विजयभन्दा रेनु २२० मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छिन् । रेनु २२० मतले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा अगाडि रहेकी छिन् । रेनुले ६ हजार ६७२ मत प्राप्त गर्दा विजयले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

एकै मतले बाजी मार्ने विजयी उम्मेदवारहरु

महोत्तरी । थाक लगाइएका मत गणना भएर घट्दै गएपछि तीव्र प्रतिस्पर्धाका उम्मेदवारमा छटपटी बढ्न थाल्छ । दुई÷तीन मतमात्र गन्न बाँकी छँदा मतगणना गर्ने कर्मचारी भन्छन्, ‘ल, वडाध्यक्षमा गोलाकारभित्रको हँसिया हथौडा एक। एक मतले यो चिह्न बढ्यो । अब दुई मतमात्र गन्न बाँकी छ’, अर्को मतपत्र लिँदै ती कर्मचारी भन्छन्, ‘ल जेब्राको एक।’ वडाध्यक्षमा मत बराबर हुन्छ । अब घोप्टिएको अन्तिम एकमात्र मतपत्र गन्न बाँकी छ । ब्यग्रता बढ्दैछ, सम्बन्धित उम्मेदवार र उमेद्वारका गणना प्रतिनिधिको । ‘ल, यो पनि वडाध्यक्षमा जेब्राको’ कर्मचारीको यो भनाइले एकथरिमा खुसी र अर्को पक्षमा सन्नाटा छाउँछ । बर्दिवास नगरपालिका–१४ को मतगणनास्थलको दृश्य यो सोमबार रातीको हो। हो, यस्तै ब्यग्रताबीच जेब्रा चिह्नका वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विजयकुमार महतोले नेपाली कांग्रेसका भरत हमाललाई एक मतले पछि पार्दै विजयी भए । महतोको प्राप्त मतमा अन्तिम मतपत्रले ५०८ पु¥यायो । हमाल ५०७ मै अडे । एकै मतले विजयी ! जिल्लामा एकै मतले वडाध्यक्ष पद हात पर्ने महतोजस्तै अन्य दुई पनि छन् । बर्दिवास–७ मै यसअघि जेब्रा चिह्नकै रामसोगारथ यादवले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुरेन्द्रकुमार सिंह कोइरीलाई पछि पारे । कोइरीले ७२६ र यादवले ७२७ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरिसकेको छ । यो गणनामा पनि बर्दिबास–१४ कै जस्तो व्यग्र कौतुहलता भएको थियो । गणनास्थलका सबैको आँखा अन्तिम मतपत्रमै गडेको देखिन्थ्यो । यसैगरी गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा एकै मतले जित हात पार्ने अर्का भाग्यमानी जिल्लाकै महोत्तरी गाउँपालिका–१ का लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी हुन् । उनी ३६६ मत प्राप्त गरी विजयी हुनुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का मोहम्मद अनामुल राइनले ३६५ मै अडेर हार बेहोर्न बाध्य हुनप¥यो । त्यहाँ पनि एकै मतले विजयी ! एकै मतले विजयी भएका तीनै जनाले ‘जनताको विश्वासको परिणाम’ भन्दै वडाका सबै जनतालाई काखापाखा नगरी सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । ‘अहिले व्यक्त मतको उच्च सम्मान गर्छु, जनताको सेवामा समर्पित हुन्छु’, बर्दिबास–१४ का नवनिर्वाचित वडाध्यक्ष महतोले भने । महोत्तरी–१ का चौधरी र बर्दिवास–७ कै यादवले पनि महतोको जस्तै प्रतिबद्धता जनाएका छन् । निर्वाचनमा होमिएका उम्मेदवारलाई हार वा जितको नतिजा स्वभाविक नै भए पनि एक मतको फरकले भने हार्नेलाई पिरोल्दो रहेछ । मतदानमा छुटेका कैयौँ आफन्तलाई सम्झँदै ‘उहाँ आउनुभएको भए त…’ भन्ने पनि भेटिएका छन् । सर्वसाधारणले पनि एक मतको हारजितलाई खास घटनाका रुपमा लिएका पाइएको छ । ‘जित्नै रहेछ, दुई अझै थपिएको भए त हुन्थ्यो नि !’ बर्दिबास–७ की मतदाता मुना खत्रीले भने, ‘एकै मतले भन्ने सुन्दा हार्ने र सुन्नेलाई ज्यादै थकथक लाग्ने रहेछ ।’ जिल्लामा अहिले मुस्किलले ४० प्रतिशत मतपरिणाम सार्वजनिक भएको छ । मतगणना जारी रहेका स्थानीयतहरुमा अझै एकै मतको विजयत्रात्रा हेर्न र देख्न पाइने सम्भावना रहेको प्रतिक्रिया दिने पनि भेटिएका छन् । ‘अझै यस्तो देखिन सक्छ तर कामना गर्छु, त्यस्तो नहोस्’, बर्दिवास–१४ का मतदाता सुकन महतोले भने, ‘जित्ने र हार्नेलाई कस्तो के लाग्यो कुन्नि ! मलाईचैँ अझै एकमतले रन्काइरहेको छ ।’

रसुवाको नौकुण्डमा कांग्रेस विजयी

रसुवा । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिइन् । यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिइन् । यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गरे । यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन् । गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ ।