समयमै योजना सम्पन्न गर्न भरतपुर महानगरले ल्यायो ९ करोडको पूरक बजेट

काठमाडौं । भरतपुर महानगरपालिकाले ९ करोड ३ लाखको पूरक बजेट प्रस्तुत गरेको छ । आइतबार सम्पन्न चौधौँ नगरसभाको बैठकबाट पूरक बजेट प्रस्तुत भएको हो । उपप्रमुख चित्रसेन अधिकारीले विनियोजन ऐन, २०८० ले चालु आर्थिक वर्षका लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकाले पूरक बजेट ल्याउनु परेको बताए । चालू आर्थिक वर्षका लागि विनियोजन ऐनले अख्तियारी नदिएको नयाँ खर्च शीर्षकमा खर्च गर्न आवश्यक भएको, विभिन्न खर्च शीर्षक तथा उपशीर्षकअन्तर्गत नयाँ कार्यक्रम थप एवं संशोधन गर्नुपरेको उनले बताए । बजेट शीर्षक तथा उपशीर्षकअन्तर्गत स्रोत सुनिश्चितता गरी योजना समयमै सम्पन्न गर्न, आर्थिक, भौतिक एवं सामाजिक र वातावरणीय पूर्वाधार विकास गरी समुन्नत र सुदृढ महानगर बनाउन पूरक बजेट ल्याइएको उनको भनाइ छ । महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । पूँजीगत खर्चतर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमा पुस मसान्तसम्म ४६ करोड ७७ लाख रुपैयाँ (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकामा पुस १८ गतेसम्म ५३ करोड ३ लाख रुपैयाँ सङ्कलन भएको छ । महानगर प्रमुख रेनु दाहालले पूरक बजेटबाट समपूरक साझेदारी कोषका लागि विद्युत् प्राधिकरणसँग ‘स्मार्ट लाइट’ साझेदारी कार्यक्रम सञ्चालन गर्न लागिएको बताए । उनले सहरी सौन्दर्यकरण, चोक सुधार कार्यक्रम, मानव सेवा आश्रम पूर्वाधार निर्माण, दलित विद्यार्थी छात्रवृत्तिलगायत कार्यक्रममा पूरक बजेट राखिएको जानकारी दिए ।

