बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

पोखरा । ‘खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’ पोखरा महानगरपालिका-२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । ‘एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै किसिमका मल आए । अहिले खेती गर्दा कमिला मार्ने औषधि, पोटास के हो के हाल्नुपर्छ सबै विषाक्तको प्रयोगले माटो नै मरिसक्यो । अनि अर्ग्यानिक स्वाद कहाँ पाउनु ।’ कृषि सञ्जालका संयोजकसमेत रहेका गुरुङले जेठोबुढोको बास्ना हराउनुमा वातावरण प्रतिकूलको असर, रासायनिक मलको प्रभाव र उन्नत जात (हाइब्रिड) धानको बीउ नै प्रमुख कारण भएको बताउँछन्, ‘तत्कालीन समयमा किसानलाई रैथाने स्वाद र बास्नाभन्दा धेरै फल्ने धानको बीउ अनुदानमा दिइयो । रासायनिक मल प्रयोग गर्न प्रेरित गरियो, किसान उत्पादन बढेकामा खुशी माने तर यता बास्नादार रैथाने जातका धानको बीउ मासिँदै गयो ।’ विषादीको प्रयोग बढे धानमात्र नभई स्थानीय तरकारी, फलफूलमा पनि उस्तै असर परेको उनको भनाइ छ । ‘किसानलाई सबैकुरा जानकारी नहुने भएकाले कृषि विज्ञहरुले यसको महत्व बुझाएर रैथाने बाली प्रवद्र्धनका कार्यक्रम ल्याउनु पथ्र्यो तर त्यो भएन’, गुरुङले भने, ‘बुझाउनेहरुले राम्रोसँग बुझाएनन्, उत्पादन बढ्छ भन्ने बहानामा उन्नत जातको धानको बीउ प्रयोग गर्न लगाउँदा र अनेक विषादीको प्रयोग गर्न सिकाउँदा रैथाने बालीहरु लोप हुँदै गए, योसँगै पहिले गुर्दी गुरुडा, ठिमाहालगायत धानहरु पनि विस्थापित हुँदै गए ।’ अहिले महानगर, जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि-बर्ड) जस्ता संस्थाले रैथाने बाली प्रवद्र्धनको कार्यक्रम ल्याएर केही  प्रवद्र्धनको पहल गरेको उनको भनाइ छ । पोखरा-१३ का किसान टेकनाथ बराल पनि प्रतिकूल वातावरण, रासायनिक मलको प्रयोग साथै मूलको पानीको अभावले जेठोबुढो धानको बास्ना हराउँदै गएको बताउँछन्, ‘पहिला मूलको चिसो पानीबाट सिँचाइ हुन्थ्यो, गाईवस्तुको मलले नै खेती लगाउन पुग्थ्यो तर अहिले वातावरण बदलिएको छ, धानका बीउ पनि मासिन थाले, धेरै फल्ने धान लगाउन थाले”, बरालले भने । उनले आफूले जेठोबुढो प्रवद्र्धनका लागि लिबर्डको सहयोगमा सुधारिएको जेठोबुढो बीउ उत्पादन र बिक्री वितरण गरिरहेको बताए । जेठोबुढोको मागलाई ध्यानमा राखेर स्थानीय धानका जात संरक्षणमा जुटेको लि-बर्डले यो धान संरक्षणमा अगुवाइ गरेको सो संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेल बताउँछन् । ‘पोखरा आउने पाहुनादेखि देश–विदेशमा समेत माग हुँदै आएको स्वादिलो जेठोबुढोको भातको बास्ना पहिलाजस्तो नभए पनि यो धानलाई लोप हुनबाट जोगाउन केही पहल भने भएका छन्,’ पौडेलले भने । उनका अनुसार पोखरा आसपासका विभिन्न फाँटमा किसानले लगाएको जेठोबुढो धानमा एकरुपता थिएन । के कारणले विविधता आयो भन्ने विषयमा नेपाल कृषि अनुसन्धान परिषद् र लि-बर्डले तत्कालीन जिल्ला कृषि