिकामा लाइट जडान गर्दै प्राधिकरण नेपाल विद्युत प्राधिकरणले १३ पालिकासँग सम्झौता गरी स्मार्ट स्ट्रीट लाइट जडानको काम अगाडि बढाएको छ । प्राधिकरणले काठमाडौं वाहेक ललितपुर, पोखरा, भरतपुर महानगरका सडकको विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गर्ने योजना अगाडि सारेको हो । प्राधिकरणले भक्तपुरको विभिन्न ठाउँमा बत्ती जडान गरिसकेको छ । प्राधिकरणका अनुसार पोखरामा ११ करोड रुपैयाँमा १७ सय बत्ती, भरतपुरमा २ हजार बत्ती १२ करोडको लागतमा जोड्ने योजना रहेको छ । बेलका, भीमदत्त, भीमेश्वर र कनकाई नगरपालिकामा पनि लाइट जडान गर्ने काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिए । बुढानिलकण्ठ, कीर्तिपुर, महालक्ष्मी, फिदिम र कटहरी नगरपालिकामा बत्ती जडान गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल भर एक लाख स्मार्ट स्ट्रीट लाइट जडान गर्ने योजना राखेका थिए । घिसिङले उज्याले सहर अभियान सञ्चालन गरी नेपालभर लाइट जडान गर्नको लागि पालिकाहरुलाई आव्हान पनि गरेका थिए । यस कार्यक्रममा सहभागी हुन थप २५ नगरपालिकाले निवेदन दिएका प्राधिकरणले जनाएको छ । रात्रिकालिन बिजुलीको खपत बढाउने उद्देश्यले सडकमा बत्ती जडानलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको हो । नेपालभरका सडकमा लाइट जडान गर्दा साँझको समयमा थप १ सय मेगावाट विद्युत खपत हुने प्राधिकरणको अनुमान छ ।
रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिन्छ: मेयर दाहाल
काठमाडाैं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छिन् । मेयर दाहालले धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी हुन् । दहालले धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताएकी छिन् । मेयर दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।
यसरी भयाे टेम्केमैयुङमा बिजुली, सडक र पर्यटकीयस्थलको योजनाबद्ध विकास
भोजपुर । बिजुली बल्ने सपना बोकेर बसेका टेम्केमैयुङ गाउँपालिकावासी अहिले हर्षित भएका छन् । विद्युत् विस्तार भएपछि अहिले तिनको दैनिकीमा नै परिवर्तन आएको छ । दक्षिणमा पिखुवा खोलादेखि उत्तरमा मैयुङ डाँडासम्म फैलिएको सो स्थानीय तहका कुनाकुनाका बासिन्दाले अहिले विद्युत्को केन्द्रीय प्रसाण लाइनको उपभोग गरेका छन् । गाउँपालिकाको करिब छ करोड तथा नेपाल विद्युत् प्राधिकरणको बाँकी आर्थिक– प्राविधिक सहयोगमा यहाँका विकट स्थानमा विद्युत् विस्तार भएको छ । प्रदेश १ मा रहेका १३७ स्थानीय तहमध्ये ‘उज्यालो गाउँपालिका’ घोषणा गर्ने पहिलो स्थानीय तह हो । यसलाई गत वर्ष कात्तिकमा उज्यालो गाउँपालिका घोषणा गरिएको हो । चुनावका समयमा घोषणापत्रमा उल्लेख गरिएअनुसार विद्युत् विस्तारमा पूर्णता दिइएको र त्यससँगै पर्यटन, सडक विस्तार तथा आवश्यक पूर्वाधार निर्माणमा