कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए । यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् ।
ओखलढुंगामा कांग्रेस कार्यकर्ताले च्याते मतपत्र
ओखलढुङ्गा । चिसंखुगढी गाउँपालिकामा कांग्रेसका प्रतिनिधिले मतपत्र च्यातेका छन्। वडा नं ३ को मतगणना भइरहँदा विवाद भएपछि मतपत्र च्यातेको प्रहरीले जनाएको छ । कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न स कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । चिसंखुगढीमा माओवादी-कांग्रेसको तालमेल छ । पालिकामा गठबन्धन विजयी भइसकेको छ । वडानम्बर ३ मा माओवादी र कांग्रेसकै वडाअध्यक्षको उम्मेदवारको मत बराबरी आएपछि पुनः मतगणना थालिएको थियो । अहिले मतगणना रोकिएको छ ।
घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी
तनहुँ । घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले जीत हासिल गरेको हो । गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा चार हजार ३३१ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गङ्गा कुमालले तीन हजार ५५४ मत प्राप्त गरेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए । उपाध्यक्षमा एमालेकै राधादेवी अधिकारी चार हजार ४८१ मत प्राप्त गरी निर्वाचित भएकी छन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार पूर्णबहादुर थापाल दुई हजार ७४७ मत प्राप्त गरे । घिरिङ गाउँपालिकाको पाँचवटा वडामध्ये तीन वटामा एमाले र दुई वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।