बागलुङको पाँच पालिका अझै भाडाकै घरमा

बागलुङ । बागलुङको विभिन्न पाँच पालिकाले अझै भाडाकै घरबाट कार्यालय सञ्चालन गर्दै आएका छन् । जैमिनी , गलकोट, ढोरपाटन, बागलुङ नगरपालिका सहित काठेखोला गाउँपालिकाले भाडाका घरबाट सेवा प्रवाह गरिरहेका छन् । निसीखोला, बडिगाड, तमानखोला, ताराखोला र बरेङ गाउँपालिकाको आफ्नै भवन  छ ।  ती  मध्ये केही पालिकाले अघिल्लो कार्यकालमै भवन बनाएर सेवा दिन सुरु गरेका थिए भने बडिगाड गत वर्ष आफ्नो भवनमा सरेको थियो । जैमिन, ढोरपाटन र गलकोट नगरपालिकाको प्रशासकीय भवन निर्माणाधीन अवस्थामा छन् । काठेखोलाको भने अझैसम्म भवन निर्माण सुरुआत भएको छैन । करिब छ वर्षसम्म स्थानीयको विवादका कारण जग्गा व्यवस्थापन हुननसकेको जनाइएको छ । अघिल्लो वर्ष कार्यपालिकाको बैठकले वडा नं ६ को सामबोटमा भवन निर्माण गर्ने निर्णय गरे पनि निर्माण गर्ने भनिएको स्थान सामुदायिक वन क्षेत्र पर्ने हुँदा बाँकी प्रक्रिया पुर्याइरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए । सामबोट सामुदायिक वन उपभोक्ता समितिले भवन बनाउन दिने निर्णय गरी मन्त्रालयमा पठाएपछि भवन निर्माणका काम थाल्ने उनको भनाइ छ । भवन निर्माणका लागि माटो परीक्षण गर्ने काम सकिएकाले आगामी आर्थिक वर्षमा भवन निर्माण अगाडि बढ्ने अध्यक्ष थापाले बताए । ढोरपाटनले पनि अहिलेसम्म भाडाकै घरमा कार्यालय सञ्चालन गर्दै आएको छ । उसले ढोरपाटनल –ं १ को बुर्तिबाङ बजारमै भवन निर्माण गरिरहेको छ । अहिलेसम्म ७५ प्रतिशत काम सम्पन्न भएको नगरपालिकाका सूचना अधिकारी चण्डिराज पौडेलले जानकारी दिए । नगरपालिकाले दुईवटा भवन भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेको जनाउँदै हरेक महिना मासिक रु एक लाख ३० हजार भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको उनको भनाइ छ । गलकोटले पनि भाडाकै घरमा कार्यालय सञ्चालन गरेको छ । गलकोट– ६ स्थित मजुवा फाँटमा करिब रु १४ करोडको लागतमा प्रशासनिक भवन निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण सापकोटाले जानकारी दिए । नगरपालिकाले आठ घर भाडामा लिएर मासिक रु एक लाख ८० हजार भाडा तिर्दै आएको उनले बतए । भवन विसं २०८१ पुसमा सक्नेगरी सम्झौता भएको जनाइएको छ । जैमिनीले पनि कुस्मिशेरामा चार घर भाडामा लिएर सेवा प्रवाह गरिरहेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । करिब रु नौ करोडको लागतमा कुस्मिशेरा बजार नजिकै भवन बनिरहेको उनको भनाइ छ । हालसम्म ३५ प्रतिशत काम सकिएको जनाइएको छ । नगरपालिकाले मासिक रु एक लाख ६० हजार घरभाडा तिर्दै आएको छ । निर्माण कम्पनीले सरासर काम सके आगामी वर्ष आफ्नै भवनबाट सेवा सुरु गर्न सकिने उपप्रमुख शर्माको भनाइ छ । बागलुङ नगरपालिका विसं २०५३ मा स्थापना भयो । लामो समय बजारमा भाडा तिरेर कार्यालय सञ्चालन गर्यो । लामो समयसम्म बागलुङ –ं ३ स्थित रातमाटामा पक्की भवन बनाएर सेवा प्रवाह गर्दै आएको नगरपालिका आफ्नो कार्यालय छाडेर विसं २०७६ मा बागलुङ बजारमा रहेको कृषि ज्ञान केन्द्रको भवनमा सर्यो । हाल सोही कार्यालयबाट सेवा दिँदै आएको छ । जिल्लाका अन्य नौ पालिका विसं २०७३ मा स्थापना भएका थिए । पहिलोपटक जनप्रतिनिध आएपछि केही पालिकाले पहिलो कार्यकालमै आफ्नै प्रशासनिक भवन बनाएर सेवा सञ्चालन गरे भने केहीले अहिलेसम्म भवन नै बनाउन सकेका छैनन् । रासस

अवैधरूपमा सञ्चालित क्रसर उद्योगमा ताला

तनहुँ । बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ । बन्दीपुर गाउँपालिका–६ साराङ्घाट नमुना ग्रिट एण्ड क्रसर उद्योगमा बन्दीपुर गाउँपालिकासहितको टोलीले ताला लगाएको हो । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, वडाध्यक्ष बलबहादुर गुरुङलगायत वडाका जनप्रतिनिधि, नेपाल प्रहरीसहितको टोलीले बिहीबार क्रसर उद्योगमा ताला लगाएका हुन् । उक्त क्रसर उद्योगले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएकाले ताला लगाएर बन्द गरेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । यसअघि पनि पटकपटक गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिले उक्त क्रसर उद्योग बन्द गराएको थियो । रातको समयमा लुकीछिपी चोरी निकासी गरेको पाएपछि उद्योग बन्द गरिएको अध्यक्ष थापाले बताए । ‘उक्त उद्योगलाई कानुनी दायरामा ल्याएर गाउँपालिकाको आम्दानी बढाउन लागेका हौँ’, उनले भने, ‘यसमा गाउँपालिकाको कुनै मिलेमतो छैन, कानुनसम्मत हुनुपर्छ भनेर लागेका हौँ ।’ उक्त उद्योगमा पटकपटक सिल गरे पनि आसपास क्षेत्रमा कुनै बस्ती नभएको र एकान्त स्थानमा भएकाले रातको समयमा चोरीनिकासी गर्ने गरेको उनले बताए । अवैधानिकरुपमा क्रसर उद्योग सञ्चालन गरेको पाइएपछि विद्युत् कटान गरिएको थियो । केही दिनअघि टिपर र डोजरको चाबी खोसेरसमेत राखिएको अध्यक्ष थापाले जानकारी दिए । आज शुक्रबार कार्यपालिका बैठक भएकाले यस विषयमा निचोडमा पुग्ने योजना बनाइएको छ । उनले भने, ‘जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सञ्चालनमा रोक लगाउँदै आएका छौँ ।’ रासस