दिक्तेल रूपाकोट मझुवागढीको मेयरमा तीर्थराज र उपमेयरमा विशन निर्वाचित

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तीर्थराज भट्टराई र उपमेयरमा माओवादीका विशन राई निर्वाचित भएका छन् । भट्टराइले ११ हजार ३८९ मत ल्याई निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुमारप्रसाद आचार्यले ३ हजार ९९६ मत ल्याई दोस्रो भए । यस्तै, माओवादीका उम्मेदवार राई १० हजार ४३८ मत ल्याई उपप्रमुखमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी उम्मेदवार विणादेवी राईले ७ हजार ३१९ मत ल्याएकी छिन् ।

कामपा–५ मा एमालेका प्रजापति विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–५ मा नेकपा (एमाले) को तर्फबाट वीरेन्द्र प्रजापति विजयी भएका छन् । प्रजापतिले नेपाली कांग्रेसका निकटतम् प्रतिद्वन्द्वी रमेश डङ्गोललाई २५३ मतले पछि पार्दै विजयी भएका हुन् । प्रजापतिले एक हजार ८१८ मत प्राप्त गर्दा डङ्गोलले एक हजार ५७५ मत पाएका थिए । त्यसैगरी सदस्यमा एमालेको तर्फबाट हरिबहादुर महर्जन र कांग्रेसका विजय कर्माचार्य विजय भएका छन् । महिला सदस्यतर्फ कांग्रेसको मीना सिंह र दलित महिला सदस्यमा आरती सुनुवार विजयी भएकाे काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । वडा नं १, २, ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी भएका छन् । कामपाका हाल ३३ हजार ८१३ मतगणना भएको भने जसमा एक हजार २२८ बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।।

रेनु दाहाल १६८४ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ६८४ पुगेको छ । दाहाल नौ हजार ९२४ मतका साथ अग्रस्थानमा छिन् भने सुवेदी आठ हजार २४० मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार ४८८ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ९२० र राप्रपाका हिमला गुरुङले छ हजार ७२२ मत प्राप्त गरेका छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ ।