चन्द्रागिरी नगरपालिकामा डेङ्गु रोगको निःशुल्क परीक्षण
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेङ्गु रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइको छ । चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ । नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई डेङ्गु रोगको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जानकारी दिए । उनले भने, ‘नगर क्षेत्रभित्र पनि डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्दो क्रममा देखिएकाले स्वास्थ्य सतर्कता अपनाउन म नगरवासीलाई हार्दिक अनुरोध गर्दछु ।’ अस्पतालका प्रमुख डा हेमनाथ आचार्यले डेङ्गु रोगको निःशुल्क परीक्षण तथा उपचार भइराखेको जानकारी दिए । उनका अनुसार अस्पतालमा हालसम्म जटिल प्रकारका डेङ्गु रोगका बिरामी भर्ना भएका छैनन् । पन्ध्र श्ययाको अस्पतालले डेङ्गु रोग परीक्षणका लागि आवश्यक कीटको व्यवस्था नगरपालिकामार्फत मिलाएको छ । लामखुट्टेको टोकाइबाट डेङ्गु हुने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक रहेको उनको भनाइ छ । डेङ्गुको भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले यो रोग सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ र बर्सातको मौसम सुरु भएपछि डेङ्गु ज्वरोको समस्या बढ्न थाल्दछ । एक्कासि तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुची हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण रहेको डा आचार्यले बताए । डेङ्गुबाट बच्नका लागि मुख्यतयाः लामखुट्टेको टोकाइबाट जोगिनुपर्दछ । पूरा शरीर ढाकिने गरी कपडा लगाउनु, लामखुट्टेको टोकाइबाट बच्न मल्हमजस्ता सामग्री प्रयोग गर्नु, सधैँ राति र दिउँसो पनि झुलभित्र सुत्ने, घरवरपर खेतबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पु¥याउनु यसबाट बच्ने प्रमुख उपाय हुन् । रासस
किसानलाई चीज बनाउन सिकाउँदै गल्याङ नगरपालिका
वालिङ । स्याङ्जाको गल्याङ नगरपालिकाले यहाँका किसानलाई चीज बनाउने सीप सिकाएको छ । दूध उत्पादन बढ्दै गएपछि उनीहरूलाई चीज बनाउने सीप प्रदान गरिएको हो । नेपाली बजारमा चीजको माग बढ्दो क्रममा रहेको र मूल्य पनि राम्रो पाइने भएपछि नगरपालिकाको पहलमा ‘फार्मर टु फार्मर’ कार्यक्रमअन्तर्गत अमेरिकी सरकारको प्राविधिक सहयोगमा ‘मोजरेल्ला चीज’ उत्पादनसम्बन्धी सीप प्रदान गरिएको पशु विकास शाखा प्रमुख सुशील अर्यालले बताए । नेपाली बजारमा चीजको माग उच्च रहेकाले बजारको समस्या नहुने र मूल्य पनि राम्रो पाइने भएकाले किसानलाई नयाँ परिकार उत्पादन गर्नेतर्फ अभिप्रेरित गरिएको उनले बताए । ‘अमेरिकाबाट आएका विशेषज्ञसँगै यहाँका किसानले सीप सिकिरहेका छन्’, उनले भने, ‘स्वादका हिसाबले गुणस्तरीयतामा जोड दिएका छौँ, गुणस्तरीय उत्पादन गरेपछि बजारीकरणको समस्या हुँदैन ।’ गल्याङ–९ गेझास्थित मुरली एग्रोफर्म प्रालिमा अमेरिकाबाट आएका चीज विशेषज्ञमार्फत सीप सिकाइएको हो । दूध उत्पादन गर्दै आएको मुरली एग्रोफर्ममा आवद्ध चार जना किसानसहित स्थानीय १५ जना दुग्ध उत्पादक किसानले सीप सिकेका छन् । चीज गाउँ ठाउँकै लागि नयाँ र नौलो भएकाले पनि यहाँका दुग्ध उत्पादक आकर्षित भएका छन् । ‘दूध उत्पादन गर्दै आएका छौँ, हाम्रो फर्मको उद्देश्य नै यहाँको दूध यहीँ खपत गर्नुपर्छ भन्ने हो’, मुरली एग्रोफर्मका सञ्चालक कुसुम भण्डारीले भने, ‘हाम्रो उद्देश्य अनुरुपकै कार्यक्रम नगरपालिकाले यहाँ सञ्चालन गरिदियो हामी निक्कै खुसी छौँ ।’ गाईपालनसम्बन्धी तरिकासहित चीज बनाउनका लागि निक्कै उत्साहित भएर यहाँका किसान लागेको सञ्चालक भण्डारीको छ । दूधबाट भन्दा पनि चीजबाट मूल्य धेरै पाइने, बजारको समस्या नहुने, नयाँ र नौलो परिकार बनाउने सीप पाएपछि व्यवसाय थप प्रभावकारी हुने उनको दाबी छ । उपभोगसँग मात्रै रमाएको पुस्तालाई उत्पादनसँग जोड्नका लागि नगरपालिका निरन्तर अगाडि बढेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले बताए । घर–घरको आर्थिक विकास नहुँदासम्म पालिकाको समृद्धि सम्भव नहुने उनको बुझाइ छ । ‘गल्याङ नगरपालिका कृषि र पशुपालनमा सम्भावना बोकेको र ग्रामीण भेग भएको ठाउँ हो’, उनले भने, ‘यहाँ जे जे कुराको सम्भावना हुन्छ, यहाँको हावापानी, भूगोलकै आधारमा सम्भावनाको खोजी गरी अगाडि बढ्दै छौँ ।’ युवाशक्ति विदेश पलायन भइरहेको अवस्थामा उनीहरूलाई यहीँ रोक्दै युवा पुस्तालाई उत्पादनसँग जोड्दै आर्थिकस्तर उकास्नका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । नगरपालिकाले यहाँका सम्भावनाको खोजी गर्नुका साथै उत्पादन, बजारीकरण, उचित मूल्य प्राप्तिका लागि पहल गर्ने नीति तथा योजनासहित अगाडि बढेको दाबी उनको छ । चीज विशेषगरी होटल तथा रेष्टुरेन्टमा पिज्जामा प्रयोग गर्नका लागि माग हुने गरेको छ । रासस
बन्दीपुर गाउँपालिकाले दियो १८ विद्यालयलाई कम्प्युटर
तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छ वटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए । शैक्षिक गुणस्तरका आधारमा दण्ड तथा पुरस्कारको नीति अवलम्बन गरेको सो गाउँपालिकाले जनाएको छ । पालिकाका सबै जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा अनिवार्य पढाउनुपर्ने नीति लिइएको छ । ‘एक विद्यालय, एक विज्ञान प्रयोगशाला’ विकासको अवधारणाअनुरुप क्रमशः सबै विद्यालयमा विस्तार गर्दै लैजाने कार्यलाई पनि निरन्तरता दिइएको उनले बताए । गाउँपालिकाले सामुदायिक विद्यालयलाई अपाङ्गतामैत्री, आधारभूत खानेपानी तथा शौचालययुक्त र शिक्षा सिकाइलाई सहयोग पुग्ने सुरक्षित पूर्वाधार विकासमा जोड दिँदै आएको छ । गाउँपालिकामा रहेका सामुदायिक विद्यालयको संरक्षण र संवद्र्धनका लागि गाउँपालिकामा मर्मतसम्भार कोषको स्थापना गर्ने योजना बनाएको छ । आधारभूत तहसम्मको शिक्षालाई प्रवद्र्धन गरी विपन्न, कमजोर तथा पिछाडिएका वर्गका बालबालिकालाई विद्यालय पहुँचमा पु¥याउन विपन्न लक्षित कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाभित्र रहेका गरिब तथा जेहेन्दार कक्षा १२ उत्तीर्ण गरेका छजना विद्यार्थीलाई वार्षिकरूपमा छात्रावृत्ति प्रदान गर्ने नीति अवलम्बन गरिएको छ । प्राविधिक शिक्षालाई प्राथामिकता दिँदै गाउँपालिकाका सबै सामुदायिक विद्यालयका दिवाखाजा कार्यक्रमलाई निरन्तरता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए । शैक्षिक सुधारका लागि एकाइ परीक्षाको नीति लिएर अघि बढिएको गाउँपालिकाले जनाएको छ । रासस