विकास कार्यालय  मिलेर सातवटा फाँटबाट तीन सय ३८ वटा किसानबाट जेठोबुढो धानको नमूना सङ्कलन गरेर लगातार परीक्षण गरेको थियो । परीक्षणपछि सन् २००६ मा  सुधारिएको पोखरेली जेठोबुढो नामाकरण गरियो। राष्ट्रिय स्तरबाट सूचीकृत नभए बिक्रीवितरण गर्न नपाइने भएकाले सूचीकृतपश्चात् यसको प्रवद्र्धनमा अझ बढी चासो दिइएको उनको भनाइ छ । किसानको अनुभवमा बगिरहने चिसो पानीमा यसको गुणस्तर उच्च हुने भएको र पोखरा फेवाफाँटको जस्तो उत्पादन अन्तको फाँटमा नहुने उनको बुझाइ छ ।पछिल्लो समय उन्नत जातले पेल्दै जाँदा र खेतीयोग्य जमिनमा चक्लाबन्दी हुन थालेपछि पनि यसको गुणस्तर ह्रास आएको उनी बताउँछन् । लि-वर्डले जेठोबुढो स्रोत बीउ जिम्मेवारी लिएको छ । कृषि ज्ञान केन्द्र र पोखरा महानगरपालिकाले सिफारिस गरेका किसानलाई बीउ उत्पादनका लागि दिँदै यसको संरक्षण र उत्पादनमा पहल गरिरहेको उनको भनाइ छ । उनका अनुसार गत वर्ष एक हजारदेखि १५ केजी बीउको बिक्रीवितरण हुने गरेको थियो । उत्पादनका हिसाबले कम फले पनि प्रतिक्विन्टल रु नौदेखि १० हजारमा बिक्रीवितरण हुने भएकाले किसानको चाहना अझै पनि जेठोबुढोमा रहेको छ । महानगरपालिकाले जेठोबुढो धानको प्रवद्र्धनका कार्यक्रम ल्याएकाले यसको बास्ना हराए पनि लोप हुनबाट जोगाउने पहल भइरहेको बताउँदै पौडेल भन्छन्, ‘यस धानका बारेमा अनुसन्धान गरेर अझै कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धान जारी नै रहेको छ ।’ पोखरा महानगरपालिकाले सुधारिएको पोखरेली जेठोबुढो पुरानो रैथाने जातको धानको २०६३ सालमा नेपाल सरकारले सूचीकृत गर्‍यो । सुरुआततिर जेठोबुढो मात्रै भनेर भनिए पनि अहिले यो जातको धानलाई पोखरेली जेठोबुढोको भनेर चिनिन्छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरिया पनि मगमग बास्ना आउने, लामो सीता भएको र खाँदा नरम हुने जेठोबुढोको विभिन्न कारणले बास्ना हराउँदै गएको बताउँछन् । पौडेल भने, ‘यो धानको पहिला बास्ना धेरै आउने गथ्र्यो, कम फले पनि मीठो बास्नासहित स्वादिलो थियो तर अहिले खेती गर्ने तौरतरिकामा फेरबदल, आयातित मलको प्रयोग, सिँचाइको अभावले यसको रैथाने स्वादमा प्रभाव पा¥यो ।’ प्रमुख कडरियाका अनुसार जेठोबुढोमा एकरुपता नहुँदा तीन सबभन्दा बढी जातबाट  छनौट गरेर छवटा जातलाई सम्मिश्रण गरेर एउटा जात बनाइएको थियो । यसभित्र बास्ना आउने, कम बास्ना आउने, उत्पादन बढी हुने र घटी हुने, कोही अग्लो, कोही होचो, कोही रोग पनि सहन सक्ने सबै पर्दछन् । चिसो पानीमा कहीँकतै अझै पनि बास्नादार जेठोबुढो फल्ने गरेको उनको भनाइ छ । उनले जेठोबुढोको महानगरपालिकाले ‘ब्रान्डिङ’ गरेर न्यूनतम समर्थन मूल्य तोकेपछि यसको महत्व झनै बढेको र अहिले पनि प्याकेजिङ र प्रशोधनमा सहयोग गर्न भनेर कार्यक्रम राखेको बताए । अहिले ११ हजार दुई सय हेक्टरमध्ये ४० प्रतिशत जमिनमा जेठोबुढो लगाउने गरिएको पाइन्छ । पोखरामा करिब १५ मेट्रिक टन जेठोबुढो उत्पादन हुँदै आएको छ । छ सयदेखि नौ सय मिटरसम्मको उचाइमा खेती हुने यो धान प्रतिरोपनी तीन मुरीसम्म फल्ने गर्दछ । पोखरा र आसपासका किसानले परापूर्वदेखि लगाउँदै आएको यो धानमा  व्यापक अनुसन्धानको खाँचो रहेको कडरिया बताउँछन् । तत्कालीन नगरप्रमुख मानबहादुर जिसीको कार्यकालमा पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममार्फत पोखरेली जेठोबुढो धानको ब्रान्डिङ गर्ने घोषणा गरेको थियो भने जेठोबुढो धान रोप्ने किसानलाई उत्पादनका आधारमा अनुदान दिने गरेको थियो । योसँगै जेठोबुढो धानको न्यूनतम मूल्य तोकेर महानगरले यो अभियानलाई व्यवहारमा उतारेको कडरियाले बताए । अहिले  महानगरले एक क्विन्टल जेठोबुढो धानको मूल्य नौ हजार पाँच सय तोकेको छभने केजी रु ९५ तोकिएको छ । कडरियाका अनुसार पोखरेली ब्रान्ड जेठोबुढो उत्पादनमा किसानलाई आकर्षित गर्ने साथै यो जातको धानलाई जोगाइराख्ने हिसाबले धानको मूल्य निर्धारण गरिएको हो । साथै यो धान व्यावसायिक हिसाबमै जेठोबुढो उत्पादन गर्न किसानलाई प्रोत्साहितसमेत गर्दै आएको उनले बताए । पोखरा महमानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५० प्रतिशत अनुदानमा नौ टन जति जेठोबुढोको धानको बीउ वितरण गरेको छ । जेठोबुढोको निकै विविधता भएकाले यसलाई कृषि अनुसन्धान विधिबाटै बास्ना आउने धानको बीउमात्र छुटाएर लगाउन सके यसको बास्ना कायम गर्न सकिने बताइएको छ । कृषि ज्ञान केन्द्र गण्डकी प्रदेशका प्रमुख किरण सिग्देलले पोखराको क्षेत्रमा प्रचलित जेठोबुढो सर्वत्र रुचाइएको भए पनि अहिले बास्ना हराएको गुनासो सर्वत्र आएको बताए । उनले भने, ‘बास्ना घटे पनि यसको उत्तिकै माग भएको र खाद्यान्न प्रवद्र्धन आयोजनाबाट आएका किसानलाई छनौट गरेर जेठोबुढो बीए उत्पादनका लागि पनि पहल गर्दै आएका छौँ ।’ उनले जेठोबुढोको बारेमा औपचारिक रुपमै कृषि प्रणालीमार्फत अनुसन्धान हुन जरुरी रहेको बताए । आयातित रासायनिक मलको प्रभावले जेठोबुढोको बास्न हराएको हुनसक्ने विज्ञहरुको भनाइ छ । ऋषि कृषि खोज पाठशालाका अध्यक्ष रामचन्द्र बराल पनि जेठोबुढो स्वाद निकै मीठो भएर काँचै खाँदा पनि स्वाद आउने गरेकामा अहिले त्यसको स्वाद हराउँदै गएको बताउँछन् । उनका अनुसार रासायनिक मलको प्रयोगले क्रमशः माटोमा अम्लियपन ल्याई बालीको गुण बिगार्नाका साथै विभिन्न नयाँ नयाँ रोगहरु देखिन थालेको हो । आयातित बीउलाई प्राथमिकता दिँदा रैथाने बीउ मासिँदै गएको र यसको असर जेठोबुढो धानमा पनि परेको उनको भनाइ छ । रासस

खेल खेल्न अरुलाई पनि प्रेरित गर्नुस् : मेयर साह

