भरतपुरलाई हरियाली सहर बनाइने
चितवन । भरतपुर महानगरपालिकालाई हरियाली र स्वच्छ सहर बनाइने भएको छ । महानगरपालिकाको आइतबार भएको १३औँ नगरसभामा नगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘हाम्रो सहर, हरियाली तथा स्वच्छ सहर’ अवधारणालाई अघि बढाइने बताएकी हुन् । नीति तथा कार्यक्रममा सडक, मिडियन गार्डेन, सडक आइल्यान्ड, पार्क, मनोरञ्जनस्थल र खाली स्थान एवं चोकमा हरियाली वातावरण सिर्जना गरी मनमोहक तथा वातावरण मैत्री महानगर बनाउन एक परियोजनाका रूपमा हरियाली प्रवद्र्धन कार्यक्रमको थालनी गरिने उल्लेख छ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकका रूपमा विकास गरिने कार्यक्रममा उल्लेख छ । गोन्द्राङ–पुल्चोक सडकको दायाँबायाँ किनारमा हरियाली प्रवद्र्धन गर्न ठूला हुर्किएका रुख रोपण र संरक्षण गरिने जनाइएको छ । ‘एक घर दुई रुख’को नीति कडाइका साथ कार्यान्वयन गरिने कार्यक्रममा उल्लेख गरिएको छ । घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्यरुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने नीति महानगरले ल्याएको छ । ‘एक वडा एक पार्क’ निर्माणको नीतिलाई निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि सबै सँगसँगै’को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवद्र्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक सङ्घ संस्थासँग समन्वय र सहकार्य गरिने कार्यक्रममा उल्लेख छ । वातावरणीय सन्तुलन कायम गर्न टेवा पुर्याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । महानगरको समृद्धि र विकासका लागि सडक पूर्वाधारलाई प्राथमिकता दिँदै सामाजिक तथा आर्थिक विकासलाई पनि सँगसँगै अगाडि बढाउन कृषि, वातावरण तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, दलित, सीमान्तकृत, लोपोन्मुखलगायतका क्षेत्रको सन्तुलित र दिगो विकासको अवधारणालाई आत्मसात् गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । फोहोर मैला व्यवस्थापन निजी क्षेत्रको सहकार्यमा गर्न अन्तिम चरणमा पुगेको कार्यक्रममा उल्लेख छ । महानगरलाई सुन्दर र व्यवस्थित बसोबासयुक्त बनाउन मापदण्ड विपरीत निर्मित संरचना हटाउने कार्य अगाडि बढाइएको महानगर प्रमुख दाहालले बताइन् । कृषिमा यन्त्रीकीकरण, दूधमा प्रतिलिटर तीन रुपैयाँ अनुदान र छात्रासँग मेयर कार्यक्रमलाई निरन्तरता दिइएको छ । सन् २०२४ मा दुई लाख पर्यटक भित्र्याउने गरी भरतपुर भ्रमण वर्ष मनाउने योजनाअनुरूप सूचना प्रविधिसँग जोड्न महानगरपालिकाभित्रका ३० वटै पर्यटकीय गन्तव्यको सम्पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली भाषामा दिइने गरी मोबाइल एपको निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ‘व्यवस्थित पूर्वाधार, समृद्धिको आधार’को अवधारणाबमोजिम महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित महानगरका रूपमा विकास गर्न एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिइएको छ । सहरी क्षेत्रमा सडक कालोपत्रसँगै प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापनसम्बन्धी मेगा आयोजना सञ्चालनमा ल्याइने भएको छ । ‘उज्यालो भरतपुर’ कार्यक्रमअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रमा स्मार्ट सडक बत्ती, हाई मास्ट एवं मिनी मास्ट बत्ती जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ । ‘हरित ऊर्जाको खपत, पेट्रोलियम पदार्थको बचत’ गर्ने नीतिअनुरूप विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रोत्साहित गरिने नीति तथा कार्यक्रममा समेटिएको छ । केरूङ्गा घोल, पुङ्गी खोलालगायतका खोलालाई महानगरको सतहको आकाशे पानी निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने जनाइएको छ । यससँगै अतिक्रमित संरचना हटाइने उल्लेख छ । नारायणी नदी किनारमा निर्माणाधीन ‘सी बीच मोडेल’सहितको मनोरञ्जन पार्कलाई व्यवस्थित गर्न र थप निर्माण कार्यलाई सम्पन्न गर्न गुरुयोजनाबमोजिम सङ्घ एवं प्रदेश सरकारसँगको साझेदारीलाई निरन्तरता दिइने उनले बताइन् । महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्धरुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । विद्यार्थीसँग मेयर कार्यक्रम सञ्चालन गरिने भएको छ । शिक्षालाई व्यावहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन ‘मौलिक र व्यावहारिक शुक्रबार’ अभियान कार्यान्वयनमा ल्याइने भएको छ । उक्त दिन पाठ्यपुस्तकरहित सिकाइका क्रियाकलाप गरिनेछ । समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम सुरुआत गरी लक्षित वर्ग, असहाय, अतिविपन्न, ज्येष्ठ नागरिक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्तिका लागि आवश्यकताअनुसार समुदायका घर तथा टोलमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य सेवा प्रदान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । असहाय र विपन्न परिवारको पहिचान गरी महानगरपालिकाले नै स्वास्थ्य बिमा गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । छोरीसँग मेयर कार्यक्रमअन्तर्गत महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीका लागि छोरी बिमा कार्यक्रमलाई निरन्तरता दिइएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी सहकारी मोडलमा नमुना होमस्टे सञ्चालनमार्फत पर्यटन प्रवद्र्धन गरिनेछ । महानगरले अनलाइन सेवा प्रदान गरिरहेका राजस्व प्रणाली, भुक्तानी प्रणाली, नक्सा प्रणाली, गुनासो व्यवस्थापन, पञ्जीकरण, खरिद प्रणाली एवं डिजिटल योजना प्रणालीलगायत सार्वजनिक सेवा प्रवाहसम्बन्धी प्रणालीलाई सेवाग्राही मैत्री तथा प्रविधिमैत्री बनाउने नीति अङ्गीकार गर्दै थप स्तरोन्नति गरिने भएको छ । रोजगारी सिर्जना गर्न उद्योगलाई प्रवद्र्धन गर्ने महानगरको नीति तथा कार्यक्रममा जनाइएको छ ।
करको दायरामा आए होस्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस र फन पार्क, ३० हजारसम्म तिर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरले विभिन्न नयाँ चार क्षेत्रलाई करको दायरामा ल्याएको छ । महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमार्फत् चार नयाँ क्षेत्रलाई करको दायरामा ल्याएको हो । महानगरले पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत होष्टेल, मेकअप स्टुडियो, ट्याटु हाउस र फनपार्कलाई करको दायरमा ल्याएको हो । यसअघि पर्यटन तथा मनोरञ्जन क्षेत्र अन्तर्गत २९ वटा क्षेत्र तोकिएको भएपनि अब बढाएर ३७ सम्म क्षेत्र कायम गरिएको हो । अब नयाँ व्यवस्था अनुसार ५० जना सम्मको होस्टेलले तीन हजार, ५० जनाभन्दा बढी भएको पाँच हजार, मेकअप स्टुडियोका लागि तीन हजार र ट्याटु हाउसका लागि पाँच हजार रुपैयाँ राजश्व तोकेको छ । यस्तै, फनपार्कलाई पनि करको दायरामा ल्याइएको छ । पाँच रोपनी सम्म क्षेत्रफल भएको फनपार्कका लागि १० हजार, दश रोपनी सम्म क्षेत्रफलमा फैलिएकोका लागि २० हजार र दश रोपनी भन्दा बढी क्षोत्रफलमा फैलिएको फनपार्कका लागि ३० हजार रुपैयाँ राजश्व