पनि काम गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए । ‘मैले जनतालाई दिएको वचनअनुसार काम गरेको छु,’ अध्यक्ष राईले भने, ‘ठूलो भूगोल भए पनि मैले यहाँका गाउँबस्ती उज्यालो बनाएको छु । विद्युत् विस्तारमा जनतासँगै कर्मचारी तथा प्राविधिकको ठूलो साथ पाएँ । म आफैँ पोल गाड्न र तार टाँग्न हिँडेँ । जनताले प्रत्यक्ष देखेका छन् । भौगोलिक विकटताका कारण विद्युत् लाइन विस्तार गर्न निकै कठिन भए पनि त्यसलाई सम्भव बनाएर मैले मेरो लक्ष्य पूरा गरेँ ।’ एउटादेखि दुई घरसम्मका विद्युत् पुर्याउन कुनैकुनै स्थानमा १९ लाखसम्म खर्च भएको उनले जानकारी दिए । ‘हाम्रो गाउँसम्म विद्युत् आउला भन्ने हामीले सोचेकै थिएनौँ । स्थानीय तहको सरकार आएपछि हाम्रो जस्तो विकट ठाउँमा विद्युत् बल्यो । गाउँपालिकाकाले गरेको यो काम निकै प्रशंसा गर्नलायक छ’, वडा नं २ रुमला पञ्छीका फुर्तेन्जी शेर्पाले भने । उनका अनुसार अलिक हुनेखानेले सोलार बालेका थिए तर त्यो पनि चिसो तथा हुस्सुका कारण प्रयोग ल्याउन समस्या थियो । ‘टुकी बत्तीको उज्यालोमा बस्दै आएका हामीले अब नेट इन्टरनेट चलाउन पाएका छौँ । टेलिभिजन हेर्न पाएका छौँ । विद्युतीय मिल चलाउन पाएका छौँ । अहिले हाम्रो दैनिकी नै फेरिएको छ’, उनले भने । सडक विस्तार गाउँपालिकाले योजनाबद्ध सडक विस्तारमा जोड दिएको छ । सीमित बजेट अधिकतम रुपमा प्रयोग गर्दै आफूले नेतृत्व सम्हालेपछि १०४ किलोमिटर कच्ची सडक विस्तार गरिएको गाउँपालिकाले जनाएको छ । आफ्नो कार्यकालमा साढे बीस किमी सडक ग्राभेल भएको र नयाँ ट्रयाक बनेको गाउँपालिका अध्यक्ष राईले बताए । यहाँका हरेक गाउँबस्तीमा आवश्यक मापदण्डअनुसारको सडक विस्तार गरिएको उनको भनाइ छ । ‘गाउँबस्तीलाई सहज हुने गरी सीमित स्रोतमा उपलब्धिमूलक काम गर्ने योजनाअनुसार सडक विस्तारमा जोड दिएको छु’, अध्यक्ष राईले भने,‘हाम्रो गाउँपालिकामा महत्वपूर्ण ठूला सडकसँगै कृषि सडक पनि विस्तार भएको छ । यसको थप स्तरोन्नति गर्ने अबको योजना छ ।’ बाघखोर–तिम्मा खम्बुखा सडक स्तरोन्नतिको काम सकिएको छ । भोजपुरको चक्रपथका रुपमा विकास हुँदै गरेको सो सडक सङ्घीय सरकारको दुई करोड लागतमा स्तरोन्नति गरिएको हो । वडा कार्यालय तथा गाउँपालिकाका पहलमा केन्द्रबाट बजेट विनियोजन भएपछि स्तरोन्नतिको काम भइरहेको हो । सडक स्तरोन्नतिले विगतका दिनमा कष्टकर यात्रा गर्दै आएका स्थानीयवासीलाई राहत पुगेको वडा कार्यालयले जनाएको छ । टेम्केमैयुङ–१ का वडाध्यक्ष नरबहादुर राईले भने,‘भोजपुर सदरमुकामसंँग सहज पहुँच बनाउने यो सडकको स्तरोन्नति गरेका छौँ । सडकलाई १२ महिना नै सञ्चालनमा ल्याउने हाम्रो लक्ष्य हो । सडकलाई सेती बगरसम्म विस्तार गर्नका लागि गाउँपालिकाले काम गरेको छ ।’ वडामा आउने थोरै बजेटमा पनि सरोकार निकायसँंग समन्वय गरेर स्वास्थ, शिक्षा, कृषि, सडक विस्तारलगायत काममा वडा कार्र्यालयले गरिरहेको कामको स्थानीयवासीले प्रशंसा गर्दै आएका छन् । टोलबस्तीसम्म कृषि सडक विस्तारमा वडा कार्यालयले भूमिका खेलिरहेकाले स्थानीय उत्पादनलाई भोजपुर बजारसम्म लैजान विगतका दिनभन्दा केही सहज भएको स्थानीयवासी बताउँछन् । सडकलाई १२ महिना सञ्चालन हुने तवरबाट विस्तार गरिनुपर्ने उनीहरूको भनाइ छ । स्थानीयवासी देवेन्द्र राउतले भने,’सडक विस्तार भएसँंगै हाम्रो जीवनस्तरमा समेत परिवर्तन भएको छ । घण्टौँसम्म डोकामा बोकेर यहाँका कृषिजन्य उपजलाई बजारसम्म लैजानुपर्ने अवस्था थियो, अहिले घरदैलाबाट नै बजार लैजान पाएका छौँ । सडक विस्तारलगायत अन्य क्षेत्रमा स्थानीय तहले खेलिरहेको भूमिकाप्रति हामी खुसी छौँ ।’ गाउँपालिका क्षेत्रको करिब ७५ किमी क्षेत्रमा चक्रपथ विस्तार हुने अध्यक्ष राईले जानकारी दिए । सो सडकले वडा नं १ तिम्मा, २ छिनामखु, ४ अन्नपूर्ण र नागी, ५ खावा, ६ र ७ कोट, ८ गोगने र ९ लेखर्कलाई सडक पहँुचमा जोड्ने बताइएको छ । अध्यक्ष राईले भने, ‘हामीले नयाँ सडक विस्तार भएका ठाउँमा त्यसको स्तरोन्नतिको कामलाई पनि अघि बढाएका छौँ । गाउँपालिकाको बजेटले नपुग्ने ठाउँमा केन्द्र र प्रदेश सरकारलाई पनि सहयोग माग गरेर काम गरिरहेका छौँ ।’ तिम्मामा रहेको तीन भंँगालेबाट कपासेभञ्याङसम्म सडक विस्तार भएको छ । त्यस्तै गाउँपालिका केन्द्रबाट चोलन्ती हुँदै कोट, गोगने र लेखर्क जोड्न ग्राभेलको काम भइरहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै गुम्बाबाट कोट पाँचधारे र चोलन्तीबाट मझौले हुँदै पाँचधारे जोड्ने सडकको पनि स्तरोन्नतिको काम तीव्र गतिमा भइरहेको छ । पर्यटन क्षेत्रको विकास गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासमा लाखौँ खर्च गरिसकेको छ । ‘मुन्धुम पदमार्ग’लाई नेपाल सरकारको १०० घुम्नैपर्ने गन्तव्यभित्र सूचीकृत गरिएको छ । यहाँको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रुपमा ‘टुरिज्म हब’ बनाउने लक्ष्य रहेकोे गाउँपालिकाले जनाएको छ । सन्तुलित हावापानी भएको अल्पाइन जोन पदमार्गका लागि उपयुक्त भएको र लेक लाग्ने समस्या नहुने पर्यटनसँग विज्ञ बताउँछन् । प्राकृतिक मनमोहक दृश्यावलोकन गर्न तथा हिमाल जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानीयुक्त अल्पाइन जोनमा रमाउन सकिने विश्वमै दुर्लभ प्रमुख पदमार्गका रुपमा मुन्धुम पदमार्ग स्थापित हुने गाउँपालिकाको भनाइ छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन र पर्यटनलाई व्यवसायीकरण गर्न सो पदमार्गले सहयोग पुर्याउने विश्वास गाउँपालिकाले लिएको छ । अध्यक्ष राईले भने, ‘हाम्रो धेरै प्रयास र मेहनतपछि यो पदमार्ग अहिले देश तथा विदेशी पर्यटकको चासोको रुपमा हेरिएको छ । विदेशी पर्यटकहरू यहाँका घुम्न आउन थालेका छन् तर कोभिडका कारण केही असर पुगेको छ । यस्ता धेरै पर्यटकीय क्षेत्रको विकासमा हामीले काम गरिरहेका छौँ । पर्यटकीय क्षेत्रको विकास गरेर आर्थिक स्रोत सङ्कलन गर्ने पनि हाम्रो लक्ष्य छ ।’ मुन्धुम पदमार्गले यहाँका वन्यजन्तुको आरक्षण क्षेत्रका रुपमा विकास गर्न सकिने सम्भावना बोकेकाले पर्यटन व्यवसाय फस्टाउने सम्भावना रहेको पर्यटनको क्षेत्रका विज्ञ बताउँछन् । पदमार्ग अङ्ग्रेजी अक्षर ‘वाई’ आकारमा निर्माण भइरहेको छ । सो पदमार्ग भोजपुर र खोटाङको सिमाना तावा भञ्ज्याङ– चखेवा भञ्याङ– धोद्रे–हाँसपोखरी–तारा खसको –बलौटे भञ्ज्याङ– लौरी भञ्ज्याङ– निकास माने हुँदै भोजपुरको सबैभन्दा अग्लो चुचुरो सिलिचुङ डाँडामा पुगेर एकराते– पखुवा भञ्ज्याङ– बाघखोर– सुन्तले– बाघखोर हुँदै भोजपुर नगरपालिका– १० भैसीपङ्खाको साम्पाङ चोकमा आएर टुङ्गिन्छ । पर्यटकलाई लक्ष्य गरेर ८८ किमी पदमार्ग निर्माण भइरहेकामा हालसम्म ६२ किमी बनेको छ । भोजपुरका चार र खोटाङका दुई स्थानीयतहलाई लक्ष्य गरेर पदमार्ग निर्माण भइरहेको छ । पदमार्ग टेम्केमैयुङ, भोजपुर र षडानन्द नगरपालिका, साल्पाछिलिछो गाउँपालिका तथा खोटाङका साकेला र केपीलासगढी गाउँपालिकामा विस्तार भइरहेको छ । गाउँपालिकाले महभिर झर्नाको विकासमा समेत काम गरिरहेको छ । गाउँपालिका केन्द्रबाट नजिकै रहेको सो झर्ना आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । करिब ६० मि अग्लो झर्नाको मनोरम दृष्य र भिरमौरी हेर्नका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन् । सदरमुकामबाट २९ किमी र गाउँपालिका केन्द्रबाट करिब चार किमी पश्चिममा अवस्थित झर्नामा बाह्रै महिनामा उत्तिकै मात्रामा पानी बग्ने गर्छ । दैनिक १० देखि १२ समूह झर्नास्थलमा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाले पदमार्गसंँगै आवश्यक संरचना निर्माण दिएपछि पर्यटकलाई झर्नासम्म पुग्न निकै सहज भएको छ । त्यस्तै सावा झर्नाको विकासका लागि पनि काम भइरहेको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रमा पनि नमूनायोग्य काम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई फुसको छानोमुक्त अभियानअन्तर्गत यहाँका करिब ८०० परिवारलाई जस्तापाताको छानो वितरण गरिएको छ । नौ वडामध्ये अब तीन वटा वडा मात्र फुसको छानोमुक्त गर्न बाँकी छ । ती वडामा पनि काम भइरहेको छ । त्यस्तै स्वास्थ्य क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माणको काम भइरहेको छ । राम्रो स्वास्थ्य संरचना निर्माण गरेर स्वास्थ्य सेवाको विस्तार गरिए पनि स्वास्थ्यकर्मीको भने अभाव रहेको बताइएको छ । कृषिमा आधुनिकीकरण गर्ने लक्ष्यका साथ काम भइरहेको गाउँपालिका कृषि शाखाले जनाएको छ । शैक्षिक क्षेत्रको विकासका लागि भौतिक संरचनाको विकासँगै आधुनिक शिक्षामा जोड दिइएको गाउँपालिकाको भनाइ छ । रासस