काठमाडौं । तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिव ३२ सय जना विद्यार्थीहरुले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिनसक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरुलाई आग्रह गरे । मेडल ल्याउनु ठूलो कुरा नभएको भन्दै अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा रहेको बताए । ‘आजबाट शुरु हुने तीन दिने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय जना विद्यार्थीहरुले भाग लिनुभएको छ । मेडल ल्याउनु ठूलो कुरा होइन, अरुलाई पनि इन्स्पायर बनएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । भोलिका दिनमा वल्र्डकप ल्याउनुस्, ओलम्पिक जित्नुस् भनेर म भन्दिनँ । त्यो प्रेसर दिन चाहन्न । तपाईहरुले आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्’, उनले भने । मेयर साहले वल्र्डकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले नदिने बरु आफूसँगै अरुलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

शैक्षिक गुणस्तर सुधारमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर । जिल्लाको षडानन्द नगरपालिकाले शैक्षिक सुधार नियम तर्जुमा गरी त्यसको अक्षरसः कार्यान्वयनमा जोड दिएको छ । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाले नियम बनाएर सुधार योजना कार्यान्वयन थालेको हो । बालागुरु षडानन्द अधिकारीले विसं १९३२ चैतमा स्थानीयको संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी पहिलो संस्कृत पाठशाला स्थापना गरेका थिए। जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो भनिन्छ । शिक्षाको उर्वरभूमि मानिने षडानन्द क्षेत्रका सामुदायिक विद्यालयको खस्किँदो गुणस्तरमा सुधार ल्याउन नगरले आवश्यक सुधारका लागि जोड दिएको हो । विशेषगरी नगरपालिकाले कुनै पनि विद्यालयमा कुनै कारणवश शिक्षक पद रिक्त भएमा त्यहाँ पदपूर्तिका लागि लिइने परीक्षामा पारदर्शिता कायम राख्दै क्षमतावान् शिक्षकको छनोटका लागि आफ्नै नियम बनाएर सुधार अभियान थालेको छ । जिल्लाका धेरै विद्यालयमा करारमा शिक्षक छनोट प्रक्रियाको परीक्षा पारदर्शी नभएको, मिलेमतोमा आफ्ना मान्छेलाई जागिर खुवाएको भन्ने स्थानीयबाट आउने गरेको आरोपलाई ध्यानमा राख्दै नगरले आफ्नै नियम तयार गरेको नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए । नगरका सामुदायिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीमा पदपूर्तिका लागि लिइने परीक्षालाई लक्ष्य गरेर नियम बनाइएको उनको भनाइ छ । नगरले शिक्षकको पदपूर्तिका लागि लिइने परीक्षा विज्ञहरूबाट गोप्यरूपमा प्रश्नपत्र सङ्ग्रह (प्रश्न बैंक)को समूह निर्माण गरेर मात्र परीक्षा सञ्चालन गरिने प्रमुख उदासले बताए । ‘शिक्षक छनोटका लागि लिइने धेरै परीक्षा पारदर्शी भएन भन्ने मैले पनि सुन्ने गरेको छु, जनतामा शङ्का उत्पन्न हुनु  राम्रो होइन । नगरले कुनै पनि विद्यालयमा करारमा शिक्षक छनोटका लागि लिइने परीक्षाका लागि नियम बनाएको छ’, उनले भने । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि नगरले प्राथमिकताको साथ काम गरिरहेको उनले बताए । नगर क्षेत्रका विद्यालयमा प्राविधिक शिक्षामा जोड दिएको उनको भनाइ छ । त्यसनिम्तियोजनाबद्धरूपमा काम गरिरहेको उनले जानकारी दिए । रासस