काँचो इँटा उत्पादन तथा निकासीमा कर

चाँगुनारायण । चाँगुनारायण नगरपालिकाले काँचो इँटा उत्पादन गरेर निकासी गर्ने व्यवसायीलाई कर लगाएको छ । नगरपालिकाको १२औँ नगरसभाले करको दायरालाई फराकिलो बनाउँदै काँचो इँटा उत्पादन तथा निकासीमा कर लगाएको हो । इँटाभट्टा व्यवसायीले निश्चित वार्षिक कर तिर्ने गरे पनि काँचो इँटा उत्पादन गर्दै बिक्री एवं निकासी गर्नेले वर्षौँदेखि कर नतिरी व्यवसाय सञ्चालन गरेपछि नगरसभाले नै यसमा पनि कर लगाउने निर्णय गर्दै कर निर्धारण गरेको नगरप्रमुख जीवन खत्रीले जानकारी दिए । काँचो इँटा उत्पादन गर्दै आएका व्यवसायीले किसानको जग्गा भाडामा लिएर काँचो इँटा उत्पादन गर्ने र भट्टालाई इँटा बिक्री गर्दै आएका छन् । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय सञ्चालन गरेवापत प्रतिस्थान १० हजार र काँचो इँटा तयार गर्ने जग्गाले चर्चेको प्रतिरोपनी पाँच सयका दरले कर असुली गर्ने निर्णय गरेको हो । त्यसो त भक्तपुरका रहेका ६१ इँटाभट्टामध्ये ४१ भट्टा रहेको चाँगुनारायणमा प्रदूषण बढाउने प्रमुख कारण नै इँटा उद्योग रहेकाले इँटा उद्योगलाई हटाउनुपर्ने माग गर्दै स्थानीय जनस्तरदेखि कार्यपालिकामा समेत पटक–पटक आवाज उठ्दै आइरहेको छ । रासस

मकवानपुरगढी गाउँपालिकाले तोक्यो कोदो र फापरको मूल्य

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने रैथानेबाली कोदो र फापरको न्यूनतम समर्थन मूल्य तोकेको छ । गाउँपालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ४५ रुपैयाँ र फापरको प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरेको हो । गाउँपालिकाले रैथानेबालीको संरक्षण र प्रवद्र्धनमा लागेकाले किसानहरुले पनि रैथानेबालीको उत्पादनमा जोड दिएको जनाएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयमा दिवा खाजाका रुपमा हप्ताको एक दिन स्थानीयस्तरका उत्पादन हुने रैथानेबालीको परिकार खुवाउने निर्णय गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत राजकुमार पुडासैनीले बताए । उनका अनुसार प्रत्येक हप्ता बिहीबारको खाजामा उक्त परिकार समावेश गरिने छ । गाउँपालिकाका कृषि प्राविधिक चन्द्रकान्त चौधरीले स्थानीयस्तरमा उत्पादन हुने त्यस्ता खाद्यान्नको संरक्षण र प्रवद्र्धनका लागि विभिन्न योजनामा काम भइरहेको बताए ।

बागलुङका स्थानीय तहमा छैनन् दमकल

बागलुङ । आगलागीका घटनामा अत्यावश्यक रहेको दमकल बागलुङका दश पालिकामध्ये नौ पालिकामा छैनन् । बागलुङका नौं स्थानीय तह दमकलविहीन हुँदा आगलागीका घटनामा ठूलो धनजनको क्षति पुग्दै आउँदासमेत दमकल खरिदमा यहाँका पालिकाले चासो दिन सकेका छैनन् । दमकल अभावमा आगलागीका घटनामा ठूलो जनधनको क्षति हुँदासमेत बागलुङ नगरपालिका बाहेकका अन्य नगरपालिका र गाउँपालिकाले दमकलको आवश्यकता हालसम्म नदेख्नु दुखद् रहेको छ । बागलुङ बजारपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिवाङ, विकासोन्मुख सहर गलकोट र कुश्सिेरा बजारमा समेत दमकलको पहुँच पुग्नसकेको छैन । गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसिखोला गाउँपालिका, तमानखोला गाउँपालिका, बढिगाड गाउँपालिका र बरेङ गाउँपालिकामा दमकल छैनन् । दमकल अत्यावश्यक भए पनि हालसम्म खरिद गर्न नसकिएको गलकोटका नगर प्रमुख भरत शर्मा गैरेले बताए । ‘दमकल अत्यावश्यक छ, गलकोटमा सहर विस्तारको कार्य भइरहँदा जोखिम बढी भएको छ, तर पालिकासँग दमकल खरिद गर्ने र व्यवस्थापन गर्न सक्ने क्षमता छैन, राज्यले दमकल खरिदमा अनुदानसमेत दिएको छैन’, उनले भने, ‘विपद्जन्य आगलागीका घटना निवारणका लागि नगरपालिकाले सचेतना गर्ने, तत्कालै पानी ल्याउन सक्ने स्थानको व्यवस्थापन भने गरेको छ, आफ्नै दमकल खरिद गरेर चलाउने पालिकाको सामथ्र्य छैन ।’ आगलागी नियन्त्रणका लागि अत्यन्तै आवश्यक रहेको दमकल बजेट विनियोजन गरेर स्थानीय तहले खरिद गर्दा ठूलो जन धनको क्षति हुनबाट रोकिने भए पनि शहरउन्मुख भएका पालिकाले समेत बजेट अभावमा खरिद गर्न सकिरहेका छैनन् । बागलुङमा चार नगरपालिका र छ गाउँपालिकामै दमकल पुग्न सक्ने सडक सञ्जाल पुगेको भए पनि जिल्ला सदरमूकामबाहेक अन्यत्र दमकलको पहुँच पुग्न सकेको छैन । पश्चिम क्षेत्रको ढोरपाटन अथवा गलकोट नगरपालिकाले दमकल व्यवस्थापन गर्दा अन्य पालिकालाई समेत समेट्न सकिने स्थानीयको भनाइ छ । आगलागीका घटनामा बागलुङ नगरपालिकाले अन्य स्थानीय तहहरुलाई समेत सहयोग गर्दै आएको नगरउपप्रमुख राजु खड्काले बताए । खड्काले छिमेकी स्थानीय तह काठेखोला गाउँपालिका र जैमिनि नगरपालिकामा आगलागी हुँदा दमकल पठाउने गरिए पनि दूरीका हिसाबले टाढा रहेका पालिकामा आगलागी नियत्रणमा दमकल पठाउन कठिन रहेको बताए ।