निर्धारण गरिएको छ । यस्तै, काठमाडौं महानगरले जग्गाको मूल्य र सम्पत्तिको करको दर भने स्थीर भएको छ । महानगरले पहिलो सुरुको १ करोड रुपैयाँसम्मको मूल्य रहेको सम्पत्तिको दर १ हजार रुपैयाँ तोकेको छ । २ करोडसम्मको सम्पत्ति भएमा २५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ भने ३ करोडसम्मको सम्पत्ति भएमा ४५ सय रुपैयाँ तोकेको छ । यस्तै, ४ करोडसम्मको सम्पत्ति भएा ८ हजार ५ सय रुपैयाँ, ५ करोडसम्मको सम्पत्ति भएकामा १४ हजार ५ सय रुपैयाँ र ६ करोडसम्मको सम्पत्ति भएकामा २४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था छ । ८ करोडसम्मको सम्पत्तिमा ८४ हजार ५ सय रुपैयाँ, १० करोड रुपैयाँसम्मको सम्पत्तिमा १ लाख ७४ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने व्यवस्था गरेको छ ।
कवाडीझैँ थन्किए चन्द्रपुर नगरको घुम्ती शौचालय
चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै देखिएको छ । शौचालय प्रयोगमा ल्याउन नगरपालिकाले चासो नदिँदा ती शौचालय त्यतिकै थन्किएका हुन् । नगरपालिकाको मुकाम रहेको चन्द्रनिगाहपुरको मुख्य चोकमा एउटा पनि सार्वजनिक शौचालय छैन् । यहाँ दिनहुँ ठूलो सङ्ख्यामा सवारी साधन र मानिसको आवतजावत हुन्छ । उनीहरुलाई शौच गर्न निकै समस्या पर्दै आएको छ । चन्द्रनिगाहपुरको मुख्य चोक क्षेत्र पूर्व–पश्चिम राजमार्ग भएर चल्ने बसका यात्रु तथा मालबाहक ट्रक चालकका लागि खाना खानेस्थलका रूपमा चिनिन्छ । जिल्लामा नमुनाको रूपमा यसअघिका नगरप्रमुख रामचन्द्र चौधरीका पालामा १० लाख रुपैयाँको लागतमा शौचालय ल्याइएको थियो । ती शौचालय अहिले पनि शहीद पार्क र नगरपालिका कार्यालय परिसरमा त्यतिकै थन्किएका छन् । अहिले ती शौचालयका सञ्चालन नहुँदा सबै महत्वपूर्ण सामान काम नलाग्ने भइसकेका छन् । नगरपालिकाकै मुटु मानिने वडा नं ४को मुख्य चोकमा सार्वजनिक शौचालय बनाउन जमिन अभाव भएकाले नगरपालिकाले दुईवटा घुम्ती शौचालय खरिद अधिक भीड हुने यहाँको दुई स्थानमा सञ्चालमा ल्याउन खोजेको थियो । कोरोना सङ्क्रमणको महामारीका बेला एउटा चाँदी खोला छेउको शहीद पार्कमा लगिएको र अर्कोलाई चोकमा राखिएको थियो । नगरपालिका घोषणा नहुँदै तत्कालीन चन्द्रनिगाहपुर गाविसले चोकको दक्षिण क्षेत्रमा बग्ने पैनीमा शौचालय भवन निर्माण गर्न थालेको थियो । उतिबेला शौचालय बनाउने ठाउँका विषयमा ठूलै विवाद भएपछि सार्वजनिक शौचालय बन्न नसकेको स्थानीय समाजसेवी राजु तिवारीले बताए । उनका अनुसार त्यसपछि यस क्षेत्रमा शौचालय निर्माणका लागि कसैले पनि पहल गरेनन् । नगरपालिकाले चोकको पश्चिमतर्फ जङ्गल छेउमा सार्वजनिक शौचालय बनाएको भए पनि त्योसमेत प्रयोगविहीन छ । अहिले पनि चोकमा मानिस शौच गर्न नपाएर छटपटाउने गरेको देखिन्छ । पैदलयात्री शौचालय खोज्दै होटल जान बाध्य भए पनि उनीहरुलाई होटल सञ्चालकले शौच गर्न दिँदैनन् । घुम्ती शौचालय चाँडै सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीयवासीको जोड छ । नगरपालिकाले लाखौँ लगानीमा ल्याएको त्यस्ता घुम्ती शौचालय व्यवस्थापन र सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती हुँदै आए पनि नगरपालिकाको ध्यान जानसकेको छै्न । घुम्ती शौचालय सञ्चालन गर्ने योजना रहेको नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले बताए । शौचालयका केही पाटपुर्जामा समस्या देखिएको जनाउँदै उनले घुम्ती शौचालय सानो र साँघुरोसमेत रहेको जनाउँदै चाँडै नै ‘मोडिफाइर्’ गरी सञ्चालनमा ल्याउने जानकारी दिए। रासस