बागलुङको बडिगाड अध्यक्षमा महिला निर्वाचित, जिल्लामै पहिलो

गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको गण्डकी थापा विजयी भएकी छिन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा जिल्लामा एक मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएकी हुन् । थापाले सात हजार २७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजनकुमार पाइजाले पाँच हजार ७०० मत प्राप्त गरे । पराजित राजनकुमार गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाका छोरा हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि थापा पाइजाको प्रतिस्पर्धी हुन् । ५९२ मतले मेहरसिंह पाइजासँग पराजय भएकाे थापा अहिले उनकै छोरालाई पराजित गर्दै विजयी भएका हुन् । गाउँपालिका उपाध्यक्षमा गठबन्धनकै उम्मेदवार राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले सात हजार १०३ मत प्राप्त गर्दा एमालेका मीनाकुमारी रायमाझीले पाँच हजार ७२७ मत प्राप्त गरेकी छिन् । १० वडा रहेको बडिगाडमा एमालेले ३, कांग्रेसले ३, नेकपा (माओवादी केन्द्र)ले २ र राष्ट्रिय जनमोर्चाले एक स्थानमा विजय प्राप्त गरेका छन् । वडा नं १ मा राष्ट्रिय जनमोर्चाका बोमबहादुर थापा ६८३ मत, २ मा एमालेका ढालप्रसाद शेरचन ६८० मत, ३ मा एमालेका खड्कबहादुर पुन ६८९ र वडा नं ४ मा माओवादी केन्द्र)का मिलन रेश्मी ९७२ मतले विजयी भएका छन् । यस्तै वडा नं ५ मा एमालेका विष्णुप्रसाद आचार्यले, ६ मा कांग्रेसका वीरबहादुर केसी ५३२ मत, ७ मा कांग्रेसका दीपेन्द्र केसी ७६९ मत, ८ मा एमालेका यामबहादुर श्रीष थापा ६८९ मत, ९ मा नेपाली कांग्रेसका कृष्णबहादुर केसी ६६५ र वडा नं १० मा माओवादीका वीरेन्द्रकुमार बुढा मगर ७७४ मतले विजयी भएका छन् ।

रेनु ३ हजार मतले विजयभन्दा अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् । एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।

प्रधानमन्त्रीको जिल्लाको नतिजा : सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

डडेल्धुरा । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले) ले २ र माओवादीले एक स्थानीय तह जितेका थिए । यसपालि एमालेले सबै तह गुमाएको छ भने माओवादीले दुई स्थानीय तह हात पारेको छ । जिल्ला सदरमुकामको अमरगढी नगरपालिकामा कांग्रेसका नगरप्रमुख डिल्लीराज जोशी, उपप्रमुख पार्वती झुकालसहित १० वडा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । यस्तै भित्रिमधेसको परशुराम नगरपालिकामा कांग्रेसका भरत बडायर जोशी तथा उपप्रमुखमा माओवादी केन्द्रका विमला महता निर्वाचित भइन् । यस नगरपालिकाका वडाहरुमा पनि कांग्रेसको सहज जित भएको छ । कांग्रेसले गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका पनि जितेको छ । यहाँका आलिताल र अजयमेरु गाउँपालिकामा नेकपा (माआवादी केन्द्र) आएको छ । उता अजयमेरु गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकी वशन्ती पाल विजयी भएकी छिन् । कांग्रेसले ५२ वडामध्ये २९ वडामा विजय प्राप्त गरेको छ भने माओवादी १४, एमालेले तीन, एकीकृत समाजवादी दुई, विपी कांग्रेस दुई र स्वतन्त्रले दुई वडा जितेका छन् । विसं २०७४ को निर्वाचनमा कांग्रेसले यहाँका १६ वडा मात्र जितेको थियो । अघिल्लो चुनावमा नेकपा (एमाले) ले २० वडा जितेको थियो भने माओवादीले १६ वडा जितेको थियो । अघिल्लो चुनावमा कांग्रेसले चार पालिकामा मात्र विजय भएको थियो । अघिल्लो चुनावमा अमरगढी नगरपालिकामा ५ वडा मात्रै जितेको कांग्रेसले अहिले प्रमुख उपप्रमुखसहित १० वडामा विजय हात पारेको छ । अघिल्लो चुनावमा अमरगढीका प्रमुख र उपप्रमुखसहित ६ वडाअध्यक्ष जितेको एमाले अहिले शून्यमा झरेको छ । त्यसैगरी अघिल्लो चुनावमा परशुराममा प्रमुख र उपप्रमुखसहित तीन वडा मात्रै जितेको कांगे्रसले अहिले सम्पन्न स्थानीय निर्वाचनमा पालिका प्रमुखसहित पाँच वडा जितेको छ । गन्यापधुरामा पनि पहिले कांग्रेसले तीन वडा र अध्यक्ष उपाध्यक्ष जितेको थियो तर अहिले एक वडा बाहेक पालिकाका सबै स्थानमा विजय हासिल गरेको छ । यो प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुरको पालिका हो । अघिल्लो निर्वाचनमा नवदुर्गा गाउँपालिमा अध्यक्ष, उपाध्यक्षसहित दुई वडा मात्रै जितेको कांग्रेस अहिले अध्यक्ष उपाध्यक्षसहित थप दुई वडा जितेको छ र बाँकी तीन वडामा नेकपा (एकीकृति समाजवादी) ले दुई र माओवादीले एक वडामा जित हासिल गरेको छ । भागेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा अध्यक्ष उपाध्यक्ष मात्रै जितेको कांग्रेसले अहिले पालिकासहित चार वडामा जित हासिल गरेको छ । त्यसैगरी यसअघि भागेश्वरमा एमालेले चार र माओवादीले एक वडा जितेकामा अहिले चार वडामा नै कांग्रेसले जित हासिल गरेको छ । अर्काे एकमा स्वतन्त्र उम्मेदबार आएका छन् । डडेल्धुरा कांग्रेसका नेता एवं सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहराले डडेल्धुराका जनताले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाप्रतिको विश्वास यस पटकको स्थानीय तहको निर्वाचनमा प्रकट गरेको बताउँछन्। उनले भने, ‘डडेल्धुरमा गठबन्धन थिएन बरु समझदारीमा सबै दलले आ–आफ्नो तवरबाट निर्वाचनमा उठेका थियौँ र यो देशको विकास गर्ने र मुलुक आर्थिक तथा राजनीतिक सङ्कटमा परेका बेला निकास दिनसक्ने पार्टी नेपाली कांग्रेस र नेता शेरबहादुर देउवा नै हुन् भन्ने विश्वासका साथ यहाँका जनताले स्थानीय तहमा मत दिएका हुन् ।’ नेपाली कांग्रेस डडेल्धुराका सभापति भीम साउदले यसअघिका अरु दलका जनप्रतिनिधिहरुले कुरामात्र गरेका तर विकासका काम नगरेका कारण यसपाली यहाँका नागरिकले कांग्रेसलाई छानेको बताए। नेपाली कांग्रेसको वर्तमान नेतृत्वको नीति, जिल्लाका नेता तथा कार्यकर्ताहरुको सक्रियता तथा जिल्लामा पार्टी सभापति देउवाप्रति यहाँका जनताले गरेको भरोसाका कारण पनि अहिलेको जित हात लागेको उनले बताए । नेपाली कांग्रेस डडेल्धुराकी महासमिति सदस्य सरस्वती खड्काले नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले सुदूरपश्चिमका महिला र त्यसमा पनि डडेल्धुराका महिलामा गरेको लगानीको परिणाम अहिलेको स्थानीय तहको नतिजा हो भन्छिन् । खड्काले भनिन्, ‘डा देउवाले यहाँका महिलाका घरेलु हिंसा तथा उनीहरुमा परेका अनेक समस्या बुझ्ने र तिनको समाधान गरी महिला सशक्तीकरणमा हरबखत आफैँ लाग्ने गर्नुहुन्छ । त्यस्तै पछिल्लो समय उ सुदूरपश्चिममा नै खट्नुभयो र डडेल्धुराका चुनावी सभाहरुलाई पनि सम्बोधन गर्नुभयो । यसका कारण पनि यहाँ हामीले राम्रो परिणाम हात पार्न सकेका हौँ ।’ गएको महाधिवेशनबाट जिल्लामा छानिएको नयाँ नेतृत्वको सक्रियता र सो नेतृत्वले पार्टीका नीति तथा कार्यक्रमहरु जनताको घरघरसम्म पुर्याउन सकेका कारण पनि यहाँको एक समूहले कांग्रेस पार्टी छोडेर अलग भए पनि यो निर्वाचनमा पार्टीले राम्रो परिणाम हात लागेको उनको धारणा छ । स्थानीय निर्वाचनको मतगणना जारी रहेका बेला नागरिकहरुले प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरा र प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी ओलीको जिल्ला झापाको परिणामप्रति चासो राखिरहेका छन् । प्रधानमन्त्रीको जिल्लामा उहाँले नेतृत्व गरेको दल नेपाली कांग्रेसले राम्रो नतिजा प्राप्त गरिसकेको छ भने उता झापाबाट भने परिणाम आइरहेका छन् । रासस