काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेको हो । सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिले देखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्डवाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।
बालेनले भने : नारायणहिटी दरबार परिसरको पर्खाल छिटो भत्काउनु
काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउनका लागि तोकेता गरेको छ । महानगरले बुधबार एक पत्र जारी गर्दै नेपाल ट्रष्टको कार्यालयलाई पर्खाल भत्काउनका लागि पुनः ताकेता गरेको हो । निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नु पर्ने व्यवस्था रहेकाले महानगरले उक्त संग्राहालय परिसरको पर्खाल भत्काउनका ताकेता गरेको छ । पत्रमा ‘काठमाडौं महानगरपालिका वडा नं १ स्थित श्री नारायणहिटी दरबार संग्रहालयको सीमा पर्खाल, वस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मिटर अग्लो पर्खाल र सो माथि ०.६ मिटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था भएको हुँदा निर्मित संरचनामा सोही बमोजिम सुधार गर्नु हुन आग्रह गर्दछौँ,’ महानगरपालिको जारी पत्रमा उल्लेख छ । यसअघि महानगरपालिकाले पुस १३ गते पत्रद्वारा पर्खालको पुर्नसंरचना गर्न अनुरोध गरेको थियो । तर, सो कार्य हालसम्म गरेको नदेखिएकाले नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन पुनः ताकेता पत्र लेखिएको महानगरका सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) ले जानकारी दिइन् । हाल महानगरको नेतृत्व बालेन्द्र शाह (बालेन)ले गरिरहेका छन् ।
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै । काठमाडौं । काठमाडौँ महानगरपालिकाले आज मङ्गलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौँ टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए । महानगर प्रहरी प्रमुख पाण्डेले भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएको जानकारी दिए । उनले भने, “भोलिदेखि पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।” उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